+
+

बलियो आन्तरिक लोकतन्त्रका लागि ‘प्राइमरी’ चुनाव

लोकतन्त्रको आधारभूत मान्यताले भन्छ- कुनै पनि शक्तिको स्रोत सबैभन्दा तल्लो तहमा निहित रहन्छ र त्यो तल्लो तहको निहित शक्तिलाई थप बलियो बनाउने कुरा सही अर्थमा लोकतन्त्र हो। दलहरूको आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्रै त्यसले बाह्य लोकतन्त्रलाई थप जीवन्त राख्न मद्दत गर्दछ।

सरोज गौतम सरोज गौतम
२०७८ माघ २५ गते ८:५०

सन् १९६० मा ४३ वर्षीय जोन एफ केनेडी जब राष्ट्रपति पदको लागि उम्मेदवार हुने निष्कर्षमा पुगे, धेरै ‘वरिष्ठ’ डेमोक्रेटहरूले केनेडी अझै युवा र कम अनुभवी भएकोले राष्ट्रपति बन्न नहुने राय राखेका थिए। यस्तो राय राख्नेमा पूर्व अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानदेखि पुराना डेमोक्रेटिक सिनेटरहरू थिए। पार्टीका धेरै संस्थापन र सिनियर नेताहरूको छनोट र ‘इन्डोर्समेन्ट’ पूर्व राष्ट्रपति लिन्डन बी जोनसन, पूर्व उपराष्ट्रपति समेत रहिसकेका हबर्ट हम्फेरी जस्ता भेट्रान उम्मेदवारलाई थियो।

पार्टी संस्थापनले नचाहँदा नचाहँदै जोन एफ केनेडी उम्मेदवार मात्र भएनन् उनले डेमोक्रेटिक प्राइमरी जिते। उनी उक्त पार्टीबाट राष्ट्रपतिको उम्मेदवार मात्र भएनन्, पहिलो युवा निर्वाचित राष्ट्रपति समेत बन्न पुगे।

राजनीतिक दलहरू, लोकतान्त्रिक व्यवस्था र आवधिक निर्वाचन भएर मात्रै कुनै पनि देशमा लोकतन्त्र बलियो हुन सक्दैन। लोकतन्त्रको आधारभूत मान्यताले भन्छ- कुनै पनि शक्तिको स्रोत सबैभन्दा तल्लो तहमा निहित रहन्छ र त्यो तल्लो तहको निहित शक्तिलाई थप बलियो बनाउने कुरा सही अर्थमा लोकतन्त्र हो। कुनै पनि लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको आन्तरिक लोकतन्त्र बलियो हुनु त्यसको आधारभूत पूर्वशर्त हो।

दलहरूको आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्रै त्यसले बाह्य लोकतन्त्रलाई थप जीवन्त राख्न मद्दत गर्दछ। त्यसको लागि लोकतन्त्रको सही ढंगको विकास अत्यावश्यक हुन्छ। यो भनेको लोकतान्त्रिक आचरण, नीति र विधिको सर्वोच्चता हो।

लोकतन्त्र तब मात्र जीवन्त रहन्छ जब यसले आधारभूत तहमा रहेको ठूलो समूहलाई प्रभावकारी तरिकाले सङ्गठित र सहभागी गराउँदछ। यदि राजनीतिक दलहरूलाई राज्य सञ्चालन र लोकतन्त्रको एक आधारभूत साधन मान्ने हो भने लोकतन्त्रलाई थप बलियो बनाउन पार्टीको आन्तरिक लोकतन्त्रीकरण त्यसको अनिवार्य शर्त हो।

कुनै पनि दलको लोकतन्त्रको आधारभूत आचरण उसले आम चुनावमा सहभागी हुने कुराले मात्र निर्धारण गर्दैन। त्यो त एक न्यूनतम शर्त मात्र हो। कुनै दलको आन्तरिक लोकतन्त्र त्यहाँभित्रको लोकतन्त्रको अभ्यास कसरी संगठित गरिएको भन्ने कुरामा भर पर्छ। दलको आर्थिक जीवन कसरी सञ्चालित भएको छ, दलबाट सार्वजनिक पदमा प्रतिनिधित्व गर्ने व्यक्तिको चयनमा कुन विधि अपनाइएको छ र दलले कसरी आम सदस्य र शुभेच्छुकहरूको मतलाई आफ्नो राजनीतिक प्रक्रियामा सहभागी गराउँछ भन्ने विषयले पनि आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँछ भन्ने कुरा निर्क्योल गर्छ।

प्राइमरी निर्वाचन के हो ?

प्राइमरी निर्वाचन भनेको कुनै पनि आम निर्वाचनमा राजनीतिक दल र यसका प्रतिनिधि सहभागी हुनु अगावै दलहरूले आफ्नो तर्फबाट सार्वजनिक पदमा सहभागी उम्मेदवार चयन गर्दा लोकतान्त्रिक पद्धतिको अधिकतम प्रयोग गरेर छनोट गर्नु हो। यसले पार्टी सत्तामा रहेर राजनीतिक दलबाट उठ्ने उम्मेदवार तय गर्ने अधिकार राख्ने राजनीतिक पार्टीका अभिजातहरूको अधिकार कटौती गर्दै पार्टीका आम तहका सदस्यहरूमा उक्त अधिकार प्रत्यायोजन गर्छ।

संसारभरि बलियो लोकतन्त्रमा देशको कानूनमै अनिवार्य हिसाबले दलहरूले प्राइमरी चुनाव गर्नुपर्ने कानुनी बाध्यता रहेको हुन्छ। कतिपय देशहरूमा राजनीतिक दलहरूले बदलिंदो समयमा आफूलाई मतदाता र शुभेच्छुकको तहमा जीवन्त राख्नको लागि त्यो अधिकारलाई विकेन्द्रीकरण गर्दछन्।

प्राइमरी एक हिसाबले पार्टी नेताको अधिकार पार्टी सदस्य/शुभेच्छुकहरूमा विकेन्द्रीकरण गर्ने प्रक्रिया हो। यस्तो अभ्यासमा राजनीतिक पार्टीहरूबाट केन्द्रीय/संघीय संसद, प्रान्तीय/प्रादेशिक संसद या स्थानीय निकायको कुनै पनि सार्वजनिक पदमा उठ्ने उम्मेदवारलाई पार्टीको आन्तरिक निर्वाचनबाट अनिवार्य छनोट भएको सुनिश्चित गरिनुपर्छ। संसारभर यसका विभिन्न मोडेलहरू प्रयोगमा छन्।

प्राइमरीको सुरुवात र प्रकार

प्राइमरीको  सुरुवात सन् १८४२ मा पेन्सनभेलियामा भएको थियो। सन् १९०० तिर भएको प्रगतिशील सुधार आन्दोलन (प्रोग्रेसिभ रिफर्म मुभमेन्ट) ले यसलाई थप संस्थागत र संगठित बनाउन सहयोग पुर्‍याएको देखिन्छ। अमेरिकामा राज्यले सन् १९२० मा कानुनी हिसाबले नै प्राथमिक निर्वाचन न्यू ह्याम्पशायरमा अपनाएको देखिन्छ। पछि अन्य अमेरिकी राज्यहरूमा विस्तार भएको यो अभ्यास ल्याटिन अमेरिका र युरोपका विभिन्न देशहरूमा विस्तार भयो। यसरी यसलाई संगठित र संस्थागत हिसाबले अपनाउन थालिएको इतिहास पाइन्छ। अलिक पहिलेदेखि सुरु भए पनि अमेरिकामा यसको व्यापक प्रयोग सन् १९६० पछाडि बढ्दै गयो। मूलतः संसारभरि तीन खाले प्राइमरी इलेक्सनहरू अभ्यासमा रहेका पाइन्छन्।

ओपन प्राइमरी

ओपन प्राइमरी निर्वाचनमा आधारभूत तहदेखि नै आन्तरिक लोकतन्त्रको अभ्यास गरिन्छ। यो यस्तो आन्तरिक निर्वाचन हो जहाँ पार्टीबाट को उम्मेदवार बन्ने भन्ने विषयको तय आन्तरिक निर्वाचनमार्फत पार्टी सदस्य र शुभेच्छुकहरूले मात्र गर्न सक्दैनन्। उक्त उम्मेदवार रहेको क्षेत्रका पार्टी सदस्य बाहिरका सबै मतदाताले आवश्यक ठानेमा यो प्रक्रियामा सहभागी हुनसक्ने अधिकार सुनिश्चित हुन्छ।

सेमी-ओपेन प्राइमरी

सेमी-ओपेन प्राइमरी यस्तो आन्तरिक निर्वाचन हो जहाँ कुनै पनि पार्टीबाट उम्मेदवार बन्ने तथा उम्मेदवारलाई मतदान गर्ने अधिकार पार्टी सदस्य र रजिस्टर्ड शुभेच्छुकहरूलाई मात्र प्राप्त हुन्छ।

क्लोज्ड प्राइमरी

केवल शुल्क बुझाएका निश्चित पार्टी सदस्यहरूले मात्र भोट दिन मिल्ने गरी यस्तो निर्वाचन डिजाइन गरिएको हुन्छ।

प्राइमरीको अन्तर्राष्ट्रिय अनुभव

सरकार बनाउने पोजिसनमा रहेको भारतको आम आदमी पार्टीले केही दिन अगाडि पञ्जाब प्रान्तको लागि मुख्यमन्त्रीको चेहरा सार्वजनिक गर्‍यो। त्यो चेहरा चयन गर्न ह्वाट्सएपमार्फत करिब २२ लाख जनताबाट एसएमएसको प्रयोग गर्‍यो। त्यहाँका नागरिकले मुख्यमन्त्रीको रूपमा आम आदमी पार्टीको कुन उम्मेदवारलाई देख्न चाहेका छन् भन्ने प्रश्नमा सर्वेक्षण गराइयो। उक्त सर्वेक्षणमा ९३ प्रतिशत सहभागीले भगवन्त सिंहलाई मुख्यमन्त्रीको उम्मेदवारको रूपमा देख्न चाहेको मत व्यक्त गरे। त्यो मत आएको केही दिनमै आम आदमी पार्टीले भगवन्त सिंहलाई मुख्यमन्त्रीको उम्मेदवारको रूपमा उभ्यायो। यद्यपि स्वयम् आम आदमी पार्टीको यो पहिलो पहल थियो। औपचारिक हिसाबले यस्तो अभ्यासलाई अझै आफ्नो पार्टीभित्र संस्थागत गरिसकेको छैन।

प्राइमरी चुनाव अहिले केवल अमेरिका या केही देशका केही राजनीतिक दलहरूले मात्र प्रयोग गर्ने अभ्यासको रूपमा सीमित छैन। अहिले धेरै देशका लोकतान्त्रिक पार्टीहरूले आफ्ना उम्मेदवार छनोट गर्दा प्राइमरीको अनिवार्य प्रयोग गर्छन्। जस्तै, बेल्जियमका सबै पार्टीहरूले प्राइमरी इलेक्सन गरेर उम्मेदवारको टुङ्गो लगाउँदछन्। यस्तै आइसल्यान्ड, डेनमार्क, फिनल्यान्ड देशका सबै राजनीतिक पार्टीहरूले प्राइमरीबाटै आफ्ना संसद्को छनोट गर्दछन्। यो बाहेक जर्मनीका ग्रिन र डी लिङ्के, इजरायलका लेबर र नेसनल लिबरल मुभमेन्ट पार्टी, घानाका न्यू प्याट्रीओटिक पार्टी, नेशनल डेमोक्रेटिक कङ्ग्रेस, इटालीको डेमोक्रेटिक पार्टी, लेफ्ट इकोलोजी फ्रिडम, फाइभ स्टार मुभमेन्ट पार्टी र युकेको कन्जरभेटिभ पार्टीले समेत आफ्नो पार्टीबाट छनोट हुने संसदले प्राइमरीको ढोकाबाट छिर्नैपर्छ।

यस्तै संसदीय मोडेल भन्दा फरक मोडेल अपनाएका धेरै मुलुकले प्रान्त र संघीय सबै तहमा हुने प्रमुख कार्यकारीको छनोटमा प्राइमरी निर्वाचन अनिवार्य गरेका छन्। अर्जेन्टिनाका रिपब्लिकन प्रपोजल पार्टी र फ्रन्ट फर भिक्ट्री, चिलीका सबै पार्टीहरू, कोलम्बियाका मुख्य पार्टीहरू, फिनल्यान्डका सबै राजनीतिक दल, उरुग्वेका सबै राजनीतिक दलहरू, फ्रान्सको सोसिसल्ट पार्टी, फ्रेञ्च कम्युनिस्ट पार्टी, ग्रिन पार्टी, स्पेनको स्पेनिस सोसिसल्ट वर्कर पार्टी, युनियन प्रोग्रेसिभ एण्ड डेमोक्रेटिक पार्टी, ताइवानका कुमोंतिंग पार्टी र डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले अनिवार्य रूपमा पार्टीको प्राइमरी निर्वाचन गराउने गरेका छन्।

ल्याटिन अमेरिका, युरोप र एशियाका केही देशमा यस्तो अभ्यास हुने गरेको छ र विभिन्न अध्ययन अनुसार यो अन्य नयाँ तथा बलियो लोकतन्त्र अपनाउने सबै देशहरूमा फैलिंदो छ।

प्राइमरीको प्रभाव

प्राइमरी चुनावको मुख्य काम आन्तरिक लोकतन्त्रको विकास तथा लोकतन्त्रको विस्तारीकरण नै हो। पार्टीप्रतिको अपनत्व ठूलो घेरामा नपुर्‍याउने हो भने संरचना केही सीमित व्यक्तिको हातमा खुम्चन्छ। यसले आम जनमानसमा पार्टी अभिजात वर्गको हातमा पुग्यो र यसले नागरिकको कुरा सुन्दैन भन्ने सन्देश प्रभाव हुन्छ। प्रतिफलमा पार्टीविरोधी मनोविज्ञान बलियो हुन्छ। दक्षिण एशियाली देशहरूमा बढ्दै गएको पार्टी विरोधी मनोविज्ञानको एउटा मुख्य कारण पार्टीको आन्तरिक लोकतन्त्र ठिक ढंगले विकास हुन नसक्नु हो। यी सबै कुरा लोकतन्त्रको लागि समेत खतराको संकेत हो।

पार्टीले आफ्ना शुभेच्छुक तथा सदस्यको तहमा पार्टीप्रतिको अपनत्व विस्तार गर्न प्राइमरीको अभ्यास अपरिहार्य जस्तै हुन्छ। लोकतन्त्रको सुरुवात नै विभिन्न हिसाबले केन्द्रीकृत व्यक्ति या समूहमा रहेको सर्वाधिकरलाई आम जनताको तहमा विकेन्द्रित गर्ने लक्ष्यका साथ भएको हो। त्यो लक्ष्यलाई आत्मसातीकरण गर्नको निम्ति पार्टीका केही सीमित नेताहरूमा प्रत्यायोजन गरिएको राजनीतिक शक्तिलाई आम सदस्य र शुभेच्छुकहरू माझ पुर्‍याउन जरुरी छ।

पार्टीमा हरेक सदस्यको विवेकपूर्ण निर्णय, हस्तक्षेप र अपनत्वले मात्र कुनै पनि राजनीतिक दलहरूलाई लोकतान्त्रिक बनाइरहन सम्भव रहन्छ। निहित स्वार्थको गोलचक्करबाट राजनीतिक दलहरूलाई मुक्त गर्न पनि आन्तरिक लोकतन्त्रको विकास गरिरहनुपर्छ। त्यसको लागि प्राइमरीको अभ्यासले धेरै प्रभावकारी भूमिका खेल्न सक्छ। केही सीमित व्यक्तिलाई प्रभावमा पारेर राजनीतिक निर्णय आफ्नो अनुकूल बनाउन चाहने समूहलाई यस्तो खालको व्यवस्थाले निरुत्साहित बनाउँछ साथै यसले पार्टीको आन्तरिक लोकतन्त्रमा निरन्तर विकास गर्दै लोकतन्त्रलाई थप विस्तार गर्न भूमिका खेल्दछ।

प्राइमर इलेक्सनले पार्टीमा सदस्यहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्दछ। सामान्य सदस्यहरूको हातमा शक्तिको विकेन्द्रीकरण हुन्छ। यसले लोकतान्त्रिक वैधतालाई मात्र कायम गर्दै, पार्टीको आन्तरिक सहभागितालाई थप सशक्त बनाउँदै लैजान्छ। यसले पार्टीहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्दछ। कुनै पनि राजनीतिक दल त्यसका सदस्यहरूको उत्साह र उच्च मनोबल विना सञ्चालन हुन सक्दैन। प्राइमरीले पार्टीभित्रको बहस र उन्नयन प्रभावकारी बनाउँछ। सांगठनिक मोडेललाई जीवन्त राख्दै आन्तरिक जनपरिचालनको क्षमतालाई सुदृढीकरण गर्न सक्छ।

प्राइमरीको अर्को फाइदा हो-  चुनाव जित्न सक्ने, लोकप्रिय र जनतातिर फर्किएको नेतृत्वको छनोट। राजनीति शक्तिको केन्द्र हो। शक्तिको अभ्यासले समाजका विभिन्न तप्कामा विभिन्न खालको सकारात्मक/नकारात्मक प्रभाव पारिरहन्छ। त्यस्तो प्रभाव पार्ने ठाउँमा पुग्न सक्ने व्यक्ति तिनै हुन्छन् जसले त्यो सार्वजनिक पदको सही अर्थमा योग्यता राख्दछन्। पार्टीका सीमित नेताले उम्मेदवार छनोट गर्दा विभिन्न स्वार्थ र लोभमा परी काम गरेको उदाहरण हाम्रै देशमा समेत देखिन्छ। यदि सही हिसाबले उम्मेदवार छनोट हुन मिल्ने प्रणाली संस्थागत गर्न सकियो भने त्यसले आम चुनाव जित्न सक्ने उम्मेदवार छनोट गर्न सहज बनाउँछ। प्राइमरी चुनावलाई अनिवार्य गर्न सकियो भने पार्टीले कस्ता कस्ता उम्मेदवार तय गर्ने भन्ने अधिकार केही सीमित नेता, गुट या गिरोहको हातबाट पार्टीका सदस्य/शुभेच्छुकको निर्णयमा भरपर्छ। त्यसले आम चुनाव जित्न सक्ने उम्मेदवार छनोटमा सहज पुर्‍याउँछ।

कुनै पनि निर्णय लोकतन्त्रमा तब मात्र सही निर्णय हुन्छ जब त्यसले वैधानिक तबरले गरिएको निर्णय हुन्। प्रायःजसो दलहरूले उम्मेदवार छनोट गर्दा आन्तरिक कमिटी या कार्यदल बनाएर गर्छन्। यसले केही सीमित नेताको स्वार्थ या आशीर्वादले मात्र पार्टीको सार्वजनिक पदको उम्मेदवार बन्ने संस्कार बढाउँछ। यदि प्राइमरी चुनावलाई कानुनी/राजनीतिक हिसाबले अनिवार्य गर्ने हो भने त्यसबाट आउने निर्णयमा प्रश्न उठ्ने सम्भावना कम हुन्छ। कुनै पनि वैधानिक मतदान या स्पष्ट पार्टीभित्रको जनादेशबाट प्राप्त निर्णय कम विवादित हुन्छ। त्यस्तो निर्णय ठूलो तप्कालाई स्वीकार्य हुन्छ। तसर्थ, पार्टीको आन्तरिक लोकतन्त्रलाई थप मजबूत बनाउन प्राइमरी चुनावले एउटा राम्रो विकल्पको भूमिका खेल्न सक्छ।

नेपालमा प्राइमरी इलेक्सनको सम्भावना

नेपाली राजनीतिमा लोकतन्त्र प्रवेशको लामो इतिहास छ। यद्यपि बीचबीचमा लोकतन्त्रीकरणको प्रक्रियाले अवरोध व्यहोर्नुपर्‍यो। यस्ता अवरोधले लोकतन्त्र बलियो बन्न सकिरहेको छैन। वर्षौंसम्म अधिवेशन नगरी पार्टीलाई केही नेताको बिर्ताजस्तो बनाइएको छ। निर्णय प्रक्रिया केही नेताको कोठाभन्दा बाहिर आउन सकेको छैन। यसले आन्तरिक लोकतन्त्र जीर्ण अवस्थामा पुगेको छ। भ्रातृ संस्थाहरूको महाधिवेशन प्रक्रिया अवरुद्ध छन्। भएका पनि केवल कर्मकाण्डी मात्र छन्। लोकतान्त्रिक विधि र नीति दुवैको मर्ममाथि प्रहार भइरहेको छ। नेतृत्व हस्तान्तरणको विश्वासिलो विधि विस्थापित गर्दै टिके प्रथा स्थापित भइरहेको छ।

पछिल्लो संविधानमा निर्वाचन ऐनले गरेको बाध्यकारी प्रावधानका कारण मात्र पार्टीहरू समयमै अधिवेशन गर्न बाध्य भएका छन्। तर विभिन्न छिद्रहरू प्रयोग गरेर यसलाई छल्ने अभ्यास पर्याप्त भइरहेका छन्। केही दलले महाधिवेशनमा लोकतन्त्रको सापेक्षित अभ्यास गरे पनि अधिकांश दलमा निर्देशित लोकतन्त्रलाई थप आदर्शीकरण गरिएको छ।

यो पृष्ठभूमिमा प्राइमरी निर्वाचनलाई हरेक पार्टीले जीवनशैलीको रूपमा अनुसरण गर्नुपर्छ। तर त्यस्तो सम्भावना अहिले नै देखिंदैन। नयाँ पुस्ताले यो आवाजलाई चर्को गरी उठाउनुपर्छ। यस विषयमा थप बहस र विमर्श गर्न सकियो भने ऐन कानुनमार्फत नै अनिवार्य प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने विधि अपनाउन सकिन्छ।

लेखकको बारेमा
सरोज गौतम

वैकल्पिक राजनीतिको पैरवीमा सक्रिय युवा पुस्ताका लेखक साझा युवा संगठनका महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?