
१० माघ, बाँके । व्यावसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका-५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग छन् ।
“गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”,उनले भने,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” उनले ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादवसहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महिनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रतिकिसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।
कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
प्रतिक्रिया 4