+
+

देउवाको संकट : एमसीसी संसदमा लैजानु छ, गठबन्धन जोगाउनु छ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते २३:२६

२९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्न चाहन्छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीसहित पाँच दलको सत्तारुढ गठबन्धन पनि टुटाउन चाहँदैनन् । नेताहरुका अनुसार शनिबार साँझम्म एमसीसी टेबल गर्ने र गठबन्धन पनि जोगाउने सुत्र भेटेका छैनन् ।

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि अमेरिकाले २८ फेब्रुअरी अर्थात १६ फागुनसम्म समय दिएको छ । बिहीबार मात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर २८ फेब्रअरीसम्म एमसीसीबारे निर्णय दिन आग्रह मात्र गरेनन्, एमसीसी फिर्ता भए चिनियाँ हस्तक्षेपका कारण आफ्नो सहयोग पनि लिएन भनेर ठान्ने चेतावनी दिए ।

यसले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा चर्कै दबावमा परेका छन् । तर एमसीसी अघि बढाउन सत्तारुढ गठबन्धनका नेताहरुलाई मनाउन सकेको छैनन् । शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर एमसीसी संसदमा टेबल गर्न सहमति मागेका थिए । दुबै नेताले अस्वीकार गरे ।

प्रधानमन्त्री देउवाले भनेका थिए, ‘बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस्, उपस्थित भए के गर्ने आफैं निर्णय लिनुस् । तर संसदमा टेबुल गर्नुपर्‍यो ।’

एमसीसी संसदमा टेबल भइसकेपछि पास–फेलको प्रक्रियामा लैजाने विषयमा संयुक्त वा स्वतन्त्र ढंगले निर्णय गर्नसक्ने र गठबन्धन कायमै राख्ने उनको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘यही कारण गठबन्धन टुट्दैन, म प्रतिवद्ध छु ।’

तर प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न समेत तयार भएनन् । यदि सरकारले आफूहरुको सहमति विना एमसीसी संसदमा अगाडि बढाए सरकारमा बस्न नसक्ने दुबै दलको अडान छ । ‘तपाईंले विपक्षीसँग कुरा गरेर एमसीसीलाई चुनाव पछाडि लैजाने वातावरण बनाउनेतिर ध्यान दिनु उपयुक्त देख्छु भनेको छु’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले बताए ।

एकीकृृत समाजवादीका अध्यक्ष नेपालले जबर्जस्ती एमसीसी टेबुल गर्न खोजे ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय निर्वाचनको वातावरण बिथोलिने बताए । ‘जबर्जस्ती एमसीसी अगाडि बढाउँदा चुनावी वातावरण बिथोलिन्छ । तोकिएको मितिमा चुनाव नहुन सक्छ । यसका लागि तपाईं तयार हुनुहुन्छ ?’ प्रधानमन्त्री देउवालाई माधव नेपालले सोधेका थिए ।

प्रधानमन्त्री देउवाले भने आफ्नो मनसाय पाँच दलीय गठबन्धन भत्काउने नभएको बताएका छन् ।

वाम गठबन्धनको डर

कांग्रेसका नेताहरुका अनुसार प्रधानमन्त्री देउवा एमसीसी सम्झौता संसदमा टेबल गरिहाल्नुपर्ने चर्को दबावमा छन् । उनले अमेरिकालाई एमसीसी पास गराउन आफूले असल प्रयत्न गरेको विश्वास दिलाउनुपर्ने अवस्थामा छ । त्यसका लागि उनले गठबन्धन टुटेपनि सम्झौता संसदमा टेबल गर्नुपर्ने हुन्छ ।

तर आफूबाट अलग भएको अवस्थामा प्रचण्डले केपी ओलीसँग गठबन्धन गर्छन् कि भन्ने त्रास छ । ‘केपी ओलीले चाहे वाम गठबन्धनका लागि २५ बाट २६ घण्टा लाग्दैन भनेर एमालेकै नेताहरुले पनि भनेका छन्,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यही कारण प्रधानमन्त्री अहिलेको गठबन्धन पनि टुटाउन चाहनुहुन्न ।’

तर अमेरिकाको दिएको डेडलाइनभित्र उनले एमसीसी पनि टेबल गर्ने र गठबन्धन पनि जोगाउने सुत्र भेट्टाउँछन् भन्नेमा कांग्रेस नेताहरुलाई नै विश्वास छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?