+
+

वीरगञ्जमा अस्पतालजन्य फोहोर संकलन थालियो

फोहोर व्यवस्थापन केन्द्र सञ्चालन हुन बाँकी

वीरगञ्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न थालेको छ । महानगरपालिकाले शुक्रबारदेखि स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न थालेको हो ।

सुरेश बिडारी सुरेश बिडारी
२०७८ फागुन ६ गते १३:१८

६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न थालेको छ । महानगरपालिकाले शुक्रबारदेखि स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न थालेको हो ।

वीरगञ्जमा ६ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन आउन भने बाँकी छ । अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न आवश्यक बन्दोबस्त मिलाउने क्रममा समय लागेको महानगरपालिकाले जनाएको छ । नगर प्रमुख विजय सरावगीले आवश्यक जनशक्ति व्यवस्थापन, प्रशिक्षण गराउने लगायतको काम भइरहेको भन्दै छिट्टै केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।

अस्पतालजन्य फोहोर संकलनका लागि महानगरपालिकाले ल्याब टेक्निसियन सहित ६ जना कर्मचारी खटाएको छ । उनीहरुले पहिलो दिन नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थाबाट दुई ट्याक्टर फोहोेर संकलन गरेका छन् । बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म स्वास्थ्य संस्था जन्य फोहोर संकलन गरिएको थियो ।

तर ती फोहोर अटो क्लेभ मेसिनमा हाल्ने खालको जस्ता थिएनन् । विर्ता क्षेत्र लगायत स्वास्थ्य संस्थाबाट संकलन गरिएको फोहोरमा कुहिने, नकुहिने, केमिकलयुक्त, संक्रामक फोहोर एकै ठाउँमा राखिएको छ ।

वातावरण इन्सपेक्टर प्रदीप साहका अनुसार पहिलो दिन भएकाले फोहोर छुट्ट्याएर राख्न आग्रह गरिएको छ । ‘विरामी र कुरुवाले खाएर बढी भएको खाना, कपडा, टिस्यु पेपर, विष्कुट, प्लाष्टिक समेत मिसाएर फोहोर दिएका छन्,’ उनले भने, ‘अटोक्लेभ मेसिनमा राखेर डिसइन्फेक्सन गर्न सक्ने स्थिति देखिएन । फोहोरलाई छुट्याएर दिन आग्रह गरेका छौं ।’

‘स्वास्थ्य संस्थाहरु फोहोर दिन त सकारात्मक छन्, तर छुट्टयाएर नदिएको खण्डमा केन्द्रमा लैजानुको अर्थ रहँदैन,’ उनले भने, ‘स्वास्थ्य संस्थाहरुलाई फोहोर छुट्याएर दिने बानी पार्नुपर्ने देखिन्छ ।’

वीरगञ्जमा रहेका अस्पताल, क्लिनिक, पोलिक्लिनकहरुले फोहोरलाई नि–संक्रमण नगरी घरबाट निस्कने फोहोर सरह महानगरपालिकाको गाडीमा हालिदिने, जलाएर नष्ट गर्ने र जथाभावी फाल्ने गर्दै आएका छन् ।

स्वास्थ्य संस्थासँग लिने शुल्कमा कटौती

स्वास्थ्य संस्थाहरुले फोहोर व्यवस्थापन वापत लिने मासिक शुल्कमा असन्तुष्टी जनाएपछि महानगरले त्यसलाई परिमार्जन गरेको छ । महानगरपालिकाका अधिकृत हरिशंकर कुर्मीका अनुसार गत पुस १५ गते बसेको नगरसभा बैठकले शुल्कमा परिमार्जन गरेको जानकारी दिए ।

उनका अनुसार डेन्टल हस्पीटल तथा अन्य फोटो एक्सरे गर्ने क्लिनिकको शुल्क २ हजार तोकिएको छ । डाइग्नोष्टिक सेन्टरलाई वर्ग अनुसार शुल्क निर्धारण गरिएको छ । क, ख, ग, घ, ङ लाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार शुल्क लाग्ने उनले बताए । यसअघि महानगरले सबैखाले डायग्नोष्टिक सेन्टरसँग ५ हजार रुपैयाँ लिने भनी दर तय गरेको थियो ।

रेडियसनसँग सम्बन्धित काम गर्ने स्वास्थ्य संस्था, क्लिनिक, पोलिक्लिनकसँग लिने शुल्क ५ हजार तोकिएकोमा २ हजार ५ सय, अल्ट्रासाउण्ड गर्ने स्वास्थ्य संस्थासँग २ हजार ५ सयको सट्टा १ हजार ५ सय, फिजियोथेरापीको २५ सयको सट्टामा १ हजार रुपैयाँ शुल्क तोकिएको छ । हेल्थ पोष्टसँग मासिक १ हजार र अस्पतालहरुसँग बेड क्षमता अनुसार शुल्क निर्धारण गरिएकोमा त्यसैलाई कायम राखिएको महानगरले जनाएको छ ।

१५ बेडको अस्पतालसँग प्रतिबेड ३ सय ५० रुपैयाँ, १६–३० बेडको अस्पताललाई ३ सय २५ रुपैयाँ, ३१ देखि ५० बेडको अस्पतालसँग २ सय ५० रुपैयाँ र ५० भन्दा बढी बेड क्षमता भएका अस्पतालसँग २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

वीरगञ्ज–५ मा ग्यास्ट्रो एण्ड लिभर क्लिनिक सञ्चालन गर्दै आएका पेट रोग विशेषज्ञ डाक्टर राकेश कुमार झा फोहोर कहाँबाट बढी संकलन हुन्छ भन्ने अध्ययन गरेर शुल्क निर्धारण गर्नुपर्ने बताउँछन् । ‘खासै फोहोर निस्कदैन, इन्डोस्कोपी गर्दा केही थान ग्लोभ्स आउने हो,’ उनले भने, ‘सर्जन र गाइने डाक्टरको क्लिनिक सरहको शुल्क तिर्नुपर्छ । यसरी त हुँदैनन नि ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?