
२ फागुन, काठमाडौं । कीर्तिपुर नगरपालिका र ड्रिम टिमले लामा टेन्डी स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।
नेपाल बास्केटबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले विशाल मिलन केन्द्र (बीएमके) लाई ९५-६९ ले हरायो ।
चार वटै क्वार्टरफाइनल अग्रता लिँदै जितसम्म पुग्ने क्रममा कीर्तिपुरले पहिलो क्वार्टर २५-२१ ले दोस्रो क्वार्टर २३-१८ ले तेस्रो क्वार्टर २३-१४ ले र चौथो क्वार्टर २३-१४ ले आफ्नो पक्षमा पारेको हो ।
कीर्तिपुरका सोनाम महर्जनले २४ अंक स्कोर गरे । पराजित बिएमकेका मिलन मल्लले २९ अंक जोडे ।
यस्तै, पुरुषतर्फको दोस्रो खेलमा ड्रिम टिमले शंकरदेव क्याम्पसलाई ८३-४१ ले हरायो । प्रतिस्पर्धात्मक पहिलो क्वार्टर ड्रिम टिमले १५-१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो क्वार्टरमा २३-१३ ले आफ्नो पक्षमा पारेको ड्रिम टिमले तेस्रो क्वार्टरमा ३२-१२ को फराकिलो अन्तरको अग्रता पायो । चौथो क्वार्टर १३-९ ले आफ्नो पक्षमा पारेपछि ड्रिम टिमले सहज जित हात पार्यो । ड्रिम टिमका सुजन महर्जनले ३१ अंक स्कोर गरे ।
यस्तै महिलातर्फ पहिलो दिन भएको एक मात्र खेलमा रोएल बास्केटबल एकेडेमीले राष्ट्रिय टिमकी कप्तान सदिना श्रेष्ठ सम्मिलित टिम ललितपुर हाइलाई ४८-३९ ले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरफाइनल रोएलले १४-१० को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा ललितपुरले पुनरागमन गर्यो र ९-९ मा सकियो । तेस्रो क्वार्टर ललितपुरले १२-८ ले आफ्नो पक्षमा पार्दा स्कोर ३१-३१ भएको थियो । रोयलका लागि प्रतीक्षा मगरले सर्वाधिक १७ अंक स्कोर गरिन् । ललितपुरकी मुना महर्जनले १५ अंक जोडिन् ।
सदिनासँगै प्रतिक्षा र मुना १३औं सागमा नेपालले रजत जित्दाको टिममा समावेश थिए । तर, निर्णायक क्वाटरमा रोएलले पुनरागमन गर्यो र १७-८ को अन्तर बनाउँदै खेल जित्यो ।
नेपाल बास्केटबल संघको अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ५ टिमले सहभागिता जनाएका छन् । दुवै तर्फका विजेताले समान ५० हजार उपाधि हात पार्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4