+
+

अन्तरिक्ष यात्रा गराउँदै चीन, २०२५ सम्ममा अन्तरिक्ष पर्यटक लैजाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते ११:२५

आगामी तीन वर्षमा चिनियाँ अन्तरिक्षयानमा बसेर मानिसहरु पर्यटकको रुपमा अन्तरिक्षको भ्रमणमा जान सक्नेछन् । चीनको एक अन्तरिक्ष यातायात कम्पनीले पंखायुक्त रकेट बनाइरहेको छ । जसबाट अन्तरिक्ष पर्यटनलाई बढावा मिल्ने अपेक्षा गरिएको छ । अन्तरिक्षको यो यात्रा एक निश्चित स्थानबाट अर्को निश्चित स्थानसम्म हुनेछ ।

चिनियाँ कम्पनीले एउटा निकै तीव्र गतिमा उड्ने रकेड बनाइरहेको छ । जसमा पंखा हुनेछन् । यो एक विन्दुबाट अर्को विन्दुसम्म हुने उडानका लागि रहनेछ । स्याटेलाईट प्रक्षेपण गर्ने संसारका अन्य रकेटको तुलनामा यो सस्तो हुनेछ । यो कुनै पनि सामान्य जहाजभन्दा तीव्र गतिमा उड्नेछ ।

चीनको यो स्पेस यान पृथ्वीदेखि अन्तरिक्षसम्मको दुई विन्दुबीचमा यात्रा गर्नेछ । यो रकेटलाई र्यापिड ट्रान्सपोर्टको रुपमा उपयोग गरिनेछ र पूर्णरुपमा पुनः प्रयोगमा ल्याउन सकिनेछ ।

स्पेस ट्रान्सपोर्टेसन वेबसाइटमा रहेको भिडियो प्रस्तुति अनुसार यो यानलाई निकै महत्वाकांक्षी परियोजना मानिएको छ । एनिमेटेड प्रस्तुतीमा मानिसहरू रकेटभित्र बसिरहेका र उक्त रकेटले सिधै माथि उडान भरेको देखाइएको छ ।

यो अन्तरिक्ष यानमा रकेट पावर्ड पंखा हुनेछन् । यो यान चीनबाट उडेर सिधै अन्तरिक्षमा पुग्नेछ र त्यहाँबाट सिधै दुबईमा अवतरण गर्नेछ । यसको अवतरण पनि सिधै ठाडो अर्थात् भर्टिकल हुनेछ । यो पछाडिको भागमा रहेको तीन वटा खुट्टामा अवतरण गर्नेछ ।

यो रकेट बनाउने कम्पनी बेइजिङ लिंगकंग तियानजिङ टेक्नोलोजी लिमिटेड हो । आगामी वर्षदेखि यो अन्तरिक्ष रकेटको परिक्षण सुरु गर्ने योजना कम्पनीको छ । त्यस्तै सन् २०२४ मा यसको पहिलो उडान हुनेछ भने मानवयुक्त पहिलो उडान चाहिँ सन् २०२५ मा सुरु हुनेछ ।

त्यसपछि सन् २०३० मा एक विश्वव्यापी, अर्बिटल तथा यात्रुयुक्त अन्तरिक्ष उडानको पनि योजना छ ।

यो कम्पनीको स्थापना सन् २०१८ मा भएको थियो । अन्तरिक्ष पर्यटनको आफ्नो योजना तय गर्न पर्याप्त समय लगाइएको भन्दै कम्पनीले अघिल्लो वर्ष यसका लागि चार करोड ६३ लाख डलर कोष जम्मा गरेको थियो ।

कम्पनीले तियानजिङ १ र तियानजिङ २ गरी दुईवटा हाइपरसोनिक स्पेस प्लेन पनि बनाएको छ । यी जहाजको १०औँ परिक्षण उडान गत जनवरी २३ मा गरिएको थियो ।

स्मरण रहोस् अहिले विश्व अन्तरिक्ष पर्यटनको दौड सुरु भैसकेको छ । भर्जिन ग्यालेक्टिक कम्पनीले गत वर्षको जुलाइमै पहिलोपटक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनसहितका यात्रुहरुलाई आफ्नो यानमा राखेर अन्तरिक्ष यात्रा गराइसकेको छ । त्यस्तै जुलाइमै जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले पनि बेजोस सहितका यात्रुलाई अन्तरिक्षमा लगिसकेको छ । र त्यसयता पनि अन्तरिक्षयात्रा गराइसकेको छ ।

गत हप्ता अमेरिकाको सिएटलस्थित रेडियन एरोस्पेस कम्पनीले सिंगल स्टेजयुक्त अर्बिटल भेहिकल तयार गरिरहेको घोषणा गरेको थियो । त्यस्तै चाइनिज एकेडेमी अफ साइन्सको सहयोगी कम्पनी सिएएस स्पेस पनि आफ्नो सब अर्बिटल टुरिजम सर्भिसको तयारीमा जुटिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?