+
+

बंगलादेशी अभिनेत्रीको शव दुई टुक्रा पारेर बोरामा फ्याँकिएको अवस्थामा फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १९:०४
बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु

५ माघ, काठमाडौं । आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

३५ वर्षीया अभिनेत्री शिमुको गर्धनमा चोट लागेको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पतिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ढाकामा पत्रकार सम्मेलन गरी प्रहरीले शिमुका पति सखावत, उसका साथी, ड्राइभर सहिति ६ जनालाई पक्राउ गरी तीन दिनको म्याद थपेर हिरासतमा राखेको जानकारी दिएको छ ।

उनका पतिले घरायसी विवादका कारण पत्नीको हत्या गरेर फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिमु ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्ना पति र दुई सन्तानका साथ बस्दै आएकी थिइन् । आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन् । राति अबेरसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो ।

सोमबार बिहान उनको शव दुई टुक्रा भएको अवस्थामा फेला परेको हो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

शव फेला परेसँगै शिमुका भाइले उनका पतिविरुद्ध मुद्दा दर्ता गराएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको ढाका प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?