+
+

थाइल्याण्डबाट काठमाडौं अवतरण गरी भैरहवा पुग्नेछ क्यालिब्रेसन फ्लाइट गर्ने जहाज

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन ३ गते १४:४२

३ फागुन, काठमाडौं । निर्धारित तालिका अनुसार आगामी बिहीबार (५ फागुन) साँझ थाइल्याण्डबाट एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज थाइल्याण्डबाटै सिधै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको थियो । तर, भैरहवा विमानस्थलमा अध्यागमनसम्बन्धी काम सुरु नभएका कारण जहाज काठमाडौं आउन लागेको हो ।

काठमाडौंबाट सम्भव भए बिहीबार साँझ नै र सम्भव नभए शुक्रबार बिहान जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज भैरहवा विमानस्थलमा उपकरण जडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले ल्याउन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रविन न्यौपानेका अनुसार यसै जहाजबाट शुक्रबार (६ फागुन) देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’को काम सुरु हुनेछ ।

१५ फागुनसम्म चल्ने छ परीक्षण

तालिका अनुसार ६ फागुनदेखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइटबाट उपकरणहरुको परीक्षणको काम हुनेछ । यस क्रममा भैरहवा विमानस्थलमा अहिले भइरहेको नियमित उडान समेत प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना नै निकालेर विमानस्थलमा उडान तथा अवतरणको समय ढिला हुन सक्ने बताएको छ । सोही अनुसार व्यवस्थापन गर्न समेत प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग भनेको छ । अर्थातः १५ फागुनसम्म यो विमानस्थलमा नियमित उडानहरु प्रभावित हुनेछन् ।

जहाजमा दुई पाइलटसहित ७ जना विशेषज्ञ

यो उडानपछि भैरहवा विमानस्थल अन्य साधारण प्रकृतिको उडानका लागि योग्य र सुरक्षित भए/नभएको प्रमाणित हुनेछ । ‘क्यालिब्रेसन अगाडी अरु उडान गर्दा सुरक्षामा शतप्रतिशत ढुक्क हुने अवस्था हुन्न,’ न्यौपाने भन्छन्, तर, क्यालिब्रेसनले हवाई सुरक्षाको सुनिश्चितता गर्छ ।’

न्यौपानेका अनुसार यस दौरान यन्त्र–उपकरणले काम गरे–नगरेको परीक्षण गरिन्छ । यस क्रममा कन्ट्रोलर टावर र जहाजबीचको कुराकानी गर्न जडान गरिने सूचना संयन्त्रले समेत काम गरे नगरेको हेरिन्छ । धावनमार्गको भौतिक पक्षसँग क्यालिब्रेसनको सम्बन्ध हुँदैन । तर, धावनमार्गमा राखिएका संकेत चिन्ह तथा लाइटिङहरु ठिक भए–नभएको भने हेरिनेछ ।

यसरी हुने क्यालिब्रेसन फ्लाइटका लागि आउने जहाजमा कुल ७ जना हुनेछन् । त्यसमध्ये दुई जना पाइलट र को–पाइलट हुन्छन् । अन्य भने विशेषज्ञ टोली हुनेछन् । एरोथाईकै इन्जिनियर टोलीले परीक्षणको काम गर्नेछ । परीक्षणको काम एकै दिन सम्पन्न हुने भन्ने हुँदैन । सोहीकारण १५ फागुनसम्मको समय राखिएको हो ।

क्यालिब्रेसन उडानपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । त्यसपछि भने अन्य व्यवस्थापनको काम पूरा गरी व्यवसायिक उडानका लागि वायुसेवा कम्पनीलाई आह्वान गर्न सकिने छ ।

७ वर्षपछि सम्पन्न हुने क्रममा राष्ट्रिय गौरवको आयोजना

सरकारले भैरहवा विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेको छ । भैरहवा विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । भैरहवामा ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको विमानस्थल बनेको छ । यसले अब त्रिभुवन विमानस्थलको विकल्प समेत दिनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।

विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरिरहेको छ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तरराष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा कन्ट्रोल टावर रहेको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा समेत यहाँ रहने छ ।

सञ्चालन–व्यवस्थापन प्राधिकरणबाटै

प्राधिकरणका अनुसार यो विमानस्थलमा परीक्षण पूरा भएपछि सञ्चालन तथा व्यवस्थापन अहिले प्राधिकरणकै जनशक्तिबाट हुनेछ । यहाँ आन्तरिक विमानस्थल अहिले पनि सञ्चालनमा छ । त्यसमा थप जनशक्तिसहित दरबन्दी तय भइसकेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरबन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरबन्दी तय गरिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?