+
+

टी-२० ग्लोबल क्वालिफायर : युवा टोलीलाई ठूलो जिम्मेवारी

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन ४ गते २१:१०

४ फागुन, काठमाडौं । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपाली क्रिकेटको स्वरुप नै परिवर्तन भयो । क्रिकेटले देशमा फरक खालको माहोल ल्यायो । क्रिकेटमा लाग्ने युवाहरु समेत बढे ।

तर त्यसपछि नेपालले दुई पटक टी-२० विश्वकपको छनोट खेलेपनि सफल हुन सकेन । फेरि एक पटक टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ ओमानमा छ ।

आगामी अक्टोबर/नोभेम्बरमा हुने अष्ट्रेलियामा विश्वकपका लागि ओमानमा यही फेब्रुअरी १८ देखि २४ सम्म ग्लोबल क्वालिफायर  हुँदैछ । जसको समूह ए मा नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट दुई टोलीले मात्र अष्ट्रेलियाको टिकट काट्नेछन् ।

अहिले नेपालको मिसन अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुने नै हो । तर चुनौती पनि उत्तिकै छ । क्वालिफायर्स अघि खेलेको चारदेशीय टी-२० सिरिजमा नेपालले खेलेको तीनमध्ये एक खेल मात्र जित्यो । नेपालले सोचे अनुसारको प्रदर्शन गर्न सकेन ।

पहिले नेपाललाई बलिङ टोली भनेर चिन्ने गरिन्थ्यो । त्यसकै बलमा राम्रो भनिएका ब्याटिङ टोलीलाई पनि परास्त गर्न सक्ने क्षमता राख्थ्यो ।

तर अहिले नेपाल टोलीमा धेरै नयाँ बलर छन् । यसको मतलब नेपालमा बलिङको पकड राम्रो बनेको भन्ने हुनसक्छ । तर ओमानमा भएको खेलमा बलरहरु केही फिक्का देखिए । प्रशिक्षक पुबुदु दसानायकेले नयाँ खेलाडीलाई मौका पनि दिए । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरुले पनि विदेशी पिचमा राम्रो प्रदर्शन गर्न भने सकेनन् ।

टी-२० सिरिजमा जस्तै खेल प्रदर्शन गरेमा भने नेपाल विश्वकपमा पुग्न कठिन देखिन्छ । किनकी नेपाल आयरल्याण्ड र यूएई दुबैसँग हार्यो, जो समूह चरण पार गर्दै सेमिफाइनल पुगेमा खेल्ने सम्भावित विपक्षी हो ।

यद्यपि नेपाली टोलीमा अनुभवी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा शरद भेषावकर र युवा खेलाडीहरूको समिश्रण छ । यदि उनीहरूले टिमलाई चाहिएको बेला आफ्नो क्षमताअनुसार खेल्ने हो भने विश्पकप टाढा पनि छैन ।

बलिङमा समस्या छैन

नेपाली टोलीलाई नजिकबाट नियालिरहेका प्रशिक्षक बसन्त शाही ठकुरी पनि नेपालको बलिङमा धेरै सुधार भएको र क्वायिफायर्समा छनोट हुनेमा विश्वस्त देखिन्छन् । यू-१९ का प्रमुख प्रशिक्षक शाही भन्छन्, ‘नेपालको बलिङ नराम्रो भन्न मिल्दैन । ओमानको टोलीलाई टी-२० मा १३५ रनमा रोक्नु सानो कुरा होइन ।’

पहिलो खेलमा राम्रो खेलेको नेपालले दोस्रो खेलमा भने युएईसँग २५ रनले पराजित भएको थियो । नेपालले युएईलाई १९२ मा अल आउट गरेको थियो ।

यहि कुरालाई प्रस्ट्याउँदै शाही भन्छन्, ‘कहिलेकाहीँ टी-२० मा रन लागिहाल्छ । पार्टनरसिप राम्रो भयो भने रन राम्रो बन्छ । युएई अहिले राम्रो टोली भएर निस्किएको छ । बलियो टोलीसँग खेल्दा कहिलेकाहीँ त्यस्तो हुन्छ ।’

अनुभवी फास्ट बलरद्वयको कमी

फास्ट बलरद्वय सोमपाल कामी र करण केसी नेपाली टोलीमा पछिल्लो समय नियमित सदस्यको रुपमा थिए । करण त पछिल्लो समय तल्लो क्रमको ब्याटिङमा समेत राम्रै गर्दै आएका थिए । तर यस पटक दुवै जना टिममा छैनन् । सोमपाल ओमान टुरमै परेनन् भने करण चोटका कारण फर्किएका छन् ।

करण र सोमपालको अभाव टोलीमा खड्किने बताउँछन् प्रशिक्षक शाही । भन्छन्, ‘उनीहरुको अनुभव र क्षमता टोलीको बलियो पक्षको रुपमा सावित हुँदै आएको छ । उनीहरु दुवै जनालाई टोलीले निकै मिस गर्ने छ ।’

अब नेपाली टोलीको बलिङको जिम्मा कप्तान सन्दीप लामिछानेसँगै अविनाश बोहरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र गुल्सन झाको काँधमा आएको छ ।

मिडल अर्डरमा समस्या

क्वालिफायर्सअघि खेलेको सिरिजमा ब्याटिङतर्फ मिडल अडरमा समस्या देखिएको छ । दीपेन्द्र सिंह ऐरीले मात्र मिडल अर्डर धानिरहेका छन् । उनलाई साथ दिने खेलाडी देखिएनन् । वैशाखमा भएको त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाली खेलाडीले परम्परागत शैली तोड्दै उत्कृष्ट ब्याटिङ गरेको थियो । तर यसपटक मध्यक्रम र तल्लोक्रमका ब्याटर नचल्दा प्रदर्शन दोहोरिन सकेको छैन ।

अनुभवी ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले पनि सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् । अनुभवी खेलाडी नै नचल्दा अन्य युवा खेलाडी थप दबाबमा पर्न सक्छन् । त्यसले नेपाल व्याटिङमा पनि ढुक्क हुने स्थिति छैन ।

युवा जोस र अनुभवको मिश्रण

नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी छन् । ज्ञानेन्द्र मल्ल तथा शरद भेषावकर अनुभवी खेलाडी छन् । उनीहरुको अनुभव र नयाँ पुस्ताको जोसले नेपाली टोलीले सफलता पाउनेमा विश्वस्त देखिन्छन् शाही ।

राष्ट्रिय टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरेका शाहीले युवा पुस्ताको जोस र लगनको प्रशंसा गर्दै भने, ‘अहिले आएका केटाहरु निकै मेहनती र लगनशील छन् । सबै युवा मात्रै लिएर पनि खेल्न गाह्रो हुन्छ । त्यसैले अनुभव र युवाको जोस लिएर मैदानमा उत्रिनु नेपालका लागि फलदायक नै हुनेछ ।’

नेपाली टोलीमा अहिले आएका युवामा अनुभवी खेलाडीको अनुभवले टोली बलियो बन्नेमा विश्वास लिइएको छ ।

पुबुदुको रणनीति बलियो

अहिलेको टी-२० सिरिजमा पुबुदु दसानायकेले चार देशको सिरिजका क्रममा उपलब्ध टिमको परीक्षण गरे । प्रशिक्षक शाही भन्छन्, ‘उहाँ राम्रो प्रशिक्षक हो, उहाँले यो सिरिजमा पूर्ण टोली मैदानमा नउत्रनुको कारण छ ।’

उनका अनुसार पुबुदुले ओमान सिरिजका खेलहरु जित्नेभन्दा पनि कमी कमजोरी थाहा पाउने र बलियो पक्षलाई थप बलियो बनाउन प्रयोग गरेका छन् ।

‘यो प्रतियोगिताले हामीलाई क्वालिफर्यसमा रणनीति बनाउन मद्दत गर्छ,’ शाहीले भने, ‘प्रशिक्षकले हाम्रो मुख्य टोलीलाई यो सिरिजमा नखेलाउनु हाम्रोबारे विपक्षी टोलीलाई रणनीति बनाउन गाह्रो परोस् तथा हरेक नयाँ खेलाडीले जिम्मेवारीवोधका हिसाबले खेलोस् भन्ने हो ।’

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, लोकेश बम, विवेक यादव, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया, सागर ढकाल, गुल्सन झा ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?