+
+

संस्कृतमा विद्यावारिधि गर्ने विद्यार्थीले छात्रवृत्ति र शोधवृत्तिका लागि आवेदन दिन पाउने

नेपाल संस्कृत विश्वविद्यालय दाङमा विद्यावारिधि गरिरहेका विद्यार्थीहरुले छात्रवृत्तिको लागि आवेदन दिन पाउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १९:०९

२३ माघ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विद्यावारिधि गरिरहेका विद्यार्थीहरुले छात्रवृत्तिको लागि आवेदन दिन पाउने भएका छन् । विश्वविद्यालय अनुदान आयोगको बोर्ड बैठकले संस्कृत विश्वविद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन दिन पाउने निर्णय गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा विश्वविद्यालय अनुदान आयोगका बोर्ड सदस्य प्रा.डा.यादव प्रसाद लामिछानेले विद्यार्थीको आवेदन स्वीकृत गर्ने निर्णय गरेको बताए ।

उनले भने ‘बोर्ड बैठकले छात्रवृत्तिको लागि संस्कृत विश्वविद्यालयको विद्यार्थीको आवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । फागुन चार गतेसम्म विद्यार्थीले आवेदन दिन सक्नेछन् ।’

विश्वविद्यालय अनुदान आयोगले ‘द जर्नल अफ यूनिभर्सिटी ग्रान्ट कमिसन’ शिर्षकमा ५० जना विद्यार्थीको लागि दिने छात्रवृत्तिको लागि संस्कृत विश्वविद्यालयका विद्यार्थीले आवेदन दिन नपाएपछि आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शंकर भण्डारीले विद्यावारिधि उपाधिको लागि न्यूनत्तम मापदण्ड तथा कार्यविधि, २०७३ संशोधन गर्नुपर्ने बताए ।
उनले भने ‘हाम्रो आवेदन स्वीकृत गर्ने निर्णय भएको सुनेको छौं । तर हामीले आन्दोलनपछिको यो उपलब्धि हो । तर हामीले पायौं भन्ने मात्रै होइन, हामी पछिका शैक्षिक सत्रका विद्यार्थीले पनि पाउन भन्ने हो । त्यसको लागि कार्यविधि संशोधन हुनुपर्छ ।’

३४ वर्षदेखि विद्यावारिधि पढाउँदै आएको विश्वविद्यालयलाई यो ७३ सालमा बनेको कार्यविधिले अंकुश लगाएको उनको भनाइ छ ।

विद्यार्थीहरुले आइतबार संस्कृत विश्वविद्यालयका विद्यार्थीले छात्रवृत्तिको आवेदन दिन पाउनुपर्ने र कार्यविधि संशोधन गर्नुपर्ने माग राख्दै अनुदान आयोग अगाडि दबाब दिन प्रदर्शन गरेका थिए ।

आयोगले किन आवेदन लिन अस्वीकार गरेको थियो ?

विद्यावारिधि उपाधिको लागि न्यूनत्तम मापदण्ड तथा कार्यविधि, २०७३ को परिच्छेद २ को २.२ मा स्नातकोत्तर वा एमफील वा सो सरहको कार्यक्रम कम्तिमा पाँच वर्ष सञ्चालन गरेको शैक्षिक संस्थाले मात्र सो कार्यक्रम निरन्तर राखी विद्यावारिधि कार्यक्रम सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ ।

कार्यविधिको यो बुँदा अनुसार संस्कृत विश्वविद्यालयमा संस्कृत विषयमा स्नातकोत्तर तह नहुँदा संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका विद्यार्थीले आवेदन दिन नपाउने भएका थिए ।

संस्कृति विश्वविद्यालयले अहिले पूर्वीय दर्शनसँग जोडेर, त्यहाँ भएका विषयवस्तुसँग जोडेर विद्यावारिधि गराउँदै आएको छ ।

संस्कृत विश्वविद्यालयले यसरी नै २०४४ सालदेखि विद्यावारिधि गराउँदै आईरहेकोमा कार्यविधिका कारण २०७३ देखि २०७८ सालसम्‍म भर्ना भएका विद्यार्थीहरु मर्कामा परेकोले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले आवेदन दिनपाउनुपर्ने र कार्यविधि शंशोधन गर्न माग राख्दै आएका थिए ।

संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शंकर भन्डारीले आजको बोर्ड बैठकको निर्णय स्वागतयोग्य भएपनि संशोधन गर्नुपर्ने मुख्य माग रहेको बताए । उनले भने ‘हामीले आवेदन दिन पाउने भए पनि कार्यविधि संशोधन नभएसम्म हामी माग जारी राख्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?