
२ माघ, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि काठमाडौं नै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् ।
यात्रुहरुलाई गुणकै अर्को हवाईजहाजमा पोखरा पठाइँदैछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले हाम्रो इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’
सो जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाईजहाजको ढोका खुलेपछि आफूहरुलाई काठमाडाैं विमानस्थलमै फर्काइएको बताए । उनले अनलाइनखबरसँग भने, ‘काठमाडौंबाट उडेको करीब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उँचाइ लिंदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै फर्काइयो ।’ यद्यपि आकाशमै ढोका खुलेको भन्ने ती यात्रुको दाबी पुष्टि हुन बाँकी छ ।
सो जहाजको आज बिहान करीब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करीब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
प्रतिक्रिया 4