+
+

कलेजो दान : केही भ्रम, केही यथार्थ

कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड रहेका छन् । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंग दान गर्दा दुई वटा कुरा हेरिन्छ ।

प्रा.डा रमेशसिंह भण्डारी प्रा.डा रमेशसिंह भण्डारी
२०७८ फागुन १० गते १२:४७

मानव शरीरभित्रको सबैभन्दा ठूलो अंगका रूपमा कलेजोलाई चिनिन्छ । पाचन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने, रगतमा रहेका हानिकारक पदार्थलाई निष्क्रिय बनाउने, विभिन्न खालका प्रोटिन बनाउने जस्ता धेरै काम कलेजोले गर्छ ।

कलेजो विभिन्न कारणले बिगि्रन सक्छ । कलेजो बिग्रनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो । अन्य कारण हेपाटाइटिस ‘बी’ र ‘सी’ हुन् । हेपाटाइटिस भाइरस संक्रमणको कारणले समेत कलेजो बिग्रने सम्भावना अत्यधिक हुने गर्छ । कतिपय समयमा वंशाणुगत गुणका कारण कलेजोमा समस्या हुन सक्छ । कलेजोमा अत्यधिक बोसो जम्नु, पित्तको नलीसम्बन्धी रोग लाग्नु, पित्त तथा कलेजोमा क्यान्सर हुनु पनि कलेजो बिग्रनुका मुख्य कारक तत्व हुन् । पछिल्लो समय नेपालमा कलेजोका समस्या भएका बिरामीको संख्या बढिरहेको छ ।

लिभर सिरोसिस

विभिन्न कारणले लामो समयसम्म कलेजोमा रहेको समस्याले कलेजोलाई ‘सिरोसिस’ भन्ने जटिल स्थितिमा पुर्‍याउँछ । सिरोसिस भन्नाले कलेजोमा देखिने कडापन हो । सुरुको अवस्थामा कलेजो सुन्निन्छ तर विस्तारै सुक्दै जान्छ र काम गर्न नसक्ने साना-साना गाँठाहरूले कलेजोको कोषिकाको ठाउँ लिन्छ । यसलाई लिभर सिरोसिस भनिन्छ । सिरोसिस यस्तो अवस्था हो जुन अवस्थामा पुगेपछि लिभरले काम गर्न छोड्छ ।

अन्तिम अवस्था पुग्नुभन्दा अगाडि नै कलेजो फेर्न सकिएको अवस्थामा बिरामी साधारण जीवनमा र्फकन सक्छ । कलेजो फेल भएका मानिसलाई नयाँ जीवन दिनका लागि कलेजो दान आवश्यक हुन्छ । नेपालमा प्रविधिको साथ-साथै दक्ष जनशक्ति उत्पादन भई कलेजो फेल भएका व्यक्तिलाई कलेजो प्रत्यारोपण गरी पुनर्जीवन दिन समक्ष भएका छौं ।

कलेजो दान

कलेजो दान दुई प्रकारले गर्न सकिन्छ । पहिलो, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट र दोस्रो, लिभिङ डोनर ।

विशेषगरी ‘मस्तिष्क मृत्यु’ भएका व्यक्तिको मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्र, आँखा र छाला निकालेर अरूलाई प्रत्यारोपण गर्न सकिन्छ । त्यसैगरी, जुन जीवित व्यक्तिको कलेजो केही भाग पनि लिन सकिन्छ । यसलाई हामी ‘लिभिङ डोनर’ भन्छौं ।

मस्तिष्क मृत्यु भन्नाले धेरै मानिसको बुझाइ मृत्यु भएको शरीरको अंग निकाल्ने भन्ने बुझिन्छ । तर, मस्तिष्क मृत्यु भन्नाले मस्तिष्क मात्रै मृत्यु भएको र बाँकी अन्य शरीरका अंगले राम्रोसँग काम गरेको बुझिन्छ । धेरैजसो मानिसमा टाउकोमा चोटपटक लागेको वा विभिन्न कारणले टाउको वा दिमागमा असर गरेका मानिसहरू भेन्टिलेटरमा जान्छन् । यस्तो अवस्थामा बिरामीको दिमाग (ब्रेन)ले काम गर्न छोड्छ । बाँकी रहेका अन्य अंग (मिर्गौला, फोक्सो, मुटु, कलेजो) आदिले राम्रोसँग काम गर्छन् । विभिन्न परीक्षणबाट चिकित्सकले ब्रेनले काम गर्न सक्छ कि सक्दैन भनेर छुट्याउँछन् । ब्रेनले काम नगरेका बिरामीहरू केही समय भेन्टिलेटरमा रहनसक्छन्, तर जीवन फर्किएर नर्मल अवस्थामा आउन सक्दैनन् । यस्ता बिरामीको विभिन्न अंग झिकेर प्रत्यारोपण गर्न सकिन्छ ।

मस्तिष्क मृत्यु भएको जुनसुकै बिरामीको अंग लिन सकिंदैन । धेरैजसो क्यान्सरका तथा भाइरस संक्रमण (एचआईभी, हेपाटाइटिस ‘बी’) भएका बिरामीको अंग लिन मिल्दैन । किनभने अर्को मानिसमा प्रत्यारोपण गर्दा पुनः क्यान्सर वा भाइरस संक्रमण सर्न सक्ने सम्भावना हुन्छ । त्यसैगरी, कहिलेकाहीं बिरामीको रोगको प्रकृति र ‘ओभरल’ स्वास्थ्य स्थिति हेरेर मात्रै अंग लिन्छौं ।

सामान्यतया ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिको अंग लिदैनौं । ६५ वर्ष माथिको उमेरका व्यक्तिहरूमा अन्य रोगहरू पनि बढिसकेका हुन्छन् । मुटु, छाती, फोक्सो सम्बन्धी रोग उनीहरूमा देखिन थालिसकेका हुन्छन् । अन्यथा कोही व्यक्ति स्वास्थ्य परीक्षण गरेर दिन मिल्ने अवस्थामा रहेका छन् भने त्यस्ता व्यक्तिको अंग लिन सक्छौं ।

कस्तो व्यक्तिले कलेजो दान गर्न सक्छ ?

कलेजो दान गरेको बिरामी दुई महिना जतिमा आफैं हिंडडुल गर्न सक्छ । तर, एकपटक कलेजो दान गरेपछि अर्को पटक दान गर्न भने मिल्दैन । जसका कारण अरू अंगमा पनि बढी जोखिम हुनसक्छ

कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड रहेका छन् । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंग दान गर्दा दुई वटा कुरा हेरिन्छ । एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको कुरा हेर्नुपर्ने हुन्छ । जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ । फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन । बिरामी र डोनरको ‘ब्लड गुप्र’ मिल्नुपर्छ ।

यो बाहेक कानुनी रूपमा मिल्नुपर्छ । सन् २०१६ अगाडि नेपालको कानुन साँघुरो बनाइएको थियो । त्यसपछि अलि फराकिलो भएको छ । जसमा आफ्नो बुवा-आमा, दिदी-बहिनी, दाजु-भाइ, काका-काकी बाहेक पनि अलिकति टाढाको नातेदारले पनि दिन पाउँछन् । तर प्रमाणित नाता भने हुनुपर्ने हुन्छ ।

कलेजो दान कति जटिल प्रक्रिया हो ?

कलेजो दान जटिल शल्यक्रियाको रूपमा लिने गरिन्छ । जटिल भए तापनि बिरामीलाई दिने हेरचाह, प्रविधि तथा दक्ष जनशक्तिले गर्दा कलेजो शल्यक्रियाले सफलता पाइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा महिनामै दुई-तीनवटा शल्यक्रिया भइरहेको छ । कुनै पनि शल्यक्रिया शतप्रतिशत सफल त हुँदैन तर, ९८ प्रतिशत सफल नै हुन्छ । १-२ प्रतिशत मानिसमा जटिल भएका कारण विभिन्न समस्या देखिन सक्छ ।

बिरामीलाई न्यूनतम कति चाहिने हो भनेर हेर्ने गरिन्छ । त्यसअनुसार दान दिने मानिसको कलेजो कतिसम्म लिन सकिन्छ भनेर हेरिन्छ । बाँकी रहेको कलेजोले कलेजो दिने व्यक्तिलाई धान्न सक्न वा सक्दैन, सबै हेरिन्छ । सामान्यतया ठूला मानिसमा हामीले ५० देखि ६० प्रतिशतसम्म लिन सक्छौं । तर, साना बच्चामा २०-३० प्रतिशत भए पुग्ने भएकाले ठूला व्यक्तिबाट कलेजो लिन सकिन्छ । दान दिने तथा लिने मानिसको कलेजो पछि बढ्दै गएर ६ देखि ८ हप्तापछि नर्मल अवस्थामा पुग्छ ।

कलेजो दान गर्न गरिने शल्यक्रिया एक जटिल प्रक्रिया हो । धेरैजसो छोटो समयमा समस्या देखिन सक्छ । तर, दीर्घकालीन रूपमा खासै समस्या देखिंदैन । कहिलेकाहीं रगत बग्ने, पित्त चुहिने, घाउको संक्रमण हुने जस्ता समस्या थोरै मानिसमा आउन सक्छन् । तर, यस्ता समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ । कलेजो दान गरेको बिरामीको शल्यक्रिया ठूलो हुने भएकाले केही अप्ठ्यारो हुने वा त्यस ठाउँमा ‘हरनिया’ हुनसक्छ । कलेजो दान गर्दा मानिसको मृत्यु हुने सम्भावना एकदमै न्यून हुन्छ । हजारौं केसमा एक जनामा त्यस्तो पनि हुनसक्छ ।

प्रत्यारोपणपछि बिरामीलाई सामान्यतया एक-दुई दिन आईसीयूमा राखिन्छ । त्यसपछि १० दिन जति वार्डमा । बिरामीले राम्रोसँग खान, हिंडडुल गर्न सक्ने भएपछि उसलाई घर पठाइन्छ । अर्को ४ देखि ६ हप्ता घरमै आराम गर्नुपर्ने हुन्छ । बिरामीले ६ हप्तादेखि नर्मल काम गर्न सक्छ । कलेेजो दान गरेको बिरामी दुई महिना जतिमा आफैं हिंडडुल गर्न सक्छ । तर, एकपटक कलेजो दान गरेपछि अर्को पटक दान गर्न भने मिल्दैन । जसका कारण अरू अंगमा पनि बढी जोखिम हुनसक्छ ।

(लेखक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सर्जनका रूपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?