+
+

काठमाडौंमा सस्ता फर्निचर : कति मूल्यसम्ममा पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १४:१८

९ फागुन, काठमाडौं । नयाँ घर वा डेरा सर्ने बेलामा सबैभन्दा टाउको दुखाइको विषय बन्छ फर्निचरको व्यवस्थापन । कस्तो फर्निचर राम्रो होला ? अक्सर हामी यसको जवाफ मूल्यसँग जोडेर हेर्छौं । महंगो फर्निचर नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ । तर बजारमा सस्तो मूल्यमा फर्निचर बेच्नेहरुले पनि महँगो हुँदैमा बलियो हुने र सस्तो हुँदैमा कमसल हुन्छ भन्ने नहुने व्यवसायीहरु बताउँछन् ।

काठमाडौंका विभिन्न कुनामा सस्ता फर्निचर पाउने पसलहरु छन् । जसमा कोठा, फ्ल्याट तथा सिंगै घरको लागि फर्निचरको व्यवस्था गर्न सकिन्छ । यस्ता फर्निचरहरु हामीले कसरी छनोट गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । साथसाथै आफ्नो घरको रुपरेखा कस्तो छ ? भित्ताको रंग कस्तो छ ? घर–कोठालाई कुन किसिमको सजावटमा ढालेका छौं ? त्यसैमा आवश्यक फर्निचर पनि निर्भर रहन्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका गोंगबुमा रहेको भट्टराई फर्निचरका सञ्चालक मुकुन्द भट्टराई चिलाउनेबाट बनेका विभिन्न फर्निचर सामग्रीहरु सस्तो मूल्यमा पाइने बताउँछन् । उनी चिलाउनेको खुट्टे खाट ३ हजार २०० रुपैयाँदेखि ३ हजार ८०० रुपैयाँसम्ममा पाइने बताउँछन् । त्यस्तै, लो बेड साइज अनुसार ४ हजार ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका खाटहरु पाइन्छन् । त्यस्तै, दुई पिस दराजको मूल्य १७ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म रहेको भट्टराई बताउँछन् ।

त्यस्तै, काठमाडौंको खुसिबुमा रहेको फर्निचर सोलुसनले सस्तो मूल्यमा सेकेण्ड ह्याण्ड फर्निचर पनि बेच्ने गरेको छ । नयाँ फर्निचर किन्न आर्थिक समस्या भएकाहरुलाई सेकेण्ड ह्याण्ड फर्निचरको समेत व्यवस्था रहेको सोलुसनका सञ्चालक नरेन्द्र महर्जन बताउँछन् । यस्ता फर्निचरहरु सिसौ र सालबाट बनेका पनि हुने गरेको उनको भनाइ छ । महर्जनका अनुसार खुट्टे खाटको मूल्य १ हजार ५०० रुपैयाँदेखि २ हजार ५०० रुपैयाँसम्म तोकिएको छ । लो बेड नै ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँको बीचमा सादा खाटहरु पाउने उनी बताउँछन् ।

घरलाई कसरी आकर्षक बनाउने ?

घर त्यतिबेला मात्र पूर्ण देखिन्छ, जब घरमा आवश्यक फर्निचर राखिन्छन् । बजारमा सस्तादेखि महँगा फर्निचरहरू उपलब्ध हुन्छन् । तीमध्ये हामीले हाम्रो बजेट अनुसारको फर्निचर छनोट गर्नुपर्छ । नयाँ फर्निचर किन्ने हो भने त्यसको लागि धेरै प्रकारका योजनाहरु बनाउनुपर्छ । अधिकांश मानिसहरु योजना नै नबनाइ फर्निचरले घर भरिदिन खोज्छन् । जसले गर्दा घर सुन्दर देखिनुको साटो त्यो फर्निचर थुपार्ने काम मात्रै हुन्छ ।

फर्निचरलाई मिलाएर राख्नु पनि एउटा कला हो । यो कला इन्टेरियर डिजाइन अन्तर्गत पर्दछ । आन्तरिक सजावटमा हुने स–साना गल्तीले घरको स्वरुप नै नराम्रो देखिन सक्छ । यहाँ हामी केही जानकारी प्रस्तुत गर्दैछौं, जसबाट तपाईंले घरका कोठामा फर्निचरलाई आकर्षक तरिकाले राख्न सक्नु हुनेछ ।

घरलाई सुन्दर बनाउन फर्निचरले पनि भूमिका खेलेको हुन्छ । घर तयार भएपछि फर्निचर व्यवस्थापन गर्नु उत्तिकै महत्व भएपनि लागत अभावले कतिपयले फर्निचरमा भने सम्झौता गर्ने गरेको पाइन्छ । तर, सकभर कुनै पनि सर्तमा घरमा आवश्यक फर्निचर व्यवस्थापनमा सम्झौता गर्नु राम्रो नहुने जानकारहरु सुझाउँछन् ।

पछिल्लो समय बजारमा नयाँ र महँगा डिजाइनका फर्निचर उपभोक्तालाई छानीछानी खरिद गर्ने सुविधा छ । देखासिकीमा घरको साजसज्जाका लागि इन्टेरियर डिजाइनमा नचाहिने सामान पनि थोपर्ने गरेको पाइन्छ । घर सजाउन कस्तो फर्निचर छान्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । डिजाइनले पनि कस्ता सामान उक्त घरका लागि आवश्यक हुन्छ भन्ने निर्धारण गर्न सहज हुन्छ ।

पछिल्लो समय काठको ठाउँमा नयाँ नयाँ विकल्प देखापरेका छन् । हेम्प, स्टिल, बाँस, यूपीभीएस, प्लास्टिकलगायतको प्रयोगबाट बनेका फर्निचर पनि उत्तिकै उपयोगी विकल्प हुन सक्छन् । त्यसैले यस्ता किसिमका सामानको सही ढंगले प्रयोग गरे पछुताउनुपर्ने हुँदैन । तर घरको डिजाइनअनुसार यस्ता कुन सामग्री, कहाँ प्रयोग गर्ने हो, यसले फरक पार्न सक्छ । त्यस कारण यी सामानको प्रयोग गरिरहँदा विज्ञको सुझाव लिनु अझ बढी लाभप्रद हुन सक्छ । यसरी सामान्य कुरामा ध्यान दिने हो भने तपाईंले फर्निचर व्यवस्थापनमा धेरै हदसम्म लागत घटाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?