+
+
पीएम कप टी-२० क्रिकेट :

सुदूरपश्चिमसँग प्रदेश १ पराजित हुँदा आर्मी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १२:५६

२ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबको आइतबार कुनै खेल थिएन । तर आफ्नै क्लबका पूर्वखेलाडी राजु रिजालले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेपछि आर्मी समूह ए को उपविजेताको रुपमा प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

आर्मीले अब सेमिफाइनलमा समूह बी को विजेता एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल समूह ए को विजेता नेपाल पुलिस क्लब र समूह बी को उपविजेता बागमती प्रदेशबीच हुनेछ ।

यसै प्रतियोगिता अघि सुदूरपश्चिमको टिममा सामेल भएका राजुले प्रतियोगिताको अन्तिम खेलमा मात्र खेले । जहाँ उनले ५२ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा ६८ रन बनाएपछि प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजुले पहिलो विकेटका लागि कप्तान सन्तोष भट्टसँग ९८ रनको साझेदारी गरेका थिए । अर्धशतकबाट २ रनले चुकेका सन्तोषले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४८ रन जोडे । त्यसपछि अर्जुन साउदले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा अविजित २६ रन जोड्दै सुदूरपश्चिमको जित पक्का गरे ।

बलिङमा प्रदेश १ का फिर्दोस अन्सारी, मुकुन्द यादव र कमल खत्रीले समान १ विकेट लिए ।

तयसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाएको प्रदेश १ को इनिङ्समा सोनु अन्सारीले ३१ तथा कार्यवाहक कप्तान अंकित सुवेदी र मिनास थापाले समान २३ रन जोडे ।

सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले २-२ विकेट लिए । यस्तै कैलाय अयेर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महातारले समान १ विकेट लिए ।

यसअघि नै सेमिफाइनल होडबाट बाहिरिसकेको सुदूरपश्चिमले अन्तिम खेल जित्दै प्रतियोगितामा सुदख अन्त्य गरेको छ । ४ मध्ये २ खेल जितेको सुदूरपश्चिम समूह ए मा तेस्रो भयो । यस हारपछि प्रदेश १ पनि समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?