+
+

भरतपुर अस्पतालमा शय्या अभाव भएपछि सुत्केरी भुईंमा सुत्न वाध्य

रासस रासस
२०७८ माघ १८ गते १३:५८

१८ माघ, चितवन । प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।

चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्छन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइन्छ ।

अस्पतालमा साउनयता पुस मसान्तसम्म सात हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गत वर्ष यो सङ्ख्या नौ हजार ७६६ थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताउछन् ।

बच्चा जन्माइसकेका आमाहरू ठाउँ अभावमा भुईंमा बस्नुपर्ने बाध्यता छ । पोख्रेल भन्छन्, ‘अहिले दैनिक १०/१५ जना भुईंमा सुत्न बाध्य छन् ।’ अस्पतालमा १५० शय्या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शय्या प्रसूतिका लागि छ । यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेल बताउछन् । उनले थपे, “बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।” चाहेर पनि शय्यामा राख्न नसकिएको उनको भनाइ छ ।

शल्यक्रिया गरेकालाई भुईंमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरूलाई भुईंमा राखिन्छ । शल्यक्रिया गरेकाहरूलाई सात/आठ दिनसम्म राख्नुपर्ने हुँदा शय्याको अभाव हुने गरेको हो । कोभिड-१९ प्रकोपसँगै पछिल्ला महिनाहरूमा १५ देखि २० जना सङ्क्रमितको प्रसूति यहाँ हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेल प्रसूति गर्नेहरूको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्छन् । १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् । डा पौडेलले भने, ‘अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।’

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुईंमा नै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउछन् । उनको भनाइमा अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उनले भने, “प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीँ छैनन् ।” भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसैवर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिड-१९ का कारण प्रसूति गराउनेको सङ्ख्या घटेको थियो ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० शय्या छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?