+
+

विस्फाेटक पदार्थ बरामद प्रकरणमा भारतको कोइलाखानीमा कार्यरत नेपाली मजदुर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १४:२०
सशस्त्र प्रहरीले १८ माघमा मेचीनगरमा बरामद गरेको विष्फोटक पदार्थ 

२६ माघ, बिर्तामोड । झापाको बिर्तामोडमा बरामद भएको विस्फाेटक पदार्थ नेपाल भित्र्याएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाको संयुक्त टोलीले म्याग्दीबाट चिरन रोकालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आफूले ल्याएको विस्फाेटक पदार्थ १८ माघमा मेचीनगर नगरपालिका–७, गैरीगाउँमा सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको थाहा पाएपछि रोका भागेर गाउँतिर पुगेका थिए ।

तर उनले विस्फाेटक पदार्थ ल्याएको झोलामा भारतीय शहर सिलगुढीसम्म आएको टिकट भेटिएको थियो । साथै, म्याग्दी गएको टिकट र फोन नम्बर पनि उल्लेख थियो । त्यसैको आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनी गाउँ पुगेको सूचना पाएपछि त्यहाँको स्थानीय प्रहरीको पनि सहयोग लिएर पक्राउ गरेर झापा ल्याएको स्रोतको भनाइ छ ।

आरोपीको बयान – ढुंगाखानीका लागि लगेको थिएँ

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका रोकाले ढुंगाखानीमा प्रयोग गर्नका लागि विस्फाेटक पदार्थ लगेको बयान दिएका छन् । अधिकृतहरुका अनुसार म्याग्दी र बाग्लुङमा घरमा छाउनका लागि तयार गर्ने ढुंगाखानी छन् ।

‘गाउँपालिकाको अनुमति लिएर उत्खनन् गर्ने खानीहरु रहेछन्, त्यसकै लागि उनले अवैध रुपमा विस्फाेटक पदार्थ लगेका रहेछन्,’ ती अधिकृत भन्छन्, ‘नेपालमा पनि नेपाली सेनाले यसका लागि आवश्यक विस्फाेटक पदार्थ उत्पादन गर्छ, तर पर्याप्त नपाइने हुँदा भारतबाट अवैध रुपमा ल्याइने गरिएको छ ।’

झापामा ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहले दुई वटा शंकास्पद वस्तु राखेर स्थानीयलाई त्रसित बनाइरहेका बेला मेचीनगरमा ८० वटा डेटोरनेटर र ‘नेपोलाइट एक्सप्लोसिभ’ लेखिएको विस्फाेटक पदार्थ ९१ वटा बरामद भएको थियो । त्यही आधारमा बरामद विष्फोटक पदार्थ पनि भूमिगत समूहले ल्याएको हुनसक्ने आशंका गरिएको थियो ।

तर प्रहरी अनुसन्धानले बरामद विस्फाेटक पदार्थ भारतको कोइलाखानीमा काम गर्ने मजदूर रोकाले ल्याएको भेटिएको छ । ‘केही कमाइ हुन्छ भनेर ल्याएको देखिएको छ, उनले यसअघि पनि चार पटक यसैगरी विस्फाेटक पदार्थ ल्याइसकेका रहेछन्’ स्रोत भन्छ, ‘पक्राउ पर्न सक्ने डरले स्थानीयलाई सामान कटाउन लगाउँदा रहेछन् ।’

रोकाले एक जना स्थानीयलाई एक हजार रुपैयाँ दिएर सिटी रिक्साको ब्याट्री भन्दै विस्फाेटक पदार्थ कटाइदिन भनेका थिए । तर स्थानीयलाई ‘ब्याट्री त्यति हलुका नहुनुपर्ने’ लागेपछि चेन खोलेर हेर्दा तार देखिएको थियो । त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बललाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?