+
+

जाने बेलामा मेयर शाक्यको सक्रियता, शिलान्यासको लहर 

यो वर्ष पुरै बजेट खर्चिने लक्ष्य सहित ४३ करोडको कार्य्रकम संशोधन

माघ महिनामा कोरोना भाइरसको तेस्रो लहरले जनजीवन प्रभावित हुँदा मेयर शाक्यका उद्घाटन र शिलान्यासका तालिका खासै प्रभावित भएनन् । चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारमाथि दबाव बढाएदेखि दौडधुप बढाएका मेयर शाक्य माघ महिनामा पार्कदेखि मन्दिर, गुठीघरदेखि वडा भवन र विहारदेखि आकाशेपुसम्मको शिलान्यासमा पुगे ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ फागुन २ गते २१:५०
मेयर शाक्य माघ महिनामा सहभागी भएका विभिन्न शिलान्यास कार्यक्रम

२ फागुन, काठमाडौं । २८ माघमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य त्रिपुरेश्वरको बस बिसौनी नजिकै बनेको आधुनिक सार्वजनिक शौचालय उद्घाटन गर्न पुगे । उद्घाटनपछि बोल्दै मेयर शाक्यले सहरमा सार्वजनिक शौचालयको धेरै माग हुने तर, आफ्ना घर बस्ती वरपर भने बनाउन नचाहने प्रवृत्ति देखिएको टिप्पणी गरे ।

२०७४ सालमा नेकपा एमालेबाट निर्वाचित भएका मेयर शाक्य हिजोआज सार्वजनिक कार्यक्रममा पुग्दा आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँछन् भने गर्न नसकेका कामबारे यस्तै प्रष्टीकरण दिन्छन् । पाँच वर्षअघिको चुनावी प्रतिवद्धताअनुसार नयाँ सार्वजनिक शौचालय बनाउन नसकेको भन्दै आलोचना गर्नेलाई  शुक्रबार उनले स्थानीयको असहयोगका कारण समस्या भएको जवाफ फर्काएका हुन् ।

करिब साढे ४ वर्षको कार्याकालमा मेयर शाक्यले के गरे र के गरेनन् भन्ने लुकेको विषय रहेन । तर, कार्यकालको अन्तिम वर्ष भने मेयर शाक्यको सक्रियता पहिलेभन्दा बढी देखिएको छ । झन माघ लागेयताको सक्रियताले महानगरपालिकाकै कर्मचारीहरू पनि अच्चम्मित छन् ।

माघ महिनामा कोरोना भाइरसको तेस्रो लहरले जनजीवन प्रभावित हुँदा मेयर शाक्यका उद्घाटन र शिलान्यासका तालिका खासै प्रभावित भएनन् । सरकारले विभिन्न निषेधात्मक व्यवस्थासहित सार्वजनिक कार्यक्रमहरु गर्न कडाइ गरेपनि मेयर शाक्यलाई खासै फुर्सद भएन । मेयर शाक्य माघ महिनामा पार्कदेखि मन्दिर, गुठीघरदेखि वडा भवन र विहारदेखि आकाशेपुसम्मको शिलान्यासमा पुगेका थिए ।

कमलपोखरीमा ९ वटा चैत्यको विधिवत रुपमा प्रतिस्थापन गर्न पुगेका मेयर शाक्य

अर्थविद् नरबहादुर थापा भने चुनाव मेयर शाक्यको सक्रियतालाई सामान्य मान्छन् । ‘चुनाव लागेपछि  मन्त्री, गाउँ तथा नगर प्रमुख सहित जनप्रतिनिधि र नेताहरुको सक्रियता बढ्नु स्वाभाविक हो,’ उनी भन्छन् । चनावकै नाममा भएपनि विकास खर्च बढ्दा अथर्तन्त्रमा टेवा पुग्ने उनको भनाइ छ ।

माघभर शिलान्यासको सिलसिला 

चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारमाथि दबाव बढाएदेखि नै मेयर शाक्यको दौडधुप बढेको महानगरपालिका स्रोत बताउँछ । निर्वाचनको मिति आगामी वैशाख ३० का लागि घोषणा भएपछि त झन् उनको व्यस्तता र सक्रियता साढे ४ वर्ष यताकै उच्च देखिएको छ ।

२७ माघमा मेयर शाक्य काठमाडौं-२१ गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास गर्न पुगे । कार्यक्रममा उनले पार्टीले जिम्मा दिए फेरि महानगरको मेयरमा उठ्न सक्ने संकेत गरे ।

‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । महानगरवासीको चाहना के छ भन्ने त्यो बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो,’ उनले भनेका थिए, ‘होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हाम्रो पार्टीले जित्ने गरेर तयारी अवस्थामा छौं ।’

२६ माघमा मेयर शाक्यले पुनर्निर्माण भइरहेको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत रुपमा प्रतिस्थापन गरेका थिए । उनले १५ दिनभित्रै कमलपोखरीको उद्घाटन हुने बताए । ६ करोड ३६ लाख रुपैयाँको लागतमा बनिरहेको पोखरीमा पार्क निर्माण काम सबै नसकिए पनि केही दिनमा उद्घाटनको तयारी हुँदैछ ।

गत २४ माघमा काठमाडौं महानगरका मेयर शाक्यले इन्द्रायणी गुरुयोजना अन्तर्गत पार्कको शिलान्यास गरेका थिए । त्यहाँ मेयर शाक्यले निर्वाचित भएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध रहेको बताए ।

वडा भवनको शिलान्यास गर्दै मेयर शाक्य

शाक्यले २३ माघमा वडा नं-२७ को वडा भवन शिलान्यास गरे । उनले आफ्नो कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन निर्माण-पुर्ननिर्माण गर्ने प्रतिवद्धता दोहोर्‍याए ।

मेयर शाक्य १७ माघमा त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गर्न पुगेका थिए । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेत सहभागी कार्यक्रममा शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिदबापत लागेको चेक प्रदान गरे ।

शाक्यले १५ माघमा  वडा नम्बर २७ बेखालाछी मार्गमा पिलातुं (त्यः र) शिलान्यास गरेका थिए  मेयर शाक्यले असन कमलाक्षी पिलातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास गरेका थिए । महानगरले १ करोड लागतमा बनाउन लगेको गुठी घरले पर्यटन प्रवर्द्धन गर्ने बताउँदै यसलाई खर्च नभर ‘लगानी’ भन्नुपर्ने बताए ।

माघ १६ अघिको एक साता शहीद सप्ताहको कार्यक्रमहरुका व्यस्त भए पनि ९ माघ, २०७८ मा शाक्यले एकै दिनमा चावहिल चोक र मित्रपार्कमा सार्न मिल्ने खालका दुई आकाशे पुलको शिलान्यास गरेका थिए ।

लामो समयदेखि माग हुँदा पनि चासो नदिएको महानगरपालिकाले चुनावी वर्षमा नै पुल शिलान्यास गरेको हो । शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिएका थिए ।

४ माघमा हारतीमाता (अजिमा द्यः) देवता घरको पुनर्निर्माणको शाक्यले नै शिलान्यास गरेका थिए । काठमाडौं महानगरपालिका वडा नं. २५ श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको शाक्यले शिलान्यास गरेका थिए ।

महानगरको १ करोड रुपैयाँ र उपभोक्ता समितिको ५ लाखको लगानीमा सो भवन बन्ने छ । सो कार्यक्रममा शाक्यले प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुनर्निर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताएका थिए ।

गुठीघरको शिलान्यास गर्दै मेयर शाक्य

३ माघमा वडा १५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गरे । ३ हजार ५ सय वर्गफिट क्षेत्रफलमा साढे ३ तले भवन निर्माण गर्न महानगरले ७६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदैछ ।

४३ करोडको बजेट संशोधन 

चुनावी वर्ष भएकाले महानगरपालिकाले यो वर्ष यस्ता अनुदानको दर विगतको तुलनामा बढाएको छ । विभिन्न समाजिक तथा आर्थिक अनुदान दिन र विकासका कामको गति बढाउन भन्दै पुसको अन्तिम साता मेयर शाक्यले चालु आर्थिक वर्ष २०७८/७९को बजेट संशोधन गराएका थिए ।

३० पुसमा सकिएको नगर सभाको १० औं अधिवेशनले ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गरेको थियो । काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेटको कुल सीमालाई यथावत राखेर बजेट संशोधन गरेको हो ।

यो वर्षमा महानगरको आफ्नै सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब ८ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य कोष (नेपाल सरकार, प्रदेश सरकार र आयोजनाहरु) बाट प्राप्त हुने २ अर्ब ८७ करोड ७ लाख रुपैयाँ सबै खर्च गर्ने महानगरको लक्ष्य छ । नपुग हुने शीर्षक तथा कार्यक्रममा खर्च हुन नसकेर बचत हुने देखिएका शीर्षकबाट घटाएर मिलान गरिएको महानगरपालिकाले जनाएको छ ।

नगर सभाको अधिवेशनमा मेयर शाक्यले, खर्च हुन नसक्ने योजनालाई खर्च गरेर नतिजा दिन सकिने योजनामा परिणत गरिएको बताएका थिए । ‘नयाँ कार्यक्रम स्वीकृत गरिएको होइन । जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, प्राविधिकलगायत कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको माग बमोजिम शीर्षक परिवर्तन गरिएको हो,’ शाक्यले भनेका थिए ।

पटक-पटक आएको कोरोना महामारीका कारण पूर्वाधार निर्माणमा पूर्णक्षमतामा काम गर्न नभ्याएको उनको भनाइ थियो । तर, जीवन रक्षा (मानवीय सहायता) का क्षेत्रमा धेरै काम भएको उनको दावी थियो ।

मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले आफ्नो कार्यकालमा राजनीतिक दल निकटका संघ संगठनलाई मोटो रकम अनुदान पनि दिएका छन् । यस्तै अनुदानलाई नै महानगरले मानवीयता सामाजिक क्षेत्रमा गरेको सहयोगको रुपमा परिभाषित गर्दै आएको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?