+
+

बारबर्दियाको १० वर्षे शिक्षा योजना : शिक्षकले राजनीति गर्न नपाउने

नुनुता राई नुनुता राई
२०७८ माघ १४ गते १५:४१

१४ माघ, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाले गत पुस २२ गते आगामी १० वर्षका लागि आफ्नो शिक्षा योजना सार्वजनिक गर्‍यो ।

नयाँ संविधान जारी भएपछि शिक्षाको अधिकार स्थानीय तह मातहत आएसँगै यो नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि गरिरहेको प्रयासमध्ये एक हो यो ।

२०७८ देखि २०८८ सालसम्मको योजना बनाउँदै नगरपालिकाले त्यसको अनुमानित बजेट र त्यसले दिने उपलब्धीको अनुमान सार्वजनिक गरेको छ । नगरपालिकाले हाल एक वर्षको हुँदै आएको बालविकास र बाल शिक्षाको अवधि दुई वर्ष बनाउने प्रस्ताव गरेको छ ।

त्यस्तै शिक्षकहरु राजनीतिक दलको सदस्य हुन नपाउने, बालबालिका र शिक्षण पेसाप्रति रुचि भएका व्यक्रिहरु शिक्षण पेशामा आउन सक्ने गरी शिक्षक छनोट पाठ्यक्रम परिमार्जनको लागि पहल गर्ने, शिक्षक विद्यार्थीको अनुपात ३० जनाभन्दा बढी हुन नहुने नगरपालिकाको प्रस्ताव छ ।

नगरपालिकाले दिवा खाजा विस्तार गर्दै कक्षा ८ सम्म पुर्‍याउने पनि योजना बनाएको छ । त्यसका लागि आगामी पाँच वर्षका लागि शिक्षामा दुई अर्ब ३३ करोड ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यसमा संघीय सरकारबाट ६४ प्रतिशत र प्रदेश सरकारबाट १२ प्रतिशत बजेट प्राप्त हुने आशा राखेको छ ।

त्यस्तै कक्षा १,२,३ र ६ मा बारबर्दिया गौरव नामको स्थानीय पाठ्यक्रम समावेश गर्ने नगरपालिकाको तयारी छ । यो विषयमा नगरपालिकाभित्र बस्ने समुदायको धर्म, संस्कार, संस्कृति, परम्परा, नगरपालिकाभित्र पर्ने महत्वपूर्ण ताल तलैया, सम्पदा लगायको विषय समेटिएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।

उनले भने ‘विद्यार्थीमा पाठ्यक्रमको ज्ञानसँगै अनुशासन, मौलिक संस्कृति र पहिचान सम्बन्धी ज्ञान हुन जरुरी छ । आपूm हुर्केको स्थानको महत्व बुझ्न जरुरी छ । बारबर्दिया गौरवले यी कुराहरु सिकाउँछ ।’

नगरपालिकाले शिक्षक डायरी तयार गरी कक्षाकोठामा जानुअघि विषयगत कार्य योजना बनाउनुपर्ने नियम बनाएको छ । डायरीमा शिक्षकले गर्नुपर्ने विद्यार्थीको तहगत मूल्यांकन, आन्तरिक र आवधि मूल्यांकन, कार्ययोजना लगायतका विषय समेटिएको छ ।

नगरपालिकाले २०८७ सम्म तीनवटै तहका सरकारको संयुक्त लगानीमा बारबर्दिया नगरपालिकाको समग्र शिक्षा क्षेत्रमा स्रोतको दिगो व्यवस्थापन भई शैक्षिक पहुँच, समता, गुणस्तर र क्षमता विकासमा उल्लेख्य प्रगति हुने लक्ष्य राखेको छ ।

नगरभित्र ५७ ओटा विद्यालयमध्ये ४२ ओटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ३२.१० प्रतिशत शिक्षामा छुट्याएको छ । यसअघि आर्थिक वर्ष २०७५/७६ मा २५.१३ प्रतिशत, २०७६/७७ मा २८.११ प्रतिशत, २०७७/७८ मा ३३.४८ प्रतिशत बजेट छुट्याएको थियो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंका अनुसार बारबर्दियाको शैक्षिक सत्र २०७५ देखि २०७७ सम्मको विश्लेषण गर्दा शैक्षिक उपलब्धि बढ्दो क्रममा रहेको छ ।

यो नगरपालिका २०७५ साल असार २८ गते अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा भइसकेको छ । सबै विद्यालयहरुमा सम्बन्धित तहको स्थायी शिक्षकलाई नै प्रधानाध्यापकको रुपमा नियुक्त गरिएको छ । प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा विषयगत ११७ दरबन्दी सिर्जना गरी नगरपालिकाबाट शिक्षक पूर्ति गरिएको छ । त्यस्तै सबै बालविकासका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

छात्रवृत्ति

बारबर्दिया नगरपालिकाले प्राविधिक शिक्षातर्फको बिष्णु धनी स्मृति बहुप्राविधिक शिक्षालय शुरु गरेको छ । यो शिक्षालयमा तीन वर्षे डिप्लोमा इन फरेस्ट्री सञ्चालन भइरहेको छ । शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, ८ जनाले ७५ प्रतिशत र ३ जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

सीटीईभीटी र नगरपालिकाको साझेदारीमा चिकित्सा शिक्षातर्फको पाँच वटा कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढेको नगर प्रमुख थारुले बताए । ती कार्यक्रम आगामी शैक्षिक सत्रदेखि शुरु गर्न नगरपालिकाले करिब ४ करोड रुपैयाँ पूर्वाधारमा लगानी गरेको उनले जानकारी दिए ।

नगरपालिकाले अभिभावकविहीन, सडक र असहाय बालबालिकाका लागि आर्थिक वर्ष २०७५÷७६ देखि संरक्षण केन्द्र शुरु गरेको छ । केन्द्रमा हाल ७ वर्षदेखि १७ वर्ष उमेरसम्मका २१ जना बालबालिका रहेका छन् ।

नगर उपप्रमुख अञ्जु दहित भन्छिन्, ‘जसको कोही छैन उसका लागि स्थानीय सरकार छ भनेर हामीले बाल संरक्षण केन्द्र सञ्चालनमा ल्याएका हौं ।’ केन्द्रमा रहेका बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिएको छ ।

नगरपालिकाले एमबीबीएस, सीए, इन्जिनियरिङ अध्ययनका लागि एक–एक जनालाई छात्रवृत्ति दिने घोषणा गरेको थियो । तर अहिलेसम्म यो छात्रवृत्ति माग गर्दै आवेदन परेको छैन । ‘यो वर्ष आवेदन नपर्ने अनुमान गरेका थियौं । तर अबका दिनमा यदि कोही विद्यार्थीले डाक्टर, इन्जिनियर, सीए पढ्ने इच्छा, क्षमता राख्छ तर आर्थिक अभावकै कारण प्रयास गरिरहेको छैन भने त्यस्ता विद्यार्थीलाई उत्प्रेरणाका लागि घोषणा गरेका हौं’ नगर प्रमुख थारु भन्छन् ।

नगरपालिकाले आर्थिक रुपले विपन्न तथा जेहेन्दार, शहीद, वेपत्ता परिवारका, मुक्त कमैया, मुक्त कमलरी तथा अपाङ्ग गरी ५० विद्यार्थीलाई स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

नगरपालिकाले थारु समुदायमा वंशाणुगत रुपमा देखिने सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणको जानकारीसहितको सन्दर्भ सामग्री विद्यालयमा अध्यापन पनि थालेको छ । शैक्षिक सत्र २०७५ मा कक्षा नौ र शैक्षिक सत्र २०७६ मा कक्षा १० मा स्थानीय पाठ्यक्रमको रुपमा यो सन्दर्भ सामग्री पढाइ भइरहेको छ ।

सन्दर्भ सामग्रीमा यी रोगहरु सर्ने कारण, रोक्नको लागि अपनाउनुपर्ने सावधानीजस्ता विषय समेटिएको छ । विद्यालय तहबाटै बालबालिकालाई रोगको ज्ञान भएमा जोखिम कम हुनसक्ने नगर प्रमुख थारु बताउँछन् ।

नगरपालिकाकाले मुक्त कमैया, सुकुम्बासी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री पनि वितरण गरेको छ । शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईं भन्छन्, ‘घरैमा बस्न सक्ने तर विद्यालय जानको लागि आवश्यक कापी किताब, पेन्सिल, पोशाक खरिद गर्न नसक्ने सय जना विद्यार्थीलाई सामाग्री उपलब्ध गराईरहेका छौं ।’

बालविकास सहजकर्तालाई छैन न्युनतम तलब

नगरपालिकाले शिक्षा क्षेत्रमा नमुना कार्यक्रम कार्यान्वयन र महत्वाकांक्षी योजना बनाइरहँदा बालविकास सहजकर्ताको लागि सरकारले तोकेको न्यूनतम पारिश्रामिक भने दिएको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा बालबिकास सहजकर्तालाई १५ हजार रुपैयाँ तलब तोकेको थियो । जसमध्ये ८ हजार केन्द्र सरकार र ७ हजार स्थानीय सरकारले दिने बजेट वक्तव्यमा उल्लेख थियो । तर बारबर्दियाका बालविकास सहजकर्ताले स्थानीय सरकारबाट पाउनुपर्ने पारिश्रमिक दिएको छैन । नगर प्रमुख थारु भने यो समस्या समाधान भइसकेको दाबी गर्छन् ।

‘समस्याको समाधान भइसकेको छ । केही प्राविधिक समस्याका कारण रोकिएको थियो । अब माघबाट दिन्छौं । र अगाडि रोकिएको तलब पनि उहाँहरुले पाउनुहुन्छ’ उनले भने ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?