+
+

१५ लाख ट्याबलेट सिटामोल बजार पठाईंदै

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ ५ गते १८:४९

५ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले अनावश्यक रुपमा सिटामोल मौज्दात नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना संक्रमण बढेका बेला सिटामोल अभाव देखिएको छ । विभागले भने आपूर्ति चक्रमा केही समस्या भएका कारण केही स्थानमा सिटामोल अभाव भएको बताएको छ । उत्पादक कम्पनीहरुले हालै ५ करोड ८० लाख ट्याबलेट सिटामोल बजार पठाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

नेपालमा एक सरकारीसहित १९ वटा कम्पनीले सिटामोल उत्पादन गर्छन् । ढकालका अनुसार उत्पादकसँग १५ लाख ट्याबलेट र ३ करोड ५२ लाख ट्याबलेटका लागि कच्चा पदार्थ मौज्दात रहेको जानकारी उत्पादकले दिएका छन् ।

विभागमा बुधबार भएको छलफलमा सबै उत्पादकहरुले सिटामोल उत्पादन पूर्ण क्षमतामा थाल्न सहमत भएकाले बजारमा सिटामोल अभाव नहुने महानिर्देशक ढकालले दाबी गरे ।

१५ लाख सिटामोल बजार पठाईंदै

छलफलमा सरकारी स्वमित्वको नेपाल औषधि लिमिटेडसहितका उत्पादकले मौज्दातमा रहेको १५ लाख ट्याबलेट सिटामोल दुई दिनमा बजार पठाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल औषधि लिमेटेडका महाप्रबन्धक मोहम्मद सफीउल्लाहका अनुसार कम्पनीले ९ लाख ट्याबलेट सिटामोल दुई दिनमा बजारमा पठाउने गरी काम गरिरहेको छ । प्रदेश सरकार र केन्द्रिय सरकारको मागअनुसारको सिटामोल दिन कम्पनी तायार रहेको पनि उनले बताए ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठका अनुसार सबै उत्पादक कम्पनीले आफूले सक्ने जति सिटामोल उत्पादन गर्न पनि सहमत भएका छन् ।

सिटामोल लुकाए कडा कारबाही

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोलको कृत्रिम अभाव सृजना नगर्न औषधि पसल सञ्चालकहरुलाई आग्रह गरेको छ ।

बजारमा सिटामोलको उत्पादनमा समस्या नभएको भन्दै विभागले सिटामोलको कालोबजारी गरे वा कृतिम अभाव सृजना गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागका अनुगमन अधिकृत धनेश्वर पौडेलका अनुसार विभागले आफ्नो अनुगमन औषधिमा केन्द्रित गरेको छ । साथै कुनै पनि स्वास्थ्य सामाग्री वा औषधिमा ठगिएको अनुभूति भए खबर गर्न पनि विभागले आग्रह गरेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?