+
+
ए डिभिजन लिग :

मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन ६ गते १५:३१

६ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगले ११औं चरणमै विजेता पाएको छ । दुई खेल अगावै मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गर्नु यो चरणको मुख्य विशेषता रह्यो ।

तर, रेलिगेसन व्याटल भने अझ रोमाञ्चक बनेको छ । ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीमाथि प्रभावशाली जित हात पारेपछि विभागीय टोली एपीएफले रेलिगेसनको खतरा टारेको छ । अब जावलाखेल, ब्रिगेड ब्वाइज, फ्रेण्ड्स र च्यासलमध्ये दुई टोली यस सिजन घटुवा हुने निश्चित छ ।

बुधबार ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्लबलाई पराजित गरी मछिन्द्रले उपाधि रक्षा गर्‍यो । मछिन्द्रले २०७६ सालमा पहिलोपल्ट लिग जितेको थियो । कोरोना महामारीका कारण अघिल्लो वर्ष (२०७७)मा लिग आयोजना भएन । ९ जित र २ बराबरीबाट २९ अंक जोडेको मछिन्द्र लिगमा एकमात्र अपराजित टोली पनि हो । दुई चरणको खेल बाँकी रहँदा उसले दोस्रो स्थानको मनाङसँग ९ अंकको अग्रता लिएको छ । मनाङले ११औं चरणमा एपीएफसँग खेल्नुअघि नै मछिन्द्रको उपाधि निश्चित भइसकेको थियो ।

मछिन्द्रका लागि यो सिजन लिग उपाधि रक्षासँगै अर्को उपलब्धि भनेको एएफसी कपका लागि छनोटसमेत हो । मखनको यो क्लब सातौं चरणसम्म शीर्षस्थानमा रहेर सन् २०२२ का लागि एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको थियो । गएको सिजन लिग जिते पनि एएफसी क्लब लाइसेन्स नहुँदा त्यतिबेला दोस्रो स्थानमा रहेको आर्मीलाई एएफसी कपको अवसर दिइएको थियो ।

यसपल्ट अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीलाई एएफसी कपमा पठाउने निर्णय गरेको थियो । एन्फाले हरेक वर्ष असोजदेखि फागुनसम्म ए डिभिजन लिग आयोजना गर्ने गर्छ । एएफसी क्यालेण्डर र घरेलु क्यालेण्डर समान नहुँदा अर्को सिजन पनि एएफसी कपका लागि आधा सिजनको शीर्ष टोलीकै विकल्प रोज्नुपर्ने अवस्था आउनसक्ने लिग निर्देशक सन्जीव मिश्र बताउँछन् ।

२०७० को लिगमा दोस्रो भएको मछिन्द्र एकैपल्ट पाँच वर्षपछि आयोजित लिगमा पुच्छारबाट दोस्रो भएको थियो । त्यतिबेला रेलिगेसनको व्यवस्था नहुँदा जोगिएको यो क्लबले नयाँ व्यवस्थापन र थप लगानीपछि अर्को वर्ष लिग उपाधि जित्यो । लगातार दुई उपाधि जितेर उसले घरेलु फुटबलमा नयाँ शक्तिका रुपमा उदाएको छ ।

लगातार च्याम्पियन बन्दा प्रफुल्ल देखिएका प्रशिक्षक प्रवेश कटुवालले उपलब्धिको श्रेय खेलाडीलाई दिए । उनको बुझाइमा यो सफलता सबैको मिश्रित योगदानको प्रतिफल हो । ‘यसपटक टिम बलियो थियो । गत सिजन सीमित खेलाडी थिए । यसपल्ट अग्रपंक्तिलाई अझै शशक्त बनायौं । त्यसैले दुई खेलअगावै लिग जित्यौं,’ कटुवालले भनेका छन् ।

मछिन्द्रको अबको लक्ष्य एएफसी कपतिर हुनेछ । आगामी अप्रिल ५ (चैत २२)मा एएफसी कपको प्रारम्भिक चरण अन्तर्गत मछिन्द्रले श्रीलंकाली क्लब ब्लू स्टारसँग दशरथ रंगशालमा खेल्नेछ । मछिन्द्रले यो खेलसहित तीन खेल जिते मात्र एएफसी कपको मुख्य समूह चरणमा पुग्नेछ ।

प्रशिक्षक कटुवालका अनुसार यसपल्ट क्लबले समूह चरणसम्म पुग्ने लक्ष्यसहित टिममा केही खेलाडी परिवर्तन गर्ने गृहकार्य सुरु भएको छ । ‘एएफसी कपको समूह चरणमा पुग्छौं भन्ने विश्वास छ । तर, प्रदर्शन सुधार गर्नुपर्छ । त्यसका लागि टिममा केही परिवर्तन हुन्छ ।’

मनाङमाथि एपीएफको विजय

११औं चरणको अर्को विशेषता लिग महारथी मनाङमाथि एपीएफको विजय पनि हो । लिग जित्न नसक्ने निश्चित भएपछि एपीएफविरुद्ध उत्रिएको मनाङले अग्रता लिएर पनि अंक जोगाउन सकेन । एपीएफले सानदार पुनरागमन गर्दै मनाङमाथि ३–१ को जित रच्यो ।

सिजनको पहिलो नकआउट प्रतियोगिता आहा रारा गोल्डकपमा यी दुईले फाइनल खेलेका थिए । मनाङलाई पेनाल्टी शुटआउटमा हराएर एपीएफ पहिलोपल्ट पोखरामा च्याम्पियन बनेको थियो ।

मनाङका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले उपाधि होडबाट बाहिरिएपछि खेलाडीले राम्रो खेल्न नसकेको तोपेको स्वीकारोक्ति रह्यो । लिगमा मनाङको यो तेस्रो हार हो । यसअघि मछिन्द्र र सातदोवाटोसँग पराजित भएको थियो ।

मनाङमाथिको जित एपीएफका लागि रेलिगेसन क्षेत्रबाट बाहिरिन निर्णायक बन्यो । लिगका सुरुवाती तीन खेल हारेपछि रेलिगेसनको खतरामा पुगेको एपीएफ त्यसयता अपराजित छ । तीन जित र ५ बराबरीले एपीएफको १४ अंक भएको छ । आठौं स्थानमा रहेको एपीएफ बाँकी २ खेल हारे पनि ११औं स्थानभन्दा तल झर्दैन ।

मछिन्द्रबाहेक अंकतालिकामा उपल्लो स्थानमा रहेका अन्य क्लबहरूको प्रदर्शन राम्रो हुन सकेन । तेस्रो स्थानको आर्मी टिम हिमालयन शेर्पासँग निराशाजनक बराबरीमा रोकियो । चौथो स्थानको थ्रीस्टारले पनि नेपाल पुलिससँग अंक बाँड्यो ।

संकटालाई हराएर एनआरटी पाँचौं स्थनमा उक्लियो । एनआरटीको १७ र यो पराजयले एक स्थान तल झरेको संकटाको १५ अंक छ । समान अंक भए पनि सातदोवाटो सातौं स्थानमा छ ।

रेलिगेसन होड रोमाञ्चक

उपाधि विजेताको टुंगो लागेपछि अब धेरैको ध्यान रेलिगेसन क्षेत्रतर्फ छ । यो लिगमा २ टोली बी डिभिजनमा घटुवा हुनेछन् । अंकतालिकाको पुच्छारतिर रहेका टोलीहरूका लागि बाँकी दुई चरणको खेल ‘गर या मर’को स्थितिमा हुनेछ ।

११औं चरणमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लब तथा फ्रेन्डस् र जावलाखेल क्लबबीचको खेल बराबरी भएपछि ‘रेलिगेसन ब्याटल’ अझै रोमाञ्चक बनेको छ ।

दुवै खेल एउटै समयमा भएको थियो । बीबीसी र च्यासलबीचको खेलमा गोल भएन भने अर्को खेलमा जावालखेलले तीन गोलको अग्रता कायम राख्न सकेन ।

अन्तिम चार स्थानमा रहेका जावलाखेल, बीबीसी, फ्रेण्ड्स र च्यासलमध्ये दुई टोली नै रेलिगेसनमा पर्ने निश्चित छ । फ्रेण्ड्स र बीबीसीको समान ७ अंक छ । हेड टू हेडमा फ्रेण्ड्स अघि छ । च्यासल ६ अंकसहित पुच्छारमा छ । एघारौं स्थानमा रहेको जावालाखेलको १० अंक छ । स्मरणीय के छ भने यी चारै क्लब ललितपुरका हुन् ।

१२औं चरणमा फ्रेण्ड्स र च्यासलबीच शनिवार खेल हुँदैछ । दुवै टोलीका लागि रेलिगेसनबाट जोगिने त्यो नै अन्तिम अवसर हुनेछ । ब्रिगेडले सातदोबाटो र थ्रीस्टारसँग खेल्न बाँकी छ ।

११औं चरणको खेलको नतिजा

जावालखेल ३–३ फ्रेण्ड्स

ब्रिगेड ०–० च्यासल

आर्मी १–१ हिमालयन शेर्पा

मछिन्द्र १–० सातदोबाटो

पुलिस १–१ थ्रीस्टार

एनआरटी १–० संकटा

एपीएफ ३–१ मनाङ

११औं चरणको गोलकर्ता

लोएक एनजीमी (२ गोल), जावलाखेल

रुप बहादुर लामा, जावालेखल

नाथनियल गार्सिया (२ गोल), फ्रेण्ड्स

जमाउल एन्थोनी फ्रान्कोइस, फ्रेण्ड्स

जर्जप्रिन्स कार्की, आर्मी

पिस्टोन मुटम्बा, हिमालयन शेर्पा

नुर्लान नोभ्रुजोभ, मछिन्द्र

ऋतिककुमार खड्का, थ्रीस्टार

सुमन सुवेदी, पुलिस

स्टेफन समिर, एनआरटी

अन्जन विष्ट, मनाङ

आशिष लामा, एपीएफ

मणिकुमार लामा, एपीएफ

नवीन लामा, एपीएफ

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?