+
+

अनुसन्धानको बलमा शैक्षिक र आर्थिक विकासको बाटो

केशवी जोशी केशवी जोशी
२०७८ माघ २४ गते ११:०५

अहिले वैश्विक अर्थतन्त्र खोज र अनुसन्धानमा टिकेको छ । कोरोना कहरका कारण शिथिल बनेको देशको अर्थतन्त्र र शिक्षा क्षेत्र जर्जर बनेको छ । यसलाई सुधार्ने सही उपायको खोजी गर्न विभिन्न खोज र अनुसन्धान गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । समृद्धिको सहज यात्रा तय गर्न कम्तीमा शिक्षामा आत्मनिर्भर हुन सक्नुपर्छ । हामीले परनिर्भरभन्दा अन्तरनिर्भरताको अर्थतन्त्र विकास गर्न आवश्यक छ । यसको लागि आयातको अंकलाई ठूलो मात्रामा घटाउनुपर्छ, जसको लागि ठूलो पैमानामा उत्पादन वृद्धिको विकल्प छैन ।

हामीले ढिला नगरी दोहोरो व्यापारको अवधारणालाई व्यावहारिक कार्यान्वयन सुनिश्चित गर्नुपर्छ । यो भनेको अरू मुलुकहरू हामीले उत्पादन गरेका वस्तु तथा सेवामा भरपर्ने तथा हामी पनि अरू मुलुकले उत्पादन गरेको वस्तु तथा सेवामा निर्भर रहने हो । शिक्षा पनि विनिमयको वस्तु भइसकेको अहिलेको युगमा हामीले यस विषयमा अध्ययन गर्न ढिला भइसकेको छ । प्रत्येक वर्ष विदेशका विश्वविद्यालयहरूले शैक्षिक परामर्श दिनका लागि काठमाडौंमा मेला वा प्रदर्शनीको आयोजना गर्ने गरेका छन् । तर, नेपालले कहिल्यै पनि बाहिरी देशहरूमा यस्ता शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न सकेको छैन ।

विश्वविद्यालय र्‍याङ्कङि २०२२ का अनुसार त्रिभुवन विश्वविद्यालय ८०१-१००० वरीयतामा रहेको छ जुन चार वर्षदेखि निरन्तर छ । यसले त्रिभुवन विश्वविद्यालयले अझ अध्ययन अनुसन्धानमा बढी जोड दिनुपर्ने देखिएको छ । साथै, विश्वविद्यालयले पनि अध्ययन, अध्यापनका साथै अनुसन्धानमा समेत जोड दिनुपर्ने देखिन्छ ।

विश्वग्रामको परिकल्पना गरिएको अहिलेको युगमा अध्ययन, खोज र अनुसन्धानले नै समस्याको उठान, पहिचान र सुझाव पेश गर्न सक्छ । नेपालको शिक्षा बजारलाई अन्तर्राष्ट्रियकरण गर्न सके देशको आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र बौद्धिक क्षेत्रमा आत्मनिर्भरताको विकास हुन सक्छ ।

यहाँ आत्मनिर्भर भन्नाले सबै वस्तु आफैं उत्पादन र आफैं उपभोग गर्ने भन्ने होइन । र, यसरी आत्मनिर्भर बनिने पनि होइन । कहिले आफूले उत्पादन गरेको वस्तु बढी भयो भने के गर्ने भन्ने समस्या समेत निम्त्याउँछ । त्यसका लागि अन्तर्राष्ट्रिय बजारमा जानुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारमा विनिमयको एउटा नियम छ, कोही हामीले उत्पादन गरेको वस्तु आयात गर्न तब मात्र चाहन्छ, जब हामी उसले उत्पादन गरेको वस्तु खरिद गर्छौं । तर हाम्रो देशले त्यो नियमको पालना गर्न सकेको छैन । हामी आयात मात्र गर्छौं, निर्यात गर्न सकेका छैनौं । यसले शिक्षा लगायत सबै क्षेत्रमा परनिर्भरता थपिदिएको छ ।

हामी श्रमिकको रूपमा बौद्धिकता पनि बेचिरहेका छौं । अमेरिकालगायतका युरोपियन देशहरूले पीआर र डीभीका नाममा हाम्रा देशका शिक्षित युवाहरूलाई आयात गरिरहेको छ । राम्रो आम्दानी दिने नाममा उनीहरूको श्रमसँगै बुद्धिको समेत प्रयोग भैरहेको छ । यदि त्यसलाई रोक्न सक्यौं, उनीहरूको बल र बुद्धिको प्रयोग गर्न सक्यौं भने हाम्रो शिक्षा क्षेत्र मात्र नभएर अर्थतन्त्रलाई समेत सुदृढीकरणतर्फ लैजान सकिन्छ ।

विज्ञान अनुसन्धान केन्द्र स्थापना गरेर नेपालका पुराना औषधि पद्धतिका बारेमा अध्ययन गर्न सकिन्छ । यसैगरी, शिक्षा सेवा क्षेत्रलाई पनि अन्तरनिर्भरताको स्रोत बनाउन सकिन्छ

अर्काे कुरा हामी श्रम बेच्ने प्रमुख राष्ट्रमा पर्छाैं चाहे त्यो बौद्धिक होस् या शारीरिक । अर्थतन्त्र र समाज विकासका लागि चाहिने खम्बा नै हामी बेचिरहेका छौं । हाम्रो शैक्षिक क्षेत्र खस्कँदो छ । तर, हामी विश्वका प्रमुख विश्वविद्यालयमा नेपाली पुगेका छन् भनेर गर्व गर्छाैं, हाम्रो देशले तिनीहरूबाट के पायो भनेर उत्तर खोज्दैनौं । तिनीहरूलाई स्वदेश फर्काउने कोशिश गरिंदैन । त्यस्तै, हाम्रा उर्बर फाँट सुकेका छन् । तर, हाम्रा युवाहरू खाडी मुलुकका मरुभूमिमा हरियाली जगाइरहेका छन् ।

देश विकास गर्न र स्वावलम्बी बन्नका लागि हाम्रो देशमा प्रशस्त स्रोतसाधन र आधार छन् । तर, ती आधारहरू पहिल्याउनका लागि अनुसन्धान र खोज गरी त्यसको रणनीति बनाउन सकिएको छैन । यसका लागि सबैभन्दा पहिले शिक्षा पद्धतिलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु अति आवश्यक छ ।

नेपाल एक भूपरिवेष्टित देश भए पनि प्रकृतिले सुन्दर र धनी छ । सातवटै प्रदेशका आ-आफ्ना विशेषता छन्, स्रोत र साधनहरू छन् । त्यसको विशेष सदुपयोग गर्न सके देश विकासका लागि ठूलो भूमिका खेल्न सक्नेछ । देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि प्रदेश सरकारले उद्योग, ऊर्जा, कृषि, खानपान, शिक्षा प्रणाली, स्वास्थ्यलगायतका क्षेत्रहरूमा युवालाई आहृवान गर्न सक्नुपर्छ । यसले देशमा स्वरोजगारीको प्रचुर सम्भावना पहिल्याउने छ ।

विकासको पहिलो ज्योति भनेकै शिक्षा हो । प्रभावकारी शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्छ । त्यसका लागि शिक्षामा ठूलो लगानीको आवश्यकता पर्छ । दक्ष जनशक्ति टिकाउन विभिन्न सेवासुविधा, तालिम जस्ता कुरामा ध्यान दिन जरूरी छ ।

अहिलेसम्म पनि शिक्षा क्षेत्रमा हामी परनिर्भर नै देखिन्छौं । नेपालीका लागि भनेर विभिन्न देशले छात्रवृत्तिको व्यवस्था गरेको छ । कतिपयले पैसा तिरेर पनि पढ्न जाने गरेका छन् । तर, नेपालमा विदेशी विद्यार्थी भित्र्याउने कुनै योजना बनेको छैन । नेपालका विभिन्न जात-जातिमा रहेका विभिन्न पुराना औषधि पद्धतिहरू (ओझा, आन्सी, धामी, कुङशुङ) लाई मर्ज गरेर आधुनिक मेडिकल पद्धतिसँग जोडेर नयाँ ˆयुजन गर्ने हो भने विदेशी विद्यार्थीलाई भित्र्याउन सकिन्छ । यस्ता कैयौं उपाय निकाल्न सकिन्छ ।

सातवटै प्रदेशमा रहेका विश्वविद्यालयहरूले आफ्नो क्षेत्रका विषयवस्तुहरूका बारेमा गहन अध्ययन गर्नका लागि अनुसन्धान केन्द्रको स्थापना गर्न जरूरी छ । उदाहरणका लागि विज्ञान अनुसन्धान केन्द्र स्थापना गरेर नेपालका पुराना औषधि पद्धतिका बारेमा अध्ययन गर्न सकिन्छ । यसैगरी, शिक्षा सेवा क्षेत्रलाई पनि अन्तरनिर्भरताको स्रोत बनाउन सकिन्छ ।

हाम्रो जस्तो भूपरिवेष्टित राष्ट्र रसायन शास्त्र, भूगर्भ शास्त्र र इञ्जिनियरिङ शिक्षाका लागि उपयुक्त क्षेत्र हुन् । नेपालमा यी विषयहरूको प्रयोगात्मक अध्ययन गर्ने क्षेत्रहरू धेरै छन् । यी क्षेत्रमा हामीले शिक्षाको गुणस्तर बढायौं भने विदेशबाट विद्यार्थी आफैं आउँछन् । अध्ययन गर्दै जाने हो भने खेलकुद, स्वास्थ्यलगायत पनि आत्मनिर्भर बन्न सक्ने क्षेत्र हुन् । त्यस्तै, चिकित्सा शिक्षा, जलवायु परिवर्तन शिक्षा, हिमालय शोध शिक्षा, जडीबुटी शिक्षा, सांस्कृतिक शिक्षा जस्ता विषयमा नयाँ शोध र अनुसन्धान गरी अध्यापन गराउने हो भने भारत र चीन मात्र नभएर बाहिरबाट पनि विद्यार्थी नेपाल आउँछन् । शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि र नयाँ विषयहरूको विकास गर्ने हो भने बाहिरका विद्यार्थी नेपाल भित्र्याउन सकिन्छ ।

लाखौंमा बिक्री वितरण हुने यार्सागुम्बा जस्ता कच्चा पदार्थहरूको सदुपयोग कसरी गर्न सकिन्छ भनेर अध्ययन हुनसके आधुनिक मेडिकल पद्धतिसँग जडीबुटी पद्धतिलाई मर्ज गरेर अगाडि बढ्न सकिन्छ । चिसो र गर्मी मौसममा हाम्रा पुर्खाहरूले अपनाइआएका पद्धतिहरू अध्ययन अभावका कारण लोप हुँदै गएका छन् ।

त्यस्तै, जलवायु परिवर्तनको समस्या विश्व जगतमा देखिएको छ । नेपालले जलवायु परिवर्तन शिक्षालाई विशेष रूपमा विश्वविद्यालयअन्तर्गत राखेर अध्ययन/अध्यापन गराउन सक्यो भने विदेशी विद्यार्थीको लागि आकर्षणको विषय बन्न सक्छ । किनभने जलवायु परिवर्तनको ठूलो असर हिमशृंखलामा देखिएको छ । यसको बारेमा अनुसन्धान गर्नका लागि नेपाल उपयुक्त हुन्छ ।

यसरी शिक्षा क्षेत्र विकासका लागि सुझाव र अध्ययनको आवश्यकता अपरिहार्य छ । पहिले सुझाव माग्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने व्यवस्था भयो भने धेरै सुझाव आउन सक्नेछन् । विश्वबजार नै नयाँ तथ्यहरूको खोजीमा रहेका बेला हामीले पनि नयाँ विचारहरू सिर्जना गर्न अति जरूरी छ । अमेरिकाले राष्ट्रिय झण्डाका लागि विद्यालय तहका विद्यार्थीलाई छनोट गरेको थियो । हामीले पनि यो प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

अनुसन्धान गर्नका लागि विश्वविद्यालयका विद्यार्थी उपयुक्त पात्र हुन् । त्यसका लागि फेलोशिपको व्यवस्था गर्न जरूरी छ । यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्छ । साथै, यसले शिक्षा नीतिलाई मजबूत बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?