+
+

टाइगर कप भलिबल : धनबहादुर र सरस्वती सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते २०:०१
तस्वीर : पोखरा स्पोर्ट्स्

१ माघ, पोखरा । त्रिभुवन आर्मी क्लबका कप्तान धनबहादुर भट्ट क्षेत्री र एपीएफकी सरस्वती चौधरी दोस्रो टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

शनिबार सम्पन्न च्याम्पियनसिपमा धनबहादुर पुरुषतर्फ र सरस्वती महिलातर्फ सर्वोत्कृष्ट बने । धनबहादुरको कप्तानीमा आर्मीले शनिबार भएको पुरुष फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराएर पहिलो पटक उपाधि जितेको थियो ।

यस्तै एपीएफले पनि पहिलो पटक उपाधि जित्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरिन् । शनिबारै भएको फाइनलमा एपीएफले फाइनलमा आर्मीलाई सोझो सेटमा हराएको थियो ।

उत्कृष्ट दुवैले ट्रफी र नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै विधागततर्फ अवार्डमा पुरुषतर्फ च्याम्पियन आर्मीले ३ तथा महिलातर्फ च्याम्पियन एपीएफले ३ अवार्ड जित्न सफल भयो ।

पुरुषतर्फ आर्मीका हरिहजुर थापा उत्कृष्ट सर्भर, ईश्वर थापा उत्कृष्ट लिब्रो र जगतबहादुर सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । उपविजेता बनेको हेल्प नेपाल स्पोर्ट्स क्लबका विनित कुमार उत्कृष्ट स्पाइकर र अतिल गुलिया उत्कृष्ट ब्लकर घोषित भए । यस्तै नेपाल पुलिस क्लबका इम राना उत्कृष्ट सेटर घोषित भए ।

महिलातर्फ एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट सर्भर, हिरा केसी उत्कृष्ट ब्लक र महेश चौधरी उत्कृष्ट प्रशिक्षक भए । यस्तै आर्मीका कृपा अधिकारी उत्कृष्ट सेटर, आर्मीकै शान्ति थारु उत्कृष्ट स्पाइकर र न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ठ लिब्रो घोषित भइन् ।

विधागत तर्फ उत्कृष्ट सबैले १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, एशियन सेन्ट्रल भलिबल एशोसिएसनका अध्यक्ष मोहम्मद लाथिफ, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?