
५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सुरुवाती तीन खेल हार्दा विभागीय टोली एपीएफ फुटबल क्लब शीर्ष डिभिजनमा रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको थियो ।
तर, त्यसपछि भने एपीएफ टिममा परिवर्तन आएको देखियो, ऊ लगातार ८ खेलमा अपराजित रह्यो । जसमध्ये तीन खेलमा जित हासिल गर्यो भने पाँच खेल बराबरी गरेको छ ।
११औं चरणमा सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीलाई ३-१ ले हराएपछि एपीएफ यस सिजन शीर्ष डिभिजनमै रहने पक्का भएको छ ।
मनाङसँग एक गोलले पछि पर्दा पनि एपीएफले पुनरागमन गर्दै उत्कृष्ट जित हासिल गर्यो । लिगको दोस्रो स्थानमा रहेको टोलीविरुद्ध पुनरागमन जित र रेलिगेसनको चिन्ता हटेपछि एपीएफलाई ठूलो राहत मिलेको छ ।
यो जितले एपीएफमा दोहोरो खुशी देखिएको छ । पहिलो, रेलिगेसनको खतरा टरेको छ । दोस्रो, लिगमा फराकिलो अन्तरले मनाङ मर्स्याङ्दीमाथि जित हासिल गरेको छ ।
त्यसैले प्रशिक्षक कुमार थापा पोष्ट म्याच कन्फ्रेन्समा खुशी देखिए । ‘आजको अंक हाम्रो लागि भाइटल छ । हिजोसम्म रेलिगेसनबाट ‘सेभ’ थिएन । रेलिगेसनमा संघर्ष गरिरहेको टिमले जित्यो’ थापाले भने, ‘सुरुको तीन खेल हार्दा च्यालेन्ज थियो । त्यसपछि विदेशी खेलाडीहरू थप्यौँ । आजको नतिजा पहिल्यैदेखिको सोचको हो ।’
एपीएफले यसै सिजनको आहा रारा गोल्ड कपमा पनि एपीएफले मनाङलाई पराजित गरेको थियो । ‘आहा गोल्डकप खेलेपछि केही गर्नुपर्छ भन्ने चाहना थियो जुन आज प्रमाणित भयो’ प्रशिक्षक थापाले भने ।
आहा रारा जितेर फर्केपछि एपीएफले ए डिभिजन लिगमा संकटा क्लबसँग बराबरी खेल्यो । त्यतिबेलासम्म रेलिगेसनको खतरा नटरेको प्रशिक्षक कुमार थापाले बताएका थिए । तर, त्यसपछिको खेलमा मनाङलाई हराएपछि भने एपीएफ ढुक्क भएको छ ।
‘लिगमा दोस्रो स्थानमा रहेको टिमविरुद्ध जुन हिसाबले खेले । एक गोलले पछि परेर पनि कमब्याक गरे, त्यो लय कायम राखे । बराबरी गोल फर्काए’ थापाले खेलाडीहरूको प्रशंसा गर्दै थापाले भने, ‘अग्रता बनायौं र खेल पनि जित्यौं, रेलिगेसन टर्यो । खुशी छौं, खेलाडीले राम्रो खेले ।’
एपीएफका प्रशिक्षक थापा कुनै समय मनाङ मर्स्याङ्दीबाट व्यावसायिक फुटबल खेलेका थिए । आफ्नै पूर्वक्लबविरुद्ध जित हासिल गरेकामा खुशी देखिएका थापा भन्छन्, ‘फुटबल भनेको ‘राइट नाउ’ हो । त्यो प्रमाणित गरे जस्तो लाग्छ । इतिहास त छ नै । पाँचवटा लिगमा मनाङलाई नजित्दा आज जित्यौँ । नयाँ रेकर्ड बनाउन पाउँदा खुशी छु ।’
२०६३ देखि लिग खेल्न थालेको एपीएफले यसअघि लिगमा मनाङलाई एक पटक मात्र हराएको थियो । एपीएफले लिगमा अब बलिया टिमहरू मच्छिन्द्र र पुलिससँग खेल्न बाँकी छ ।
‘आज हार्दा हामी कहाँ पुग्थ्यौं थाहा छैन । दबाब हुन्थ्यो । पुलिस र मछिन्द्रसँग खेल्नै बाँकी छ । त्यसमा पनि दबाब हुन्थ्यो । अब दुई खेल नहारी राम्रो स्थानमा लिग सकाउने लक्ष्य छ’ उनले भने ।
मनाङलाई हराएपछि एपीएफ ११ खेलबाट १४ अंक जोड्दै आठौँ स्थानमा उक्लेको छ । तीन खेलमा जित र पाँच खेल बराबरी खेलेको एपीएफले तीन खेल मात्र हारेको छ । यस्तै १४ गोल गर्दा त्यति नै गोल खाएको छ ।
‘फुटबलमा हरेक दिन परिवर्तन गर्नैपर्छ । तीन खेल हार्दा प्रेसर थियो । हामी आत्तिएनौं, आत्तिएको भए अहिलेको स्थानमा हुँदैनथ्यौं’ थापाले भने ।
सुरुको तीन खेल हार्दा टिमभित्रबाट पनि अब ए डिभिजनमा रहिँदैन कि भन्ने डर देखिएको थापाले स्वीकारे । एपीएफले पछिल्लो पाँच संस्करणमा मनाङविरुद्ध जम्मा एक गोल मात्र गरेको थियो ।
२०६८, ०६९ र ०७० मा मनाङले एपीएफलाई समान ३–० ले हराउँदा ०७५ मा २–१ र ०७६ मा २–० ले पराजित गरेको थियो ।
प्रशिक्षक थापाले मनाङ सधैं राम्रो टिम भए पनि यस वर्ष त्यस्तो नदेखिएको टिप्पणी गरे । ‘मनाङ मनाङ जस्तो रहेन । अब सोच्न पर्छ । पहिला र अहिले खेलाडीको प्यासनमा फरक छ । २० वर्षमा धेरै परिवर्तन भएको छ । मनाङले केही सोच्नुपर्छ रेलिगेसन संघर्ष गरेको टिमले हरायो । हामी खुशी छौं’ उनले भने ।
एपीएफको जारी ए डिभिजन लिगको नतिजा
एपीएफ २-३ ब्रिगेड
एपीएफ ०-१ च्यासल
एपीएफ १-४ सातदोबाटो
एपीएफ ०-० थ्रीस्टार
एपीएफ ३-१ फ्रेण्ड्स
एपीएफ ३-३ एनआरटी
एपीएफ १-१ त्रिभुवन आर्मी एफसी
एपीएफ ०-० जावलाखेल
एपीएफ १-० हिमालयन शेर्पा
एपीएफ ०-० संकटा
एपीएफ ३-१ मनाङ
बाँकी खेल
एपीएफविरुद्ध पुलिस
एपीएफविरुद्ध मछिन्द्र एफसी
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4