+
+
राप्रपाबाट अलग हुने घोषणा :

कमल थापाले रोजे ‘दरबार’सँग टकराव

कमल थापाले ‘निर्मल निवासकै कारण आफूले पार्टी परित्याग गर्नुपर्ने स्थिति पैदा भएको’ भन्दै राजतन्त्रको एजेण्डा छाड्नसक्ने संकेत गरेका छन् । दरबारसँग टक्कर लिँदा जनसमर्थन आउनुका साथै अस्तित्व रक्षाका लागि अरु दलहरुसँग चुनावी गठबन्धन लागि पनि सहज हुने उनको विश्लेषण हुनसक्छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ माघ २५ गते २२:४१

२५ माघ, काठमाडौं । आफू निकट नेताहरुलाई ‘विकल्प खोज्नुपर्ने हुनसक्छ, तयार भएर बस्नुस्’ भनेर गृहजिल्ला मकवानपुर पुगेका कमल थापाले मंगलबार राप्रपासँग ३१ वर्ष लामो सम्बन्ध तोडेको घोषणा गरे । राप्रपाका निवर्तमान अध्यक्ष थापाले भनेका छन्, अत्यन्त भारी मनका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु ।’

निकटवर्तीहरुका अनुसार थापाले राप्रपासँगै सक्रिय राजनीति छाडेका होइनन्, ‘दरबार’सँग टक्करमात्र थालेका हुन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएकै दिन उनले यो बाटो हिँड्ने संकेत गरेका थिए । चुनावी हार स्वीकार गर्दै उनले ११ मंसिरमा ट्विट गरेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् हार्दिक शुभ–कामना ।’

त्यसयता उनले पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेको र आफूलाई षड्यन्त्रपूर्वक हराएको स्थापित गर्ने प्रयास गर्दै आएका छन् । थापाले अध्यक्ष लिङ्देनलाई दुई पटक पत्र लेखेर निर्मल निवासको हस्तक्षेपको छानबिन गर्न आग्रह मात्र गरेनन्, पार्टीमा नरहने सक्ने चेतावनीसमेत दिएका थिए ।

लिङ्देन पक्षका कतिपय नेताहरुका अनुसार चुनाव हारलगत्तै थापाले नयाँ पार्टी बनाउने निर्णय लिइसकेका थिए । तर विगतमा खाएको पार्टी नफुटाउने ‘कसम’का कारण अप्ठ्यारो परेपछि नयाँ पार्टी बनाउने आधार तयार गर्न निर्मल निवासले हस्तक्षेप गर्‍यो भन्ने स्थापित गर्न खोजे । त्यसलाई बुझेका लिङ्देनले शनिबार थापालाई उनकै घरमा पुगेर भेटेर उनले उठाएका मुद्दाबारे छलफल गर्न बिहीबारका लागि पदाधिकारी बैठक राखेको जानकारी गराए ।

राप्रपाको अध्यक्षमा पराजित भए पनि कमल थापालाई राजनीति सकियो भन्ने लागेको छैन । ६६ वर्षका उनलाई अझै ८/१० वर्ष सक्रिय राजनीति गर्न सक्छु भन्ने विश्वास छ । तर राप्रपाको पूर्व अध्यक्षका रुपमा मात्र राजनीतिलाई जीवन्त बनाउन सहज छैन ।

तर थापाले मंगलबार नै राप्रपा परित्याग गरेको घोषणा गरे । राप्रपाका नेता निरञ्जन थापा भन्छन्, ‘उहाँ (कमल थापा) को माग सम्बोधन गर्न आजै पदाधिकारीहरुको छलफल चलिरहेको थियो । एक्कासी उहाँले पार्टी परित्याग गरेको घोषणा आयो ।’ पदाधिकारी बैठकबाट कुनै न कुनै निर्णय आएपछि पार्टी छोड्न गाह्रो हुने भएकाले अगाडि नै घोषणा गरेको हुनसक्ने नेताहरु बताउँछन् ।

अहिलेसम्म दरबारसँग नजिक

राष्ट्रिय छात्र संगठनबाट राजनीति सुरु गरेका थापाको राजनीतिक जीवन सदैव दरबारसँग गाँसिएको छ । पञ्चायतको अन्त्यतिर सञ्चार राज्यमन्त्री भएका उनी बहुदल आएपछि पटकपटक मन्त्री र उपप्रधानमन्त्री भए । २०६२/०६३ को आन्दोलन सफल भएसँगै राजतन्त्र अन्त्य भयो, थापाले राजतन्त्र र हिन्दु राष्ट्रकै एजेण्डा बोकेर राप्रपा नेपाल स्थापना गरे । पूर्वपञ्चहरुको अरु पार्टीलाई पनि मिलाए र राप्रपाको अध्यक्ष बने । राप्रपाका पुराना नेता हरिबहादुर बस्नेत भन्छन्, ‘उहाँ जे जस्तो हुनुहुन्छ, जहाँ पुग्नु भएको छ, सबैमा दरबारसँग नजिकपन थियो ।’

थापा पनि त्यसलाई स्वीकार गर्छन् । योहो टीभीलाई दिएको अन्तर्वार्तामा बताएअनुसार महाधिवेशनअघि ११ कात्तिकमा पनि पूर्वराजा ज्ञानेन्द्रसँग उनको लञ्च मिटिङ भएको थियो । करिव पौने २ घण्टा भएको त्यो छलफलका क्रममा थापा आफैंले ‘सरकारबाट हुकुम हुन्छ भने म छोड्न पनि तयार छु’ भनेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले भने ‘द्‍याट्स नट अ सोलुसन’ अर्थात यो समाधान होइन भनेका थिए । तर महाधिवेशनका क्रममा दरबारले नै एउटा पात्र (लिङ्देन) तयार पारेर आफ्नो राजीनीतिक जीवन समाप्त पार्न खोजेको थापाले आरोप लगाएका छन् ।

राप्रपा महाधिवेशनमा निर्वाचन समितिको संयोजक रहेका बस्नेत भने दरबारले हस्तक्षेप गर्‍यो भनेर पार्टी छाड्ने कमल थापाको निर्णय आफूले बुझ्न नसकेको बताउँछन् । ‘सम्पूर्ण निर्वाचन मैले गराएको हुँ । म पनि पञ्चायतकालमा पटक–पटक मन्त्री भएको मान्छे, यस्तो केही थियो भने मलाई पनि भन्नुपर्ने थियो होला । कमल थापालाई भोट देऊ वा नदेऊ भन्ने आउँथ्यो होला । मलाई त्यस्तो केही आएन,’ उनले भने, ‘मैले त पूर्णतः निष्पक्ष भएर निर्वाचन गराएको छु र कमलजीले पनि दाइ नभएको भए निर्वाचन हुनसक्ने थिएन भनेर तारिफ गर्नुभयो । त्यहीकारण (पार्टी छाडेको) हो भने मैले बुझ्दिनँ ।’

अब सूर्यबहादुर थापा पथ !

कमल थापालाई नजिकबाट चिन्नेहरुका अनुसार उनी वैचारिक रुपमा तुलसी गिरी र व्यवहारिक राजनीतिमा चाहिँ सूर्यबहादुर थापाबाट निकै प्रभावित छन् ।

सूर्यबहादुर थापाको राजनीतिक जीवन हेर्दा दरबारको विश्वास जितेर पटकपटक (मन्त्रिपरिषद् अध्यक्ष वा प्रधानमन्त्रीका रुपमा) सरकारको नेतृत्व गर्ने अवसरका पाएका उनले तत्कालीन राजासँग संघर्ष गर्दै आफ्नो राजनीति अगाडि बढाएको देखिन्छ । जुन तुलसी गिरीदेखि लोकेन्द्रबहादुर चन्दसम्म कसैले गरेका थिएनन् ।

पञ्चायतको पहिलो मन्त्रिपरिषद् अध्यक्ष भएका थापाले सरकारबाट हटेको केही समयमै पञ्चायतविरुद्ध कालो टीका लगाएका थिए । त्यही कारण उनी जेलसमेत परेका थिए । तर जनमत संग्रहमा फेरि राजाले उनलाई नै प्रधानमन्त्री बनाएका थिए ।

तीन वर्ष सरकार चलाएका उनलाई राजाले ‘धेरै विरोध भयो, सरकार छाड’ भन्दा उनले हाउस फेस गर्ने बताएका थिए । मन्त्रिपरिषद्का १७ जनाले राजीनामा दिए, उनले विश्वासको मत पाएनन्, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । जसरी अहिले कमल थापाले निर्मल निवास भनेका छन्, त्यसरी नै त्यतिबेला सूर्यबहादुर थापाले भूमिगत गिरोह भनेका थिए । त्यसपछि उनले नेपाली कांग्रेसहरुसँग सम्बन्ध सुधार गरे, बहुदल आएपछि पूर्वपञ्चहरुको पार्टीका रुपमा राप्रपा स्थापना भयो ।

केही समयमा फुटेर चन्द र थापाले छुट्टै–छुट्टै पार्टी बनाए । २०४८ को चुनावमा चन्दको पार्टीले तीन (३) र थापाको पार्टीले एक (१) सिट जितेपछि फेरि पार्टी एकता भयो, २०५१ को मध्यावधि चुनावमा राप्रपा २० सिटका साथ तेस्रो दल बन्यो । २०५३ मा सूर्यबहादुर थापा फेरि प्रधानमन्त्री भए ।

१ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सूर्यबहादुर थापाले नारायणहिटी र सिंहदरबारमा द्वैध शासन भयो भनेका थिए । तर लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएपछि उनै सूर्यबहादुर फेरि प्रधानमन्त्री भए । सात महिनामा प्रधानमन्त्रीबाट हटेका उनले ५ दलको आन्दोलनलाई समर्थन मात्र गरेनन्, गणतन्त्रलाई स्वीकार गर्ने पहिलो पूर्व पञ्च नेतासमेत बने । यसरी हेर्दा सूर्यबहादुरले दरबारको विश्वास जित्दा प्रधानमन्त्री भए, सत्ताबाट हट्दा संघर्ष गर्दै आफ्नो राजनीतिलाई अगाडि बढाइरहको देखिन्छ ।

अहिले राप्रपाको अध्यक्षबाट पराजित भएका कमल थापालाई पनि राजनीति सकियो भन्ने लागेको छैन । ६६ वर्षका उनलाई अझै ८/१० वर्ष सक्रिय राजनीति गर्न सक्छु भन्ने विश्वास छ । तर राप्रपाको पूर्व अध्यक्षका रुपमा मात्र राजनीतिलाई जीवन्त बनाउन सहज छैन । किनकि राप्रपाको स्थितिमा आगामी चुनावमा के हुन्छ भन्न मुश्किल छ ।

‘त्यसैले राजतन्त्र नभएपनि दरबारसँग कन्फ्रन्टेसन गर्ने हो भने राजनीतिलाई जीवन्त बनाउन सकिन्छ भन्ने लाग्यो होला,’ कमल थापालाई नजिकबाट चिनेका एक नेताको विश्लेषण छ ।

साथै थापाले आगामी आम चुनावमा व्यवहारिक गठबन्धनको बाटो पनि खोल्न खोजेको हुनसक्ने विश्लेषण छ । किनकि नेपालमा विद्यमान निर्वाचन प्रणालीमा कुनै एउटा दलको बहुमत आउने सम्भावना कम छ भने साना पार्टीहरुलाई त चुनाव जित्नकै लागि पनि गठबन्धन चाहिने अवस्था छ । राजतन्त्रको एजेण्डा बोकेको दलसँग अरु दलले घोषित रुपमा चुनावी गठबन्धन गर्ने सम्भावना कम छ ।

थापाले पनि ‘निर्मल निवासकै कारण आफूले पार्टी परित्याग गर्नुपर्ने स्थिति पैदा भएको’ भन्दै राजतन्त्रको एजेण्डा छाड्नसक्ने संकेत गरेका छन् । दरबारसँग टक्कर लिँदा जनसमर्थन आउनुका साथै अस्तित्व रक्षाका लागि अरु दलहरुसँग चुनावी गठबन्धन लागि पनि सहज हुने थापाको विश्लेषण हुनसक्छ । राप्रपाका पुराना नेता हरिबहादुर बस्नेत भन्छन्, ‘उहाँ (सूर्यबहादुर थापा) लाई राजाको नाम, पञ्चायतको नाम जति पखाल्न खोजेपछि आखिरमा त्यही भनिहाल्छन् भन्थे। कमलजीलाई चाहिँ त्यो नभन्लान् भन्ने के छ र ?’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?