
५ फागुन, काठमाडौं । रोयल बास्केटबल एकेडेमीले उत्कृष्ट पुनरागमन गर्दै लामा टेण्डी स्मृति खुला पुरुष तथा महिला बास्केटबलमा महिलातर्फ नेपाल पुलिसमाथि रोमाञ्चक जित हात पारेको छ ।
सुरुको दुई क्वाटरमा पछि परेको रोयलले त्यसपछि पुनरागमन गर्दै बाँकी दुई सेट आफ्नो पक्षमा पार्दै पुलिसलाई एक अंक अन्तरले मात्र पराजित गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा रोयलले पुलिसलाई ५१-५० ले हरायो ।
खेलमा पुलिसले पहिलो क्वाटर ११-६ र दोस्रो क्वाटर १०-९ ले आफ्नो पक्षमा पार्दै २१-१५ को अग्रता बनाएको थियो । तर, त्यसपछि रोयलले पुनरागमन गर्यो । तेस्रो क्वाटर रोयलले १८-१४ ले आफ्नो पक्षमा पारेपछि अंक अन्तर ३५-३३ मा आयो ।
चौथो तथा निर्णायक क्वाटरमा १८-१४ को झिनो अग्रतासहित रोयलले पुलिसलाई झिनो अन्तरले पराजित गरेको हो । खेलमा रोयलका लागि रोशनी श्रेष्ठले १५ अंक स्कोर गरिन् । पुलिसका लागि छिरिङ शेर्पा एक्लैले २४ अंक स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।
दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरू समेत थिए । लगातार दुई खेल जित्दै रोयलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । रोयलले यसअघि ललितपुर हाईलाई पराजित गरेको थियो । पुलिसको भने यो पहिलो हार हो ।
रोयलले अब कीर्तिपुर नगरपालिका र रुपन्देही बास्केटबल एसोसिएसनसँग खेल्न बाँकी छ ।
नेपाल बास्केटबल संघको आयोजनामा भइहरेको प्रतियोगितामा महिलातर्फ ५ टोलीको सहभागिता छ र सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4