+
+

पूर्वकप्तान ज्ञानेन्द्रसहितका खेलाडी ग्रेडिङमा समावेश

सन्दीप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ए ग्रेडमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते २१:२५
ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी

१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीसहित ५ खेलाडीलाई सन् २०२२ को लागि ग्रेड ए मा राखेको छ ।

क्यानको बिहीबार बसेको बोर्ड बैठकले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता गर्दै  उनीहरुसहित पाँच खेलाडीलाई ग्रेडिङमा समावेश गरेको छ ।

यसअघि कारवाही स्वरुप सम्झौतामा नराखिएका खेलाडीमा ज्ञानेन्द्र, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी ग्रेडिङमा समावेश थिएनन् । त्यस्तै क्यानले कप्तान सन्दीप लामिछाने र करण केसीलाई पनि ए ग्रेडमा राखेको छ ।

यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् ।

त्यसैगरी ग्रेड ‘सी’ तर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।

‘अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ’ क्यानले विज्ञप्तिमा जनाएको छ ।

त्यसै गरी ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।

महिलातर्फ भने ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् ।

ग्रेड ‘बी’ तर्फ सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन् ।

त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल रहेका छन् ।

यसैगरी बैठकले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा आगामी २०७८, फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ ।

साथै क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै पोखरा, भैरहवा र धनगढी स्थित क्रिकेट मैदानमा २/२ जना, त्यसै गरी, जनकपुर र सप्तरी स्थित क्रिकेट मैदानमा १/१ जना मैदान कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?