+
+

‘यौनहिंसाले जिउँदै मार्दो रहेछ’

मनभित्र वर्षौं पोख्न नपाएका पीडाहरू छन्, कसैलाई खुलेर बताउन सक्दिनँ । आजसम्म पीडा मनभित्रै लुकाएर बसेकी छु । सम्बन्ध टुट्ने डरले श्रीमान्सँग पनि साट्न सक्दिनँ । छोराछोरीले थाहा पाए घृणा गर्छन् भन्ने डर छ । 

तुलसीपुर–१ (परिवर्तित नाम) तुलसीपुर–१ (परिवर्तित नाम)
२०७८ माघ २८ गते १९:२०

‘म १५ वर्षकी थिएँ होला । गाउँ–गाउँबाट माओवादी सेनामा जाने लहर थियो । मेरै उमेरका धेरै घरबार छोडेर माओवादी लडाइँमा जाने क्रम चलिरहेको थियो । घरमा दाइभाउजूबाट राम्रो व्यवहार थिएन । केटाकेटी उमेर, सोच्न सक्ने बुद्धि कहाँ हुनु ? लहलहमै लागेर माओवादीमा गएँ ।

सुरुमै जनमुक्ति सेनामा परें । २० दिन तालिम हुँदाहुँदै भिडन्तमा परियो । हाम्रो फौज भिडन्तबाट बचेर रुकुम–रोल्पा पुग्यो । त्यसपछिका केही भिडन्तमा पनि सहभागी भएँ । कति बेला आक्रमणमा परिने हो वा मारिने हो पत्तो नहुने । तर संयोगले भनौं बाँचेर आइयो ।

जनमुक्ति सेनामा लागेको केही वर्षपछि म लामो समय बिरामी परें । भिडन्तहरूमा लड्न नसक्ने भएपछि घर फर्किएर आराम गरें । केही महिनापछि निको भएँ । एकदिन गाउँकै एकजना साथीलाई लिएर म बजार गएँ । हामी दिनभर फिल्म हेरेर बेलुका घर फर्कंदै थियौं ।

बजारको पुछारमा प्रहरी चौकी थियो । ऊ त्यहीं बसिरहेको रहेछ । उसले मलाई टाढैबाट देखेपछि चिनिहाल्यो । ऊ भगुवा छापामार थियो । माओवादीमा तालिम लिंदा हामी सँगै थियौं । पछि ऊ भागेर सेना र प्रहरीलाई सूचना दिने जासुसको काम गरिरहेको रहेछ । मलाई देखेपछि ऊ यताउता दौडिए जस्तो गर्यो ।

हामी बजारदेखि निकै तल आइसकेका थियौं । केही व्यक्ति हाम्रो पिछा गर्दै आए । उनीहरू सिभिल ड्रेसमा आएका प्रहरी रहेछन् । थोरै तल पुगेपछि उनीहरूले हामी दुई जनालाई समातेर बाटो छेउको खाली घरमा लगे । अघि मलाई देखेको पनि सँगै आएको रहेछ, उसले नै मलाई माओवादी हो भनेर चिनायो । मेरो साथीलाई छोडिदिए, मलाई आँखामा कालोपट्टी बाँधेर सेनाले गाडीमा हालेर ब्यारेक लग्यो ।

ब्यारेकमा लगेकै दिनबाट ममाथि यातना दिन सुरु भयो । उनीहरूले मलाई भुइँमा पछारे, बुटैबुटले लात्तीले हानेर कहिले यता र कहिले उता लडाउँथे । हामीलाई माओवादी भनेर दिनु यातना दियो । कहिले माओवादी हो भनेर कबुल गर्न भनेर यातना दियो, कहिले किन माओवादीमा गइस् ? भनेर यातना दिन थाल्यो ।

उनीहरू जहाँ पायो त्यहाँ मुक्का र खुट्टाको बुट बजार्थे । कहिले बन्दुकले छाती र यौनांगमा हिर्काउँथे । यातना यति दिइन्थ्यो कि सहनै नसकेर शरीरबाट दिसा, पिसाब आउँथ्यो । त्यही दिसा पिसाब हातैले सोहोर्न लगाउँथे । हात धुन पनि नदिने । दिसा सोहोरेका हातले खान लगाउँथे । कहिले दिनभर कहिले रातभर कुट्थे । जतिबेला मन लाग्छ कुट्थे ।

मैले त्यहाँ शारीरिक यातना मात्रै भोगिनँ, उनीहरूले कति पटक बलात्कार गरे, याद पनि गर्न सक्दिनँ । पहिला पिट्थे अनि बलात्कार गर्थे । धेरै पटक म अर्धचेत अवस्थामा पुगेकी हुन्थें । तर जति रोई–कराई गरे पनि कसैले सुन्ने होइन । अहिले सम्झँदा पनि शरीर सिरिङ्ग हुन्छ । मैले जिउँदै नर्क देखें ।

महिनावारी हुँदा झन् गाह्रो हुन्थ्यो । प्रयोग गर्ने कपडा केही हुन्थेन, लगाएकै कपडामा रगत लाग्थ्यो । त्यही कपडामा दिसा र रगत लागेर साह्रै गन्हाउँथ्यो ।

ब्यारेकमा म जस्तै अरू बन्दी पनि थिए । त्यहाँ मसँगै एक जना भर्खरकी सुत्केरी दिदी थिइन् । उनले सानो बच्चा छ भन्थिन् । ती दिदीले पनि मजस्तै यातना भोगिन् । पछि उनलाई कहाँ लगियो पत्तो भएन । सायद मारियो होला ।

त्यहाँ के–के भोगें, अहिले सबै बयान गर्न सक्दिनँ । तर मैले मान्छेमा पशुको रूप देखें । मान्छेले–मान्छेलाई कसरी पशुजस्तै व्यवहार गर्न सक्ने रहेछ भन्ने भोगें । युद्धले मानिसलाई पशु बनाउने रहेछ ।

ब्यारेकमा कैदी बन्दी भएर बस्दा बाँचेर फर्किन्न होला, यहीं मर्छु जस्तो लागेको थियो । तर म ब्यारेकमा छु भनेर साथीले आमाबुबालाई भनेकी रहिछ । उहाँहरू मलाई भेट्न आउनुभयो । बुबाआमालाई देखेपछि म खूब रोएँ । उहाँहरूले मलाई जसरी पनि छुटाएरै छाड्छु भन्नुभयो । त्यसपछि म बाँचेर फर्कन्छु कि भन्ने आश पलायो । किनभने म बाघको मुखमा पुगेकी थिएँ । त्यहाँ जे पनि हुन सक्थ्यो । ब्यारेकमा लगेपछि बाँचेर फर्किने सम्भावना कम हुन्थ्यो । त्यसमा पनि म त झन् छापामार सेना थिएँ । म त्यहाँ मारिन सक्थें ।

सेनाको ब्यारेकपछि मलाई कारागार सारियो । कारागारमा आएपछि मैले शारीरिक यातनाबाट मुक्ति पाएँ । त्यहाँ एक वर्ष बसेपछि छुटें । म मृत्युको मुखबाट त फर्किएकी थिएँ तर हिरासतमा पाएको यातनाले मेरो मानसिक अवस्था ठीक थिएन । म एकदमै विक्षिप्त थिएँ । ब्यारेकमा पाएको भोगेको यातना सम्झेर हरेक रात ऐठन पथ्र्याे । झस्केर बिउँझन्थें । कैयौं वर्ष मैले यसरी बिताएँ ।

मेरो शरीर सद्दे थिएन । घाउ नै घाउ थिए । शरीर पूरै दुख्थ्यो, जुन अहिले पनि दुख्छ । रिहा भएको केही समयपछि मेरो विवाह भयो । उहाँ पनि मेरै समुदायकै हुनुहुन्छ । श्रीमान्लाई म कारागार बसेको भन्ने थाहा छ तर सेना ब्यारेकमा मैले के–के भोगें भन्ने थाहा छैन ।

सशस्त्र द्वन्द्वकालमा ममाथि भएका हिंसा कसैलाई खुलेर कुरा गर्न सक्दिनँ । न त बिर्सन नै सक्छु । अहिले छोराछोरी हुर्किसके । तर पनि मैले उहाँलाई आफ्नो कुरा भन्न सकेकी छैन । श्रीमान्ले थाहा पाए घर बिग्रन्छ भन्ने सोचेर बस्छु । यही कुरा मनभरि खेल्छ । कहाँ गएर पोखँु, कसलाई सुनाउँ जस्तो लाग्छ, तर भन्न सक्दिनँ । श्रीमान्ले थाहा पाए सम्बन्ध टुट्ने डर छ । सन्तानले थाहा पाए घृणा र अवहेलना गर्छन् कि भन्ने डर लाग्छ ।

मुटुभित्र असंख्य घाउ पालेर बाँचिरहेकी छु । जति बिर्सन खोज्यो, त्यति मनभरि पीडा बल्झिरहन्छ । कहिलेकाहीं निद्रा नलाग्ने, रिंगटा लाग्ने, छटपटी हुन्छ । दिनभर टाउको दुख्छ । पाठेघरमा पनि समस्या छ । बाहिर हेर्दा ठिकठाक छु तर भित्रभित्रबाटै त्यति नै कमजोर छु । मनभित्र देखाउनै नसकिने घाउहरू छन् । यो व्यथा कहाँ लगेर पोख्नु ?

हिजो यत्रो लडाइँ भयो । बदलामा हामीले जीवनभर कहिल्यै नबिर्सने घाउ पायौं । पटक–पटक बाँचेर पनि मरेझैं भएको छ । तर सरकारले हामीलाई द्वन्द्वपीडित भनेर स्वीकार गरेको छैन । युद्धमा मर्ने, बेपत्ता पार्नेलाई मात्र सरकारले द्वन्द्वपीडित भन्यो । राहत, क्षतिपूर्ति दियो । हाम्रो हकमा त्यो केही भएन । पीडा सिवाय हामीले केही पाएनौं । यो सम्झेर झन् धेरै पीडा हुन्छ ।

राज्यसँग धेरै अपेक्षा छैन । हामीले जुन पीडा पायौं, त्यसको बदलामा हामीलाई क्षतिपूर्ति दिइयोस् । र हामीलाई अरू द्वन्द्वपीडित जस्तै सम्मानका साथ बाँच्न दिनुपर्छ । हामीले पाएको पीडा र बलिदानको मूल्यांकन गरिनुपर्छ । इतिहासमा हामीले पाएको चोट र बलिदानीबारे लेखिनुपर्छ । भोलि पढ्नेले पनि थाहा पाउन् कि युद्धमा महिलाले कतिसम्म यातना भोगेका थिए भनेर ।

क्षतिपूर्ति हाम्रो पहिलो माग हो । दोस्रो माग हामीमाथि अपराध गर्ने दोषीमाथि कारबाही हुनुपर्छ, तब मात्रै हामीले न्याय पाएको अनुभूति गर्छाैं । अनि मात्र मुलुकमा शान्ति फर्किएको आभास हुनेछ ।

(सैनिक हिरासतमा यौनहिंसा भोगेकी तुलसीपुर–१ (परिवर्तित नाम) सँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?