+
+

विस्तारै ‘हिट’ भएको ‘डाँडाघरे साइँली’

‘एक करोड भ्युज पुग्न चार महिना, अर्को एक महिनामा दुई करोड पार’

सुशील नेपाल सुशील नेपाल
२०७८ माघ १२ गते १३:२४

१२ माघ, काठमाडौं । ६ महिनाअघि युट्युबमा सार्वजनिक भएको दोहोरी गीत हो, ‘डाँडाघरे साइँली’ ।

कृष्ण केसीको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर छ । आधुनिक गीतका सुप्रसिद्ध गायक स्वरुपराजले गाएको पहिलो दोहोरी गीत हो यो । संगीतकार मल्लकै प्रस्तावमा गायक आचार्यले पहिलोपटक दोहोरी गाएका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी र देवेन्द्र बब्लुको निर्देशन रहेको गीतको भिडियोमा गायक प्रकाश सपूत, अभिनेत्री शिल्पा पोखरेल, मोडल करिश्मा ढकाल र संगीतकार मल्लको अभिनय छ ।

पछिल्लो समय केही सीमित गीतहरु मात्र चर्चामा आउँछन् । र, गीतको आयु पनि निकै छोटो हुने गरेको छ । राम्रा भनिएका गीतको पनि शुरुआती दिनमा चर्चा हुन्छ र केही सातामै विस्तारै सेलाउँदै जान्छ । अहिले पनि केही महिनाअघि चर्चामा रहेका अधिकांश गीत सुन्नै छाडिएको छ ।

तर, ‘डाँडाघरे साइँली’ले त्यसको विपरीत विस्तारै–विस्तारै लोकप्रियता कमाएको छ । अहिले शहरका रेष्टुरेन्ट, लामो दूरीका यातायातका साधनदेखि गाउँघरमा यो गीत उत्तिकै घन्किने गरेको छ । टिकटकमा त यो गीत निकै हिट छ ।

एक करोड भ्युज पुग्न चार महिना, अर्को एक महिनामा दुई करोड

शुरुआती दिनमा युट्युबमा भिडियोको भ्युजको गति कम थियो । विस्तारै गीतका टुक्राहरुमा टिकटक बन्दै गए । लकडाउन खुकुलो हुँदै गएपछि दोहोरी साँझ, गजल रेष्टुरेन्ट, विवाह पार्टीदेखि पिकनिकमा यो गीत बज्न थाल्यो ।

‘गीत जब मासमा गयो, स्रोता–दर्शकहरुले अडियो र भिडियोलाई ध्यान दिएर सुन्ने, हेर्ने गर्नुभयो । त्यसपछि गीतले आकर्षित बनाउँदै विस्तारै धेरैको मन जितेको जस्तो लाग्छ,’ संगीतकार श्रीकृष्ण बम मल्लले सुनाए ।

उनका अनुसार भिडियो करोड क्लबमा प्रवेश गर्न चार महिना बढी लागेको थियो । अर्को एक करोड थपिन भने लामो समय लागेन । अर्को एक महिनामै भिडियोले युट्युबमा दुई करोड भ्युज पायो । अहिले भिडियोको भ्युज दुई करोड १२ लाख पुगिसकेको छ । दैनिक दुई लाखको हाराहारीमा भ्युज बढिरहेको छ ।

गीतका हरेकजसो टुक्राहरु टिकटकमा हिट छन् । गीतका टुक्राहरुमा १२ लाख बढी टिकटक बनेको मल्ल बताउँछन् । गीतलाई स्रोता–दर्शकले रुचाउनुको कारण मौलिकपन नै भएको उनी बताउँछन् । अडियो, भिडियो दुवैमा उत्तिकै मेहनत गरिएकाले पनि दर्शक–स्रोताले रुचाएको उनको भनाइ छ । गीतलाई ‘मास’मा पुर्‍याउन टिकटकको भूमिका भने निकै ठूलो रहेको उनले बताए ।

***

थुप्रै हिट आधुनिक गीत दिएका संगीतकार मल्लले दोहोरीमा धेरै गीत गरेका छैनन् । दोहोरी गीतमा आइसकेपछि केही फरक र मौलिक काम गरौं भन्ने सोचअनुरुप ‘डाँडाघरे साइँली’मा काम गरेको उनी बताउँछन् ।

मेहनतको कामलाई स्रोता-दर्शकले रुचाउनेमा उनी विश्वस्त थिए । तर, गीतले यति लोकप्रियता कमाउला भन्ने सोचेका थिएनन् । उसो त संगीतकार मल्ल युट्युब भ्युजलाई मात्र सफलताको मानक मान्दैनन् । युट्युबलाई मात्र टार्गेट गरेर पनि काम नगर्ने उनी बताउँछन् । स्रोता–दर्शकले मनैदेखि मन पराउनु, गुनगुनाउनु, देश–विदेशबाट अग्रज तथा शुभचिन्तकहरुले दिने प्रतिक्रियाले मात्र उनलाई सफलताको अनुभव दिलाउँछ ।

संगीतकार श्रीकृष्ण बम मल्ल

संगीतकार मल्लको बुझाइमा पछिल्लो समय धेरै कलाकारहरुले चल्नका लागि भाइरल ‘कन्टेन्ट’ तयार पार्ने गरेका छन् । उनी भन्छन्, ‘चल्न, बिक्नका लागि होइन कि टिक्न, टिकाउनका, भावी पुस्ताहरुलाई पनि हस्तान्तरण हुनेगरी सिर्जना गर्ने सोच राखियो भने हरेक सर्जकको सिर्जनालाई स्रोता–दर्शकले रुचाउँछन् जस्तो लाग्छ ।’

अहिले नेपाली स्रोता-दर्शकहरु धेरै ‘चुजी’ बनेको बताउँदै मौलिक सिर्जनाहरुलाई माया गरेको उनको अनुभव छ ।

हिजोका दिनमा विवाह पार्टी, पिकनिकहरुमा रमाइलो गर्नका लागि हिन्दी गीतहरुको सहारा लिनुपथ्र्यो । पछिल्लो समय नेपाली गीत, त्यसमा पनि दोहोरी गीत बढी प्रयोग हुन थालेकोमा यो राम्रो शुरुआत भएको मल्ल बताउँछन् ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?