+
+

इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ८:०६

२४ माघ, काठमाडौं । साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ ।

क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ मानेले निर्णायक गोल गरेपछि सेनेगल ४-२ ले विजयी भयो ।

प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्ने दुई साथी माने र मोहमेद सालाहको प्रतिस्पर्धाको रुपमा हेरिएको खेलमा माने सफल बने । सालाहले भने पेनाल्टी हान्ने अवसर नै पाएनन् ।

निर्धारित समयमा मानेको पेनाल्टी इजिप्टका किपर गाबास्मीले बचाएका थिए । यस प्रतियोगितामा चार पेनाल्टी रोकिसकेका गाबास्की सुटआउटमा भने सफल हुन सकेनन् ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे । तर, बोउना सारले गोल गर्न सकेनन् ।

इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरे । मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुके ।

लासहेनको प्रहार सेनेगलका गोलकिपर एडुअर्डो मेन्डीले बचाए । मेन्डी प्रतियोगिताकै उत्कृष्ट गोलकिपर समेत बने ।

यस्तै सेनेगलका माने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

घरेलु टोली क्यामरुनका कप्तान भिनसेन्ट अबुबाकरले प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?