+
+

खेलकुदमा कोरोनाको असर बढ्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ माघ ९ गते १२:५९

९ माघ, काठमाडौं । माघ १ गते पोखरा रंगशालाभित्र रहेको भलिबल ट्रेनिङ सेन्टरमा सम्पन्न दोस्रो टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा भरिभराउ दर्शक उपस्थित थिए । पछिल्लो समय पोखरामा भलिबल क्रेज बढेको छ ।

पोखरा रंगशाला परिसरमै रहेको फुटबल मैदानमा माघ ६ गतेदेखि सुरु भएको २०औं आहा रारा गोल्डकप भने बिना दर्शक जारी छ । अहिले कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै आयोजक सहारा क्लबले दर्शकबिना नै खेल गर्ने निर्णय गरेको छ ।

आहा रारा गोल्डकप मोफसलको प्रतिष्ठित गोल्डकप हो । दर्शकको उपस्थितिमा खेलको रौनक नै छुट्टै हुन्छ । तर यस पटक भने खेल हेर्ने दर्शक छैनन्, तर पनि खेल भइरहेको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिन थालेपछि अहिले खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ ।

अहिले भइरहेका र अब हुने खेललाई पनि कोरोनाले असर गर्न थालेको छ । यस्तै मुख्य खेलका केही महत्त्वपूर्ण खेलाडीहरू पनि कोरोनाबाट संक्रमित भएका छन् । विभिन्न खेलका घरेलु प्रतियोगिताहरू प्रभावित बनेका छन् भने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि प्रभावित बनेको छ ।

क्रिकेट खेलाडीलाई कोरोना

आगामी फेब्रुअरीमा ओमानमा टि-२० विश्वकपको ग्लोबल क्वालिफायर हुँदैछ । यस्तै त्यसअघि चार देश सम्मिलित टि-२० सिरिज पनि हुँदैछ ।

त्यसका लागि नेपाली टोलीले शनिबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण सुरु गरेको छ । तर, टिमका मुख्य तीन खेलाडी कोरोना संक्रमित भएकोले उपस्थित भएका छैनन् । राष्ट्रिय टिमका सदस्य कुशल भुर्तेल, करण केसी र कमल सिंह ऐरी प्रशिक्षणमा उपस्थित छैनन् ।

भर्खरै सकिएको प्रधानमन्त्री कप पुरुष टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलमा समेत यी खेलाडी उपस्थित थिएनन् ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले तीन खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरे । ‘तीन जनामा कोरोना संक्रमण भएको हो । उनीहरू होटलमा छुट्टै बसिरहेका छन् ।’ अहिले पनि उनीहरू संक्रमित भएपछि होटलमै आराम गरिरहेका छन् ।

फुटबलमा पनि कोरोना

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत नवौं चरणको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल खेलाडीमा कोरोना देखिएपछि स्थगित भएको छ ।

लिग सुरु भएयता कोरोनाले खेल प्रभावित बनेको यो नै पहिलो पटक हो । च्यासल युथ क्लबको १९ खेलाडीमा कोरोना संक्रमण देखिएपछि च्यासलले अखिल नेपाल फुटबल संघ एन्फालाई खेल स्थगित गर्न आग्रह गरेको थियो ।

एन्फा लिग कमिटीले मेडिकल कमिटीसंग समन्वय गर्दै खेल स्थगित गर्ने निर्णय गर्‍यो । अब फिफा ब्रेकपछि त्यो खेल हुने एन्फाले जनाएको छ । लिगको बाँकी चार चरणको खेल पनि ब्रेक पछि नै हुँदैछ ।

नेपाली राष्ट्रिय फुटबल टिमले यही माघ १५ र १८ गते दशरथ रंगशालमा अफ्रिकन राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भइसकेको छ । तर, प्रशिक्षणमा बोलाइएका खेलाडीमा प्रशिक्षणअघि पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पहिलो खेलाडीहरूमा संक्रमण देखिए पनि अहिले ठिक भइसकेको जानकारी थिए । ‘पहिला संक्रमण देखिएको हो । अहिले सबै ठिक भइसकेको छ । प्रशिक्षणमा कुनै समस्या छैन ।’ महासचिव तुलाधरले भने ।

मुख्य प्रशिक्षक अलमुताइरीले खेलाडीमा संक्रमण भए पनि राष्ट्रले खेल्ने भएकोले खेलमा असर नहुने बताइसकेका छन् । कोरोना संक्रमणदर बढ्दै जाँदा दशरथ रंगशालमा हुने खेल स्थगित होला कि चन्ने चिन्तासमेत भइरहेको छ । तर एन्फाले भने खेल नरोकिने जनाएको छ ।

यद्यपि, अहिले चासोको विषय दर्शकसहित गर्ने र बिना दर्शक गर्ने भन्ने छ । त्यो बारे निर्णय भइसकेको छैन । सरकारले रंगशालमा खेल खेलाउँदा एक तिहाई दर्शक राखेर खेलाउन दिने निर्णय गरेको छ । तर एन्फाले भने निर्णय गरेको छैन ।

एन्फाका महासचिव इन्द्रमान तुलाधारले दर्शक प्रवेशका लागि सरकारको निर्देशन अनुसार नै गर्ने बताए । ‘हामी सरकारको जे निर्देशन हुन्छ त्यही अनुसार गर्छौँ । आधा दर्शक राख्न मिले आधा राख्छौँ । नभए एक तिहाई राख्न पाए त्यही गर्छौँ । सरकार र प्रशासनले भने अनुसार नै गर्छौँ । ‘

महिला लिग र गोल्डकप पनि प्रभावित

यही माघ १५ गतेदेखि राष्ट्रिय महिला लिग आयोजना गर्ने एन्फाले निर्णय गरिसकेको थियो । तर कोरोनाको बढ्दो असरका कारण अब भने महिला लिग तोकिएको मितिमा नहुने निश्चित भएको छ ।

एन्फा महासचिव तुलाधरले यस बारेमा सहभागी टिमलाई चिठी पठाएर जानकारी दिने बताए । एन्फाले काठमाडौं बाहिर महिला लिग गर्ने तयारी गरे पनि कोरोना संक्रमण बढेपछि टिमलाई बाहिर लगेर खेलाउन कठिन बनेको छ । ‘महिला राष्ट्रिय लिग तोकिएको मितिमा हुँदैन । अब कोरोनाको अवस्था हेरेर उपयुक्त मितिमा गर्नेछौँ ।’

महिला राष्ट्रिय लिगमा गत वर्ष खेलेका शीर्ष ६ टिम र उपमेयर कप राष्ट्रिय लिग छनोटबाट आएका दुई गरी ८ टिमले खेल्ने तय छ ।

तर, अब यो लिग तत्कालका लागि स्थगित छ । अब कहिले सुरु हुन्छ कोरोनाको अवस्था हेरेर नै निर्णय हुनेछ । लिगमा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र पाँच नगरपालिका टोलीले खेल्नेछन् । एन्फाले यस बाहेक फागुनमा बी डिभिजन लिग पनि आयोजना गर्ने तयारी गरेको थियो ।

तर, अब सबै क्यालेन्डर नै प्रभावित बनेको छ । यसले गर्दा गाह्रो अवस्था सिर्जना भएको एन्फा महासचिव तुलाधरले बताए । ‘यसले गर्दा हामीलाई असाध्यै गाह्रो बनाउँछ । हामीले जेठ १५ मा चुनाव गर्ने निर्णय गरिसकेका छौं । त्यसैले त्यो बेलासम्म सबै कार्यक्रम सकाउनुपर्ने अब गाह्रो भएको छ । ए डिभिजन सकिएपछि बी डिभिजन गर्ने त्यसपछि सी डिभिजन गर्ने योजना थियो ।’ तुलाधरले भने ।

यसैगरी कोरोनाकै कारण मोफसलमा आयोजना गरिने फुटबल प्रतियोगिताहरू पनि प्रभावित बनेको छ । हेटौँडामा हुने शहीद स्मृति गोल्डकप र धनगढीमा हुने खप्तड गोल्डकप रद्द भइसकेको छ ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता स्थगित

कोरोनाको नयाँ भेरियन्टको असर बढ्दै गएपछि अन्तर्राष्ट्रिय राष्ट्रिय प्रतियोगिताहरू समेत प्रभावित बनेको छ । यही जनवरी १५ मा भारतको नागाल्याण्डमा तय भएको दक्षिण एशियाली क्रसकन्ट्री दौड पनि कोरोनाकै कारण स्थगित भएको छ । त्यसमा नेपाली खेलाडीहरूले समेत सहभागिता जनाउँदै थिए । तर, कोरोनाकै कारण स्थगित हुँदा नेपाली खेलाडी जान पाएनन् । अब आयोजकले अवस्था सामान्य भएपछि नयाँ मिति छिटै तोक्ने जनाएको छ ।

यस्तै उज्वेकिस्तानको तास्कन्दमा २० जनवरीबाट सुरु भएको एएसबीसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुस्मा तामाङले भाग लिने तय थियो । तर अन्तिमसमयमा उनको कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उनी जान पाइनन् । सुस्मा जान नपाएपछि च्याम्पियनसिपमा नेपालको सहभागिता समेत भएन ।

यस्तै कोरोनाकै कारण राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरू समेत तत्कालका लागि स्थगित भएको छ । माघ १५ गते तय भएको १० किमी केटिएम रन फागुनमा सरेको छ । यस्तै नुवाकोटको बेलकोटगढी-५ को आयोजनामा हरेक वर्ष हुँदै आएको झिल्टुङ क्रस कन्ट्री रेस पनि स्थगित भएको छ । हरेक वर्ष माघको पहिलो साता आयोजना हुँदै भएको झिल्टुङ क्रसकन्ट्री रेस यस पटक माघ ८ गते हुने तय गरिएको थियो । तर, कोरोनाकै कारणअर्को सूचना नआएसम्म तत्कालका लागि स्थगित भएको आयोजकले जनाएको छ ।

यसैगरी माघ १ गतेदेखि हुन लागेको ११औँ पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिता पनि स्थगित भइसकेको छ । कोरोनाको नयाँ भेरियन्टले समग्र खेलकुद नै प्रभावित बन्दा मुख्य गरी खेलाडीहरू यसको मारमा परेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?