
२ फागुन, गलेश्वर । आज फेब्रुअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । भ्यालेन्टाइन डेका नामले चिनिने यस दिनमा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल (प्रणय शिखर)मा मायालु जोडीको भीड लागेको छ ।
सोमबार मौसम पनि खुलेको छ । लभ्लीहिलको उत्तरतर्फ चाँदीझैं सेता हिमश्रृङ्खला मुसुक्क मुस्कुराइरहेजस्ता देखिएका छन् । बेनी बजारलाई फन्को मारेर कालीगण्डकी र म्याग्दी नदी नागबेली हुँदै बगेको दृश्यलाई नियाल्दै प्रणय शिखरको शिरमा ऐतिहासिक ज्यामरुककोटको खड्गभवानी र पुछारमा बेनी बजारको सुन्दरतालाई साक्षी राखेर सुन्दर जोडी माया साटासाट गरिरहेका छन् ।
एउटा हातमा गुलाबको फूल र अर्को हातमा उपहार लिएर प्रणय शिखरमा पुगेका मायालु जोडीमा बिहानैदेखि बेग्लै रौनक र उमङ्ग देखिएको छ । म्याग्दी सदरमुकाम बेनी बजारदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि पुगिने लभ्लीहिल बेनी नगरपालिका-२ मा पर्दछ । लभ्लीहिलमा रेस्टुरेन्ट सञ्चालन गरेका मानकाजी घिमिरेका अनुसार अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ ।
केही दिनयता टाढाटाढाबाट समेत युवायुवती आउन थालेपछि यहाँको रौनक बढेको लभ्लीहिलमा ६ वर्षदेखि खाजा घर सञ्चालन गर्दै आएका चन्द्रबहादुर कार्कीले बताए । ‘अघिपछि खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती आज गुलाबका फूल र अन्य विभिन्न किसिमका उपहार बोकेर आएका छन्,’ स्थानीय नारायण कार्कीले भने, ‘अघिपछिको भन्दा आजको माहोल छुट्टै छ, युवायुवतीको भीडले लभ्लीहिलको रौनक पनि बढेको छ ।’
यहाँ अहिले विभिन्न आधुनिक पोशाकमा सजिएर बाइक, स्कुटीलगायतका सवारी साधनमा युवायुवती आएका छन् । सडकको पहुँच र पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा आउने युवायुवती र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्की बताउँछन् ।
सोमबार बिहान आफ्नी प्रेमिकाका साथमा लभ्लीहिलमा आएका बेनीका एक युवाले आफ्नी प्रेमिकालाई उत्तरतिरको हिमाल देखाउँदै आफ्नो माया पनि हिमालजस्तै अटल र पवित्र रहेको बताइरहेका थए ।
यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।
लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्ने गरेका छन् । सामान्य समयमा समेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने बिदाको समय र शनिबारको दिनमा त भीड लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवती लभ्लीहिलमा देखिन्छन् । पछिल्लो समय तस्वीर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया 4