+
+

राष्ट्रिय जनमोर्चा पनि विभाजित, पौडेलको नेतृत्वमा बन्यो समानान्तर समिति

टोपराज शर्मा टोपराज शर्मा
२०७८ माघ १६ गते १२:०७

१६ माघ, बुटवल । नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ । हालको नेतृत्व दक्षिणपन्थी भासमा फसेको भन्दै असन्तुष्ट नेताहरुले ५१ सदस्यीय समानान्तर समिति गठन गरका हुन् ।

समानान्तर समितिको नेतृत्व कृष्णराज पौडेल (नवलपरासी) ले गरेका छन् । समानान्तर समितिलाई ‘केन्द्रीय समन्वय समिति’ नाम दिइएको छ ।

भर्चुअल माध्यमबाट भएको राष्ट्रिय भेलाले गठन गरेको समानान्तर समितिको उपाध्यक्षहरुमा चिन्तामणी पौडेल (काठमाडौं), सूर्या थापा (काठमाडौं), सुरेन्द्र भण्डारी (मोरङ) छन् । यसैगरी महासचिवमा लालबहादुर जाग्री (डडेल्धुरा), सचिवमा गौरीलाल कार्की (जुम्ला) र कोषाध्यक्षमा ओमबहादुर केसी (दाङ) रहेका पार्टीका नेता नारायण शर्माले जानकारी दिए ।

समानान्तर समितिमा रहेका नेताहरुले एक वर्षभित्र महाधिवेशन गर्ने जनाएका छन् । ‘एक वर्षसम्म हामी औपचारिकरुपमा पार्टी फुटाउँदैनौं, मूल पार्टीमा रहेका साथीहरुलाई पनि हामीतिर ल्याउने प्रयास गर्छौं र सकेसम्म बहुमत पुर्‍याएर महाधिवेशन गर्छौं,’ एक नेताले भने ।

यसअघि पूर्वसांसद सन्तबहादुर नेपालीले पनि मसालमा समानान्तर समितिको नेतृत्व गरेका थिए । अहिले जनमोर्चाको समानान्तर समिति गठन गर्न आयोजित भर्चुअल भेलालाई नेपालीले पनि सम्बोधन गरेका थिए ।

यसैगरी अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देबबहादुर लामिछाने, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव विदुर शर्मा, पूर्वकेन्द्रीय सदस्य गौरीलाल कार्कीले पनि सम्बोधन गरेका थिए । उनीहरुले पार्टीको मूल नेतृत्व दक्षिणपन्थी संशोधनवादमा फसेको भन्दै समानान्तर समिति गठन गर्नुपरेको बताएको नेता शर्माले जानकारी दिए ।

हाल मसालका महामन्त्री मोहनविक्रम सिंह छन् । मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी छन् । केसी अस्वस्थ भएपछि राजनीतिमा अहिले खासै सक्रिय छैनन् । उनी ६ महिनादेखि भैरहवास्थित छोरीको घरमा बस्दै आएका छन् ।

जनमोर्चा हाल सत्ता गठबन्धनमा आबद्ध छ । गठबन्धनका बैठकहरूमा पार्टी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुँदै आएकी छन् । उनी मसालका महामन्त्री मोहन विक्रमकी श्रीमती हुन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?