+
+

सांसदले भनिन् : मेरै घरमा जनगणना भएन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते २०:२९

१८ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको भन्दै प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले आफ्नो घरमा जनगणना गर्न गणक नै नआएको बताइन् । सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरेकी छन् ।

‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन’ उनले भनिन्, ‘पहिले जनगणना हुँदाखेरि घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जियनसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति ? सबै तथ्यांक लिइन्थ्यो । यो कुराहरु मैले मेरो टोलमा पाइन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काठमाडौंको जनगणना नै तथ्यपरक नभएको बताए । ‘काठमाडौंमा जहिले पनि माइग्रेसन बढी हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रसशन संघीयताले पनि रोकेको छैन । अरु जिल्लामा बढ्ने र काठमाडौं नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएन कि ?’ उनले प्रश्न गरे ।

‘केही त जस्टिफिकेसन हुनुपर्‍यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि ? नत्र भने यो तथ्य मिलेन’ सांसद पाण्डेले भने ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?