+

यी ५ संकेत देखिए सम्झनुहोस् तपाईंलाई फ्याटी लिभरको समस्या छ

२०८२ भदौ  १० गते १३:१७ २०८२ भदौ १० गते १३:१७
Shares
यी ५ संकेत देखिए सम्झनुहोस् तपाईंलाई फ्याटी लिभरको समस्या छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्था हो, जुन प्रायः सुरुमा कुनै लक्षण नदेखाउने \'साइलेन्ट\' रोग हो।
  • फ्याटी लिभर हुँदा पेटको दाहिने भागमा भारीपन महसुस हुन्छ र मोटा व्यक्तिमा अल्ट्रासाउन्डबाट थाहा हुन्छ।
  • फ्याटी लिभरको मुख्य कारण मदिरापान हो, तर मदिरा नपिउनेमा पनि देखिन सक्छ ।

सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ । फ्याटी लिभर प्रायः सुरुमा कुनै लक्षण नदेखाउने ‘साइलेन्ट’ रोग हो, जसलाई रुटिन चेकअप वा अल्ट्रासाउन्ड जाँचबाट मात्र थाहा हुन्छ ।  तर, जब यो बढ्दै जान्छ, केही सङ्केतहरू देखा पर्न थाल्छन् ।

१.पेटको दाहिने भागमा भारीपन वा असजिलो महसुस हुने 

फ्याटी लिभर हुँदा लिभर भएको दाहिने भागमा भारीपन, ढुस्स वा असजिलो महसुस हुन्छ । यो सुरुको मुख्य संकेत हो, जसलाई ‘फिलिंग हेभीनेस’ वा ‘डिस्कम्फर्ट’ भनिन्छ । पेटमा बोसो जम्मा भएर लिभर सुन्निने भएकाले यो हुन्छ । यदि यो समस्या बढ्दै गयो भने, डाक्टरले अल्ट्रासाउन्ड गर्दा फ्याटी लिभर देखिन सक्छ । यो संकेत प्रायः मोटा व्यक्तिहरूमा देखिन्छ, जसमा पेटको मध्य भाग ठूलो हुन्छ ।

२.थकान वा आँखा थाकेको जस्तो महसुस हुने

फ्याटी लिभरले शरीरमा थकान बढाउँछ, जसमा आँखा थाकेको वा पूरै शरीर कमजोर भएको जस्तो लाग्छ । यो ‘साइलेन्ट’ भए पनि, जब बोसो लिभरमा जम्मा हुन्छ, ऊर्जा कम हुने र दैनिक काममा असर पर्न थाल्छ । यो संकेत कलेजोको कार्यक्षमता घट्दा देखिन्छ, जसले गर्दा कलेजो फेल हुने अवस्थासम्म पुग्न सक्छ । रुटिन चेकअपमा ब्लड टेस्ट गर्दा लिभर इन्जाइम बढेको पाइन्छ, जसले यो थकानको कारण पुष्टि गर्छ ।

३.भोक नलाग्ने वा खाना नपच्ने 

फ्याटी लिभर हुँदा खाना बढी लाग्ने वा राम्रोसँग नपच्ने समस्या हुन्छ ।  यो संकेत लिभरले खानालाई प्रोसेस गर्न नसक्दा देखिन्छ, जसले गर्दा पेट फुल्ने वा अपच हुन्छ । प्रायः मोटा व्यक्तिहरूमा यो बढी हुन्छ, किनकि बोसो जम्मा भएर लिभरको काम प्रभावित हुन्छ । यदि यो समस्या लामो समय रह्यो भने, वजन बढ्ने वा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छ ।  डाक्टरले ब्लड टेस्ट वा अल्ट्रासाउन्डबाट यो पुष्टि गर्छन् ।

४.मोटोपन, विशेष गरी पेटको मध्य भागमा

फ्याटी लिभरका बिरामीहरू प्रायः मोटा हुन्छन्, जसमा पेटको मध्य भाग ‘सेन्ट्रल ओबेसिटी’ ठुलो देखिन्छ । यो  पेट ठुलो हुने संकेत हो, जसले गर्दा बोसो लिभरमा जम्मा भएको बुझिन्छ ।

यो संकेत सुरुमा सामान्य लागे पनि, फ्याटी लिभरको मुख्य कारण र संकेत हो । यदि पेटमा बोसो पलाएको छ भने, अल्ट्रासाउन्डमा फ्याटी लिभर देखिन्छ र लिभर इन्जाइम बढेको पाइन्छ । यो नियन्त्रण नगरे फाइब्रोसिस वा सिरोसिस हुन सक्छ।

५.आँखा पहेंलो हुने वा जन्डिस

फ्याटी लिभर सुरुमा जन्डिस निम्त्याउँदैन, तर जब यो फाइब्रोसिस हुँदै सिरोसिसमा पुग्छ, आँखा वा छाला पहेँलो हुने जन्डिस देखिन्छ । यो अन्तिम चरणको संकेत हो, जसलाई ‘इन्ड–स्टेज लिभर डिजिज’ भनिन्छ जसमा लिभर पूर्ण रूपमा प्रभावित हुन्छ ।

यो भाइरल हेपाटाइटिस वा पित्त नली ब्लक हुँदा पनि हुन्छ, तर फ्याटी लिभरबाट आएको भए कलेजो प्रत्यारोपणसम्म चाहिन सक्छ । सुरुमा यो संकेत नदेखिने भएकाले रुटिन चेकअप महत्वपूर्ण छ ।

फ्याटी लिभरको कारण ?

फ्याटी लिभर हुनुमा मदिरापान सबैभन्दा ‘आम’ कारण मानिन्छ । तर मदिरा नपिउने मानिसमा पनि फ्याटी लिभर देखिनुमा भने चिकित्सकहरू समेत अचम्मित छन् ।

जबकि शरीरले अधिक मात्रामा बोसो पैदा गरेमा वा खानालाई शक्तिमा परिणत गर्न नसकेमा लिभरमा फ्याट जम्मा हुने गर्दछ । अधिक गुलियो खानेकुरा खाँदैमा लिभरमा फ्याट जम्मा नभए पनि फ्याटी लिभरमा यसले अवश्य योगदान पु¥याउन सक्दछ ।

फ्याटी लिभरबाट कसरी बच्ने ?

फ्याटी लिभरको समस्या देखिएमा मोटोपन छ भने तौल घटाउन प्रयास गर्ने, व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, बोसोरहित खानेकुराको सेवन गर्ने र समय–समयमा रगत जाँच गराउनुपर्छ । यसमा कोलेस्टेराेलको मात्रा कति छ भनेर जाँच गरिन्छ । यदि फ्याटी लिभर भइसकेको छ भने औषधिमार्फत नियन्त्रण गर्न सकिन्छ ।

कलेजो फ्याटी लिभर
डा. एकानन्द सिंह
लेखक
डा. एकानन्द सिंह
कलेजो प्रत्यारोपण सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११७ अध्ययन : एमबीबीएस, एमएस, पीएचडी (हेप्याटोबिलियरी सर्जरी), कलेजो प्रत्यारोपण सर्जरीमा फेलोसिप हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय