२५ माघ, काठमाडौं । काठमाडौंको विजयेश्वरी मन्दिरबाट स्वयम्भूतर्फ जाँदा बायाँतर्फ देखिन्छ एउटा झकिझकाउ भोजनालय । भोजनालयको बाहिर विद्यालय वा पुस्तकालयमा जस्तो ज्ञानगुनका कुराहरु लेखिएका छन् । भित्र परिकारसम्बन्धी काम हुन्छ । तर बाहिर न त कतै भोजनालय लेखिएको छ, न त रेस्टुरेन्ट जनाउने अरु कुनै शब्द नै ।
‘सत् साहेब’ लेखिएको यो भोजन गृह आफैंमा एउटा जीवनलाई स्वस्थ बनाउने भोजनको कला सिकाउने विद्यालय हो । समग्रमा भन्दा यो भोजनालयसँगै एउटा कुशल पाठशाला पनि हो, जहाँ प्राकृतिक चिकित्सा अन्तर्गत रहेर शुद्ध भोजनको ज्ञान सिक्न सकिन्छ ।
नजिकै शान्तिको प्रतीक स्वयम्भू छ, जहाँका दुई आँखाले उपया र प्रज्ञा भावलाई संकेत गरिरहेको छ । अर्काेतर्फ सन्त कविरको उपदेश छ । जसले सारा प्राणीको कल्याणका लागि वकालत गरिरहेका छन् । व्यवसायसँगै मानव कल्याणसम्बन्धी गुरु वचनलाई मनमा राखेर करिब चार महिना अघि सुरु भएको थियो, ‘सत् साहेब विशुद्ध शाकाहारी भोजनालय’ ।
…अनि सुरु भयो ‘सत् साहेब’

झण्डै एक वर्षअघिको कुरा हो । राजेन्द्र दास, धर्म दास, रविन दास र हरिकृष्ण दासको नियमित जस्तै कबीर आश्रममा भेट हुन्थ्यो । चारैजना कबीरका अनुयायी हुन् । अहिंसा, मांसाहार गर्नु महापाप, अनुशासन निषेध, गुरु बन्नु अति आवश्यक कुरा हो, व्यभिचार निषेध र छुवाछूत निषेध कबीरको मुख्य ज्ञान वा मुख्य शिक्षा हो । यो शिक्षालाई राम्रोसँग बुझेका उनीहरुले गुरुको मानव कल्याणको योजनालाई सफल बनाउन के गर्न सकिन्छ ? भन्ने बारेमा छलफल गरे । मान्छेको जीवनमा भएको दुःखको कारण के हो ? भन्ने बारेमा पनि छलफल भयो । हामीहरुले खाने अस्वस्थ खाना नै हामीहरुको दुःखको कारण हो भन्नेमा चारैजना सहमत भए । त्यसको लागि केही गर्नुपर्छ भन्नेमा उनीहरूको योजना चलिरहेको थियो ।
एक दिन पशुपति आर्यघाटमा मलामी जाँदा चारैजनाको भेट भयो । पहिले गरिएको छलफलमाथि थप विमर्श भयो । त्यसपछि व्यवसायसँगै मानव सेवाको लागि एउटा विशुद्ध शाकाहारी भोजनालय खोल्ने योजना आर्यघाटमा नै बन्यो । त्यसलाई कार्यान्वयनमा ल्याएर भोजनालय सञ्चालन केवल चार महिनाअघि मात्रै भएको थियो ।
त्यही टोलीमध्येका एक रविन दाससँग १६ वर्षसम्म जापानमा कुक बनेर बसेको अनुभव थियो । उनले भान्साको सबै कामको नेतृत्व गर्न थाले । विदेशीलाई नेपाली उत्पादन बेच्ने व्यवसाय गरेका राजेन्द्रसँग व्यवसायको योजना थियो । सोल्टी होटलमा लामो समयसम्म काम गरेका धर्ममा ग्राहकलाई सेवा दिने तरिकाको बारेमा जानकारी थियो भने आवश्यक सामग्री जोहो गर्नको लागि हरिकृष्णमा बढी दख्खल थियो । सबैजना सबै काममा मिलेर गर्न थाले । व्यवसायको लागि चाहिने सबै विशेषता बोकेका चार जनाको समूह गुरुको आशीर्वाद लिएर फरकखाले व्यवसायमा होमिए ।
एउटा फरक भोजनालय

‘रोगको चिकित्सा गर्न औषधिको प्रयोगभन्दा भोजन र त्यसको पाक वा सेवन विधितिर बढी ध्यान दिनु जरुरी छ । केवल भोजन सुधारबाट मात्र रगत शुद्धीकरण गरेर सम्पूर्ण रोगहरुको जरै निर्मूल गर्न सकिन्छ । ग्राहकले पनि खाना मज्जाले चपाएर खाऔं र पानी नियमले पिएर सरल तरिकाले रोग धपाऔं ।’
प्राकृतिक चिकित्सा
भोजनालय प्रवेश गर्नुपूर्व जोकोही नेपाली पढ्न सक्ने ग्राहकहरुले देखिनेगरी ढोकै छेउमा लेखिएको उपदेश हो यो । भोक मेटाउन आएका ग्राहकहरु त्योसँगै अरु पनि केही उपदेशात्मक वचन पढ्नतिर लाग्छन् । त्यति पढेरभित्र छिर्दैगर्दा त्यहाँको आतिथ्य अन्तको भन्दा अलिक फरक छ । भित्र छिर्नेबित्तिकै चारैजनाको स्वरमा ‘नमस्ते’ शब्दको अभिवादन सुनिन्छ । लाग्छ नयाँ आउने ग्राहकहरु पनि सबै त्यहाँका नियमित ग्राहकहरु हुन् । यहाँको यति मात्रै होइन अरु पनि केही विशेषताहरु छन् । जस्तो ः
–यहाँ छिरेपछि कसैले पनि राजनीतिको कुरा गर्न पाउँदैन ।
–यहाँ जुठो हातले जथाभावी नछुन आग्रह गरिन्छ ।
–यहाँ माछामासु, दही–दूध र त्यसबाट बनेका परिकारहरु खान र लैजान पाइँदैन ।
–यहाँ धुमपान तथा मद्यपान गर्न पाइँदैन ।
के–के पाइन्छ भोजनालयमा ?
‘सत् साहेब’भित्र बाहिरजस्तै अनेकथरी मिष्ठान्न पाइन्छ । तर ती सबै अन्यत्रभन्दा फरक छ । साथमा खानेशैली पनि फरक छ । जस्तो, भोजनालयमा हर्बल चिया, ताजा चुकन्दरको रस, ताजा गार्डेन स्टीउ, ताजा सातु, कोदोको रोटी सेट, ताजा कोदोको दही (खमिर सेट), कोदोको मःम, ताजा काँक्रोको रस, ताजा कुभिण्डोको रस, ताजा सञ्जीवनी, ताजा सञ्जीवनी, ताजा खरबुजाको रसजस्ता खानेकुरा पाइन्छ । त्यस्तै, ताजा मौसमी रस, ताजा सुन्तलाको रस, ताजा फलफूलको सलाद, अमृत भोग, ताजा मिक्स फलफूलको रस, ताजा भुईंकटहरको रस, ताजा गाजरको रस, ताजा मूलको रस, ताजा लौकाको रस, ताजा फर्सीको रस, तरकारी सलाद, सत् साहेब लड्डु भोजनालयमा पाइन्छ ।
कसरी तयार भयो मेनु ?
यहाँ जाडोको सिजनमा धेरै फलफूलका परिकार तयार पारिन्छन् । पाकेको खानेकुरा थोरै मात्रै हुन्छ । यहाँ अहिले १३ प्रकारको जुस र १५ प्रकारको खानाको परिकार बनाउने गरिन्छ । यही २८ प्रकारको परिकार कसरी तयार भयो त ? यसमा आफ्नो स्वास्थ्य मुख्य कारण रहेको राजेन्द्र बताउँछन् ।
राजेन्द्र दास पछिल्लो १६ वर्षदेखि अनेकखाले स्वास्थ्य समस्याबाट ग्रस्त थिए । उनको कपाल कालो हुँदैमा जुँगा सेतो भयो । उनले त्यतिबेलै सोचेका थिए किन कपालभन्दा जुँगा १४ वर्षपछि निस्कन्छ । तर यो पहिले सेतो भएपछि यसमा कुनै न कुनै समस्या छ भन्ने भएर उनी सन् २०१८ देखि प्राकृतिक चिकित्सातिर लागे । पछिल्लो चार वर्ष प्राकृतिक चिकित्साको हिसाबले खानपानमा ध्यान दिएपछि उनको स्वास्थ्यमा ठूलो परिवर्तन देखियो । आफैंले प्रयोग गरेको प्राकृतिक चिकित्सालाई त्यसपछि उनले भोजनालयको मेनुमा राखे ।
राजेन्द्र भन्छन्, ‘हामीकहाँ धेरै काँचो खानेकुरा पाइन्छ । त्यसको पनि छुट्टै कारण छ । हामी फलफूल कहिल्यै पनि पकाएर खाँदैनौं । हामीले पशुबाट पनि केही सिक्यौं । उनीहरु सबै खानेकुरा काँचो खान्छन्, तर झन् बलियो हुन्छन् । त्यसैले शतप्रतिशत पौष्टिक तत्व पाउनको लागि काँचो खानेकुरा खान थाल्नुपर्छ भन्ने लागेर यी मेनुहरु तयार पारेका हौं ।’
उनीहरुले जे बुझे त्यसलाई लेखेर भित्तामा पनि टाँसे । रेस्टुरेन्टमा प्रवेश गर्नुअघि अर्काे ज्ञानबद्र्धक कुरा देख्न पाइन्छ । जसमा लेखिएको छ– ‘हाम्रा आहार र ताजा अमृत रसले हजुरको पेट सफा गरी रोग प्रतिरोधक शक्ति बढाउन मद्दत गर्छ ।’
कस्ता मान्छेले के खान्छन् ?

यहाँ आउने ग्राहकलाई चारैजना मिलेर परिकारसँगै खानपानको सल्लाह पनि दिन्छन् । उनीहरु हरेक छाकमा खाना खानको लागि २० मिनेट लगाउनुपर्छ, खाना धेरै चपाएर खानुपर्छ, खाना खानुअघि पानी पिउनु हुँदैन, खाना खानुअघि काँक्रो, मूला, गाँजर खानुपर्छ जस्ता सुझाव दिने गरिन्छ ।
चार महिनाको समयसम्ममा ‘सत् साहेब’मा भोजन ग्रहण गर्न आउने नियमित ग्राहक पनि बनिसकेका छन् । राजेन्द्रका अनुसार अहिले सामान्यतया २० देखि ६० वर्ष उमेर समूहका मान्छेहरु धेरै आउने गर्छन् ।
धेरैजसोले भोजनालयमा आएर मिक्स मःम र सञ्जीवनी खाने गर्छन् । अहिले एबीसी जुस अर्थात् स्याउ, चुकन्दर र गाँजरबाट बनाएको जुस मन पराउँछन् । अहिले खानामा १३ आइटम र जुसमा १५ वटा आइटम छ ।
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4