+
+
एमसीसी :

देउवाका दुःख : प्रचण्डको व्यवहारले विरक्त, ओलीमाथि अविश्वास

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ फागुन ७ गते २२:५३

७ फागुन, काठमाडौं । प्रतिनिधिसभामा शुक्रबार पनि अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुन नसकेपछि नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने, ‘शेरबहादुरजीले एमसीसी पास गराउने हो कि गठबन्धन एक रोज्नुपर्छ ।’ कोइरालाले गठबन्धन र एमसीसीमध्ये देउवाको साथमा एउटा मात्रै रहनसक्ने आकलन पनि प्रस्तुत गरे । शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठको अस्पष्ट निर्णय बाहेक दलहरुको मनस्थितिमा उतिसारो परिवर्तन आएको छैन ।

कांग्रेस नेताहरुका अनुसार यही गठबन्धनको सरकार प्रधानमन्त्री देउवाको प्राथमिकता हो भने संसदबाट एमसीसी अनुमोदन गराउनु भूराजनीतिक परिबन्धले सृजना गरेको बाध्यता । देउवा सकेसम्म गठबन्धन कायम राखेर सरकारमा बसिरहुँ, एमसीसी पनि अनुमोदन होस् भन्न चाहन्छन् । तर परिस्थिति कोइरालाले भनेझैं दुई मध्ये एउटा रोज्नुपर्ने दिशातर्फ उन्मुख छ ।

अमेरिकाको सन्देश

एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मागेको अमेरिकासित लिखित रुपमै मागेको २८ फेब्रअरी अर्थात् १६ फागुनको समयसीमा घर्किँदो छ । तर अहिलेसम्म न गठबन्धनमा सहमति जुटेको छ, न एमालेसँग विश्वासको वातावरण बनेको छ । यही अवस्थामा एमसीसी फिर्ता भयो भने मुलुकसँगै आफू पनि ठूलो संकटमा पर्ने देउवाको बुझाइ छ । ‘एमसीसी फिर्ता जाँदा यो पैसा मात्र जाँदैन,’ कांग्रेसका नेताहरुसँग प्रधानमन्त्री देउवाले भन्ने गरेका छन्, ‘अमेरिका भनेको अमेरिका मात्र होइन । पश्चिमले हामीसँग सधैं प्रतिशोधपूर्ण व्यवहार गर्छ ।’

२७ माघमा प्रधानमन्त्री देउवासहित एमाले र माओवादीका अध्यक्षलाई फोन गरेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले त्यही भनेका थिए । उनले नेताहरुलाई दिएको पाँचबुँदे सन्देशको पाँचौं बुँदामा चेतावनीपूर्ण भाषामा भनिएको छ, ‘यो अनुदान पनि चाहिंदैन भने अमेरिका प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएको कुनै पनि संस्थाबाट ऋण वा अनुदान चाहिंदैन भन्ने बुझ्छौं ।’

त्यसको असर अहिले नै देखिन थालिसकेको नेताहरु बताउँछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार पश्चिमा देशका राजदूतहरुले ‘जसलाई एमसीसी जस्तो सहयोग चाहिएको छैन, उसलाई पैसा चाहियो भन्ने आफ्नो देशलाई के आधारमा भन्ने भनेर प्रश्न गर्न थालेका छन् ।

३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा सहयोग जुटाउने उद्देश्यले अर्थ मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग गरेको छलफलमा पनि त्यो सांकेतिक रुपमा प्रकट भएको थियो । त्यहाँ राजदूतहरुले यो वर्षमा तीन वटा चुनाव गर्नुपर्छ भन्ने थाहा थियो, बजेट छुट्याउनु भएकै होला । कि छैन ? भनेर सोधेको एक अधिकारी बताउँछन् ।

एमसीसी फिर्ता हुँदा नेपालमा पश्चिमाहरुको चासोमा त धक्का लाग्छ नै, भारत र चीन आमनेसामने हुने चिन्ता पनि कांग्रेस नेताहरुको छ । एक नेता भन्छन्, ‘यदि एमसीसी फर्कियो भने नेपालमा चीनले चाहेको हुन्छ भन्ने सन्देश जान्छ । त्यो बेला भारतले धेरै सौच्नुपर्ने हुन्छ । त्यसले हामीलाई पनि फाइदा हुन्न ।’

कांग्रेस महामन्त्री गगनकुमार थापा पनि राजनीतिक दलहरुले देखाएको अपरिपक्वता, कतिपय सन्दर्भमा सुझबुझको कमीका राष्ट्रिय हितको सीमा उल्लंघन गर्न पुगेको जस्तो भइसककेको बताउँछन् । ‘यो विषय (एमसीसी) नेपालभन्दा बाहेक कसैको चासको विषय नै नबन्नुपर्ने थियो,’ थापाले भने, ‘हामी डिलमा पुगिसकेका छौं, अझै सम्हाल्न सक्छौं । तर अब पनि सुझबुझ पुर्याएनौं भने हामीलाई दीर्घकालीन रुपमा डाम्ने घटना बन्नसक्छ ।’

प्रचण्डमाथि भरोसा उठ्यो

कांग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वातावरण बनाउँछन् भन्ने भरोसा गरेका थिए । तर जसरी २०६४ मा गिरिजाप्रसाद कोइरालालाई धोका दिए, अहिले देउवालाई पनि त्यसरी नै धोका दिन खोजेको कांग्रेस नेताहरु बताउँछन् ।

उनीहरुका अनुसार कहिले सांस्कृतिक राजा (कल्चरल किङ्ग) त कहिले बेबी किङ्गको प्रस्ताव गर्ने गरेका तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद थुप्रै जोखिम लिएर शान्ति र लोकतन्त्रको बाटोमा हिंड्न तयार भएका थिए । उनले पनि प्रचण्डमाथि निकै विश्वास गरेका थिए ।

कांग्रेसका तत्कालीन सभापति समेत रहेका कोइराला सधैंजसो ‘प्रचण्डलाई शान्ति र लोकतन्त्रको मुलधारमा मैले ल्याएको हुँ । मुलुकमा शान्ति र लोकतन्त्र आएन भने म मरेपछि पनि मेरो आत्मा यहाँ भौंतारिरहने छ’ भन्ने गर्थे । तर पहिलो संविधानसभा चुनावमा माओवादी सबभन्दा ठूलो दल बनेपछि कोइरालालाई राष्ट्रपति बनाउन प्रचण्ड तयार भएनन्, जसलाई कांग्रेस नेताहरुले ‘धोका’ को रुपमा बुझेका छन् ।

अहिलेका कांग्रेस सभापति देउवा पनि हिचकिचाहटसहित गठबन्धन सरकारको नेतृत्वका लागि तयार भएका थिए । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा अर्ली इलेक्सनकै पक्षमा रहेका देउवाले सरकारको नेतृत्वमा रुचि देखाएका थिएनन् ।

पार्टी भित्रैबाट दुःख गरेर बनाएको संविधान ओलीले च्यातच्युत पार्न थाले, यो बेला पनि कांग्रेसले विकल्प नदिने भनेर देउवामाथि दबाव पर्यो । प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले पनि निरन्तर आग्रह गरेपछि देउवा बल्ल वैशाखतिर गठबन्धन सरकार बनाउन तयार भए ।

गठबन्धन गर्नुअघि देउवाले आफैं मात्र होइन, पार्टीका नेताहरुमार्फत पनि प्रचण्डसँग निकै सम्वाद गरेका थिए । नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, सुनिल थापा लगायतलाई पठाएर एमसीसीबारे धेरै सम्वाद गराए । आफैंले पनि धेरै पटक सम्वाद गरे ।

कांग्रेस नेताहरुका अनुसार त्यस्ता छलफलहरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सधैं एमसीसी अनुमोदनका लागि आफू कन्भिन्स रहेको, तर पार्टीका नेताहरु घेरबन्दी गरेको सन्देश दिइरहे । त्यही कारण पार्टीकै नेताहरुले ‘प्रचण्डले एमसीसी अनुमोदन गर्न दिंदैनन्’ भन्दा पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले ‘मलाई भोट हाल्छु भनेको छ’ भन्दै प्रतिवाद गर्थे ।

नेताहरुका अनुसार एमसीसीबारे भएका सम्वादहरुमा प्रचण्डले ‘मैले यो गरेँ, त्यो गरें’ भनेर सुनाउने गर्थे । कांग्रेस नेताहरुलाई लाग्यो, ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले थुप्रै मानार्थ विद्यावारिधि पाएका छन्, प्रचण्डलाई पनि अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि दिलाउन सके मलाई ‘रिकग्नाइज’ गर्यो भन्ने हुन्छ ।’ उनीहरुले प्रधानमन्त्री देउवाले त्यही सुनाए । जवाफमा देउवाले नोबेल शान्ति पुरस्कारकै लागि सिफारिस गर्छु भनेको छु भन्थे । कांग्रेसका एक नेता भन्छन्, नोबेल पुरस्कारका लागि सिफारिस गर्छु भन्नु शेरबहादुरको लचकता हो, त्यसलाई प्रचण्डलाई बुझ्न सक्नुभएको छैन ।’

पछिल्लो पटक पनि एमसीसी अनुमोदनका लागि वातावरण बनाउनै प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्न तयार भए । कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय हामीले कयौं पटक भन्यौं, उहाँले एक मिनेट धैर्यपूर्वक सुन्नभएन । तर प्रचण्डका लागि वातवरण बनाउन सबथोक गर्नुभयो ।’

माओवादी अध्यक्ष प्रचण्डले भने ‘एउटा विन्दुसम्म देउवामा प्रधानमन्त्री बन्ने लोभ जागृत गर्न सकिनँ । एउटा विन्दुमा जागृत गरेँ, अब त्यसैमै खेलिराख्छु’ भन्ने सोच देखाएको कांग्रेस नेताहरुको आरोप छ । उनीहरुका अनुसार अब प्रधानमन्त्री देउवा देउवा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विच्किएका छन् । त्यसका लागि ५ फागुनको सर्वदलीय बैठक निर्णायक थियो ।

४ फागुनमा संसदीय दलबाट संसदको अवरोध कायम रहेसम्म एमसीसी टेबल गर्न नदिने, अवरोध हटेपछि टेबल हुँदा पनि विपक्षीमा मत दिने र सरकार छाड्ने निर्णय गराएर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुग्दा नै देउवाले असहज मानेका थिए । तर साँझ फेरि प्रचण्ड बालुवाटार पुगे र, प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी टेबल गर्न दिन आफू तयार रहेको संकेत गरे ।

त्यही कारण ५ गते सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकबाट निकास निस्कनेमा उनी आशावादी थिए । त्यो बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदको अवरोध कायम रहेसम्म एमसीसी टेबल हुननसक्ने संसदीय दलको निर्णय भएको बताउँदा पनि देउवाले प्रतिवाद गरेका थिए । प्रचण्डले टेबल गर्न सहमति दिइसकेको छ भन्ने सन्देश दिन उनले श्रेष्ठलाई भनेका थिए, ‘तपाई प्रचण्डलाई नविगार्नुस्, अप्ठ्यारोमा नपार्नुस् ।’

तर प्रचण्डले त्यसको प्रतिवाद गरे । प्रधानमन्त्री देउवाले आफूहरुको बीचमा खेल्न खोजेको भन्दै प्रचण्डले भनेका थिए, ‘म क्लियर भन्छु, यो मेरै कुरा हो । पार्टीमा प्रस्ताव मैले गरेको हो, अहिले अवस्थाको एमसीसी टेबल हुन सक्दैन । टेबल हुने अवस्थामा पनि खिलापमा भोट हाल्छौं, सरकार छाड्छौं ।’

त्यसपछि भने प्रधानमन्त्री देउवा, प्रचण्डसँग विरक्तिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रचण्डले मानेको अवस्थामा एमसीसी टेबल गर्न आफूले नरोक्ने सन्देश दिएकाले कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको निष्कर्ष छ, ‘यो (एमसीसी रोक्न) सबै प्रचण्डको कुरा हो ।’

ओलीप्रति गहिरो आशंका

नेताहरुकाअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी रोकेको बुझेका प्रधानमन्त्री देउवा सत्तारुढ गठबन्धन तोडेर प्रमुख विपक्षी एमालेसँग गइहाल्ने अवस्था पनि बनेको छैन । देउवा आफैं र अरु नेताहरुमाथि एमाले अध्यक्ष ओलीसँग निरन्तर सम्वादमै छन् । ५ फागुनमा सत्तारुढ गठबन्धनमा सहमति नहुनासाथ उनी आफैं ओलीलाई भेट्न बालकोट पुगेका थिए । सम्वादहरुमा ओलीले सत्ता गठबन्धन टुटाएर आए एमसीसी पारित गर्न साथ दिने इप्रेसन दिएका छन्, जुन कांग्रेसका धेरै नेताको चाहना पनि हो ।

कांग्रेस र एमालेले एमसीसीको पक्षमा भोट हाल्ने भने चुनावमा ठूलो असर नगर्ने उनीहरुको बुझाइ छ । एक नेता भन्छन्, ‘अलग अलग भोट हाल्यौं भने हामी सकिन्छ । किनकी एमाले र हाम्रो भोट हाराहारी हो ।

एमसीसीका कारण हाम्रो भोट ३ प्रतिशत मात्र घट्यो, एमालेको ३ प्रतिशत मात्र बढ्यो भने हामी सकिन्छौं ।’ त्यसैले एमसीसी विरोध भोट अरु दललाई दिएर भएपनि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने नेताहरुको तर्क छ । यही तर्क गर्नेमध्येका एक डा. मिनेन्द्र रिजाल भन्छन्, ‘नेपालमा फुजलमा विदेशी सहायता र सबन्धलाई विवादित गर्ने चलन थियो, शेरबहादुर भन्ने मान्छेले त्यसलाई अन्त्य गर्यो भन्ने हुन्छ यसमा फेल गर्नुभयो भने उहाँ इतिहासको कठघरामा उभिनुपर्छ ।’

तर प्रधानमन्त्री देउवाले एमालेसँग सम्वादमा रहेका नेताहरुलाई ‘ओलीले गर्छन् र भनेर सोध्ने गरेका छन् ।

अर्थात प्रधानमन्त्री देउवालाई ओलीमाथि आशंका छ । त्योभन्दा बढ्ता राष्ट्रपति विद्यादेवी भण्डारीमाथि शंका छ । यदि आफूले पाँच दलको गठबन्धन छाड्ने हो भने राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार सरकार बनाउन आह्वान गर्ने र कुनै पनि दलको बहुमत नपुगेपछि ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री बन्ने उनको आशंका छ ।

साथै आफूले छाड्नासाथ एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वाम गठबन्धन गर्ने देउवालाई डर छ । त्यो अवस्थामा कांग्रेस एक्लैले एमसीसीको अपजस लिनुपर्ने र आगामी चुनावमा २०७४ मा झै नराम्रो पराजय व्यहोर्नुपर्ने हो कि भन्ने चिन्ता छ । एक नेता भन्छन्, ‘प्रचण्ड र ओलीलाई नेगोसिएट गराउन राष्ट्रपति लाग्नुभएको छ भन्ने इम्प्रेसन दिन प्रचण्ड सफल हुनुभएको छ । त्यसलाई नचिर्दासम्म देउवा र ओलीबीच सहमति हुन सक्दैन ।’

माधव नेपालमाथि सहानुभूति

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, एमालेसँग सहमति गर्न हिचकिचाउनुको अर्को कारण हो, माधवकुमार नेपाल । कांग्रेस नेताहरुका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालप्रति देउवाको ‘सफ्ट कर्नर’ छ । बन्द कोठामा हुने छलफलहरुमा नेता नेपालले पनि एमसीसीबारे अप्ठ्यारो पारेका छैनन् ।

एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिन सहमत अध्यक्ष नेपालले मतदानको बेला ह्वीप नलगाउने बचन पनि दिएका छन् । त्यो अवस्थामा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएकाहरु र अरु केही सांसदले एमसीसीकै पक्षमा भोट हाल्ने कांग्रेस नेताहरुको विश्वास छ ।

तर एमसीसी अनुमोदनका लागि एमालेसँग सहकार्य गर्ने बाटो रोज्नु भनेको माधवकुमार नेपाल र उनको पार्टी समाप्त पार्न तयार हुनु हो । किनकि त्यो बेलामा एमालेले सभामुख माग्ने र माधवकुमार नेपालसहित १४ जनाको पद खोसिदिने पक्का छ ।

देउवाले आफूहरुसँग हुने छलफलमा ‘केपीसँग मिल्नु भनेको माधव नेपाललाई समाप्त गर्नु हो । मेरो नैतिक जिम्मेवारी छ, माधव नेपाललाई के गर्ने ?’ भन्ने गरेको कांग्रेसका नेताहरु सुनाउँछन् । भन्छन्, ‘एमालेसँग मिल्न माधव नेपाललाई छोड्नुपर्छ । यसमा सभापतिलाई सकस भइरहेको छ ।’

 

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?