+
+

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते २०:०१

९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन् । सशहस्त्र प्रहरी बल नेपालको २१औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा सङ्कट आउँदा, असमान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।’

उनले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए । क्षमता सीप विकास, सङ्गठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले शान्तिसुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि दिए । उनले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातारण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरश: पालना गर्दै जनताको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन पनि दिए ।

उनले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदातित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे । मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र सङ्घीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गर्दै उनले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढङ्गले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

जिम्मेवारीमा जुट्न गृहमन्त्रीको निर्देशन

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसायोग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले कोभिड-१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपीएफ अस्पतालमार्फत् सङ्क्रमितहरूको उपचारमा पुर्‍याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरे ।

गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिए ।

सो क्रममा उनले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे ।

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश: पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पारे ।

उनले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जानकरी पनि दिए । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैं तयार रहेको बताए ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत् स्रोतसाधनको अधिकतम परिचालन गरी पेशागत निर्वाह गरिरहेको जानकारी दि‌ए । समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?