+
+
मेरो जीवनशैली :

खेल कर्मबाहेक हिजोआज छोरीको स्याहारमा धेरै समय बिताउँछु : ज्ञानेन्द्र मल्ल

सम्झना विक सम्झना विक
२०७८ माघ ६ गते १५:३६

६ माघ, काठमाडौं । ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान हुन् । सन् २००६ देखि  राष्ट्रिय क्रिकेट टीममा आबद्ध भएका मल्ल सन् २०१९ मा कप्तान भएका थिए । दायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर मल्ल खेल बाहेक यात्रा गर्न र खाना बनाउन एकदमै रुचाउँछन् ।

उनै क्रिकेटर ज्ञानेन्द्र मल्लको दिनचर्या कसरी बित्छ ? उनका रुचिहरु के के छन् ? परिवारलाई कसरी समय दिन्छन् ? लगायतका विषय उनकै शब्दमा-

फ्रेस भइसकेपछि पूजा गर्छु

मेरो उठ्ने तालिका ट्रेनिङ र खेलको सेड्युल अनुसार हुन्छ । ट्रेनिङ, खेल नहुँदा गर्मी मौसममा ६ बजे र जाडोमा सात बजेसम्म उठिसकेको हुन्छु । हिजोआज भने अलि फरक भएको छ । मेरी छोरी २७ महिनाकी भइन् । नानीको उठ्ने समयअनुसार मेरो तालिका पनि फरक पर्छ ।

नानी उठ्नासाथ छोरीलाई बाथरुम लैजाने, डाइपर बदल्ने काम पहिला गर्छु । त्यसपछि पूजा गर्छु । बिहान फ्रेस भइसकेपछि मनतातो पानी पिउँछु । म योगा एक्सरसाइज गर्दिन । फिटनेसको लागि खेल अभ्यास नै काफी हुन्छ । अनि सन्तुलित खाना पनि उत्तिकै जरुरी हुन्छ ।

मेरो खाना

बिहान नास्ता खान्छु । घरमा हुँदा मेरो नास्तामा सुगर फ्री कालो चिया, कागती चिया, बिस्कुट, सातु, चना, अण्डा, ससेज लगायत हुन्छ । अण्डा थोरै खाने भएकाले म सेतो पहेंलो दुवै खान्छु । बाहिर गएको बेला त यही नै नास्ता हुन्छ भन्ने छैन । दिनभरिमा अम्रिकानो कफी एक पटक खान्छु ।

बिहानको खाना १० देखि ११ बजेभित्रमा खाइसक्छु । बाहिर निस्किँदा समयमा खाना हुँदैन । मिल्ने ठाँउमा टिफिनमा प्याक गरेर लैजान्छु । मलाई बिहानको खानामा साधारण दाल, भात र तरकारी नै मन पर्छ । माछा-मासु पनि खाइरहेको नै हुन्छु । भातसँग गोलभेंडा पोलेर बनाएको चट्नी एकदमै मनपर्छ ।

बेलुकाको खाना घरमा बस्दा सात बजेसम्म खाइसक्छु । बाहिर हुँदा भने आठ बजेसम्ममा खाने गरेको छु । बेलुकाको खाना बिहानको भन्दा हलुका नै रुचाउँछु । रोटी, चिउरा, चाउचाउ नै हुन्छ मेरो बेलुकाको खाना । म भात सकेसम्म कम खान्छु । मलाई खाना समयमै खाना पर्छ जस्तो लाग्छ । छोरी जन्मिसकेपछि हिजोआज घर चाँडै फर्कन्छु । मिटिङ परेन भने सात बजेभित्र घर फर्किसकेको हुन्छु ।

घरको काम गर्न मन पर्छ   

म फुर्सदको समयमा परिवारलाई मासुको परिकार बनाएर खुवाउँछु । कुखुरा र राँगाको परिकार धेरै मीठो बनाउँछ भनेर घरमा भन्नुहुन्छ । पाते च्याउको छोइला पनि बनाउँछु ।

मलाई घरको अन्य काम गर्न पनि मन लाग्छ । फुर्सदमा हुँदा श्रीमतीलाई पकाउने कामसँगै भाँडा माझ्न पनि सहयोग गर्छु । छोरीलाई नुहाइदिन, डाइपर बदल्न, कपडा फेरिदिन मलाई रमाइलो लाग्छ । बाबा भनिसकेपछि थप जिम्मेवार भएको छु । दिनभरिको थकाइ साँझमा छोरीलाई खेलाउँदा हराउँछ । अहिले मेरो बढी समय खेल कर्मबाहेक छोरीको स्याहारमा बित्छ ।

मेरो पहिरन

धेरै त ट्याक सुट नै लगाउँछु । मलाई क्याजुल पहिरन नै बढी मन पर्छ । कस्तो ठाउँमा जाँदैछु भन्ने कुराले पनि पहिरन छनोट गर्न भूमिका खेल्छ । बाहिर निस्किँदा जिन्स टीसर्ट र सर्ट लगाउँछु । औपचारिक ठाँउमा जाँदा सोही अनुसार हुन्छ ।

मेरो रुचि

खेल बाहेक मलाई यात्रा गर्न मन पर्छ । विदेश भन्दा मलाई आफ्नै देश घुम्नुपर्छ भन्ने मानसिकता छ । म आफूलाई प्रकृतिको नजिक हुँदा आनन्दित पाउँछु । यात्रा गर्दा त्यो ठाँउको जीवनशैली, रहनसहन, भाषा, संस्कार सबैकुराको अवलोकन गर्छु । मेरो अबको यात्राको योजना डोल्पा, खप्तड, रारा, लोमान्थाङ जाने छ । अरु त साथीभाइसँग भेट्न गफ गर्न राम्रो लाग्छ ।

मैले धेरैलाई पकाएर खुवाएको त छैन तर अरुलाई पकाएर खुवाउनु पनि रुचि हो । क्रिकेट बाहेक फुटबल, टेनिस, बास्केटबल मलाई मनपर्ने खेल हुन्, म हेरिरहन्छु । समय-समयमा फुटसल पनि खेलिरहेको हुन्छु । साथीभाइसँग जम्मा भएर गफ गर्न धेरै रमाइलो लाग्छ ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?