News Summary
Generated by OK AI. Editorially reviewed.- युरिक एसिड प्रोटिनको मेटाबोलिज्मबाट निस्कने घुलनशील तत्त्व हो, जुन सामान्यतया पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ।
- मिर्गौलाको पिसाब छान्ने क्षमता कम हुँदा युरिक एसिड जोर्नीहरूमा जम्मा भएर गाउट र जोर्नी दुख्ने समस्या निम्त्याउँछ।
युरिक एसिड रगतमा पाइने घुलनशील तत्त्व हो, जो प्रोटिनको मेटाबोलिज्मबाट निस्कन्छ । यो विशेष गरी न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट बन्छ ।
सामान्यतया, युरिक एसिड पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ । तर, जब मिर्गौलाको पिसाब छान्ने वा युरिक एसिड बाहिर फाल्ने क्षमतामा कमी आउँछ, यो जोर्नीहरूमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने र गाउट जस्ता समस्याहरू निम्त्याउँछ । युरिक एसिडको स्तर व्यक्तिपिच्छे फरक–फरक कारणले बढ्न सक्छ ।
धेरैले उच्च प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ भन्ने ठान्छन्, तर यो गलत हो । युरिक एसिडको स्तर प्रोटिनसँग होइन, प्युरिनसँग सम्बन्धित हुन्छ ।
के नखाने ?
उच्च युरिक एसिडको स्तर नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ । यी खानेकुराहरूले युरिक एसिडको स्तर बढाउन सक्छ
उच्च प्युरिनयुक्त खानेकुराहरू
रातो मासु : खसी, राँगाको मासु साथै बेकन, ससेज जस्ता प्रशोधित मासु ।
जनावरका भित्री अंगहरू : कलेजो, मिर्गौला, मुटु आदि ।
सामुद्रिक खाना : टुना, सार्डिन, झिगे माछा, माछाको अण्डा ।
तरकारीहरू : काउली, ब्रोकाउली, च्याउ, पालुङ्गो, कुरिलो, हरियो केराउ, प्याजको पात । यी तरकारीहरू पूर्ण रूपमा बन्द गर्नुपर्दैन, तर कम मात्रामा खानुपर्छ । केही व्यक्तिलाई गोलभेडाले ट्रिगर गर्न सक्छ, त्यसैले शरीरको अवस्था हेरेर खानुपर्छ ।
गेडागुडी : राजमा, चना, क्वाँटी । यी गेडागुडी अत्यधिक मात्रामा नखाने ।
पेय पदार्थ : सोडा कोक, पेप्सी, स्प्राइट, फेन्टा जस्ता गुलियो पेय पदार्थहरू । साथै ह्वस्की बियर र वाइन जस्ता मदिरा । यी पेय पदार्थले युरिक एसिडको स्तर बढाउनुका साथै पिसाबमार्फत उत्सर्जनमा बाधा पुर्याउँछ ।
बेकरी र प्रशोधित खाना : पेस्ट्री, केक, बिस्कुट, चिप्स
के खाने ?
कम प्युरिनयुक्त खानेकुराले युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले यस्ता खानेकुराहरू समावेश गर्न सकिन्छ ।
फलफूल : स्याउ, सुन्तला, अम्बा, केरा, अनार ।
तरकारीहरू : फर्सी, लौका, मुला, गाँजर काँक्रो ।
गेडागुडी : मुगी दाल, मुसुरो दाल, कम मात्रामा र कहिलेकाहीँ चना वा अन्य दाल खान सकिन्छ ।
अन्न : चामल, गहुँ, जौ, ब्राउन राइस, ओट्स, क्विनोआ।
दुग्धजन्य उत्पादन : कम चिल्लो भएको दही, बटर मिल्क, पनिर । केही व्यक्तिमा दहीले ट्रिगर गर्न सक्छ, त्यसैले परीक्षण गरेर खानुपर्छ ।
नट्स र सिड्स : बदाम, चिया सिड्स, आलस,
पेय पदार्थ : कागती पानी, नरिवल पानी, ग्रिन टी, तुलसी चिया । दिनमा कम्तीमा २–३ लिटर पानी पिउनुपर्छ । जसले युरिक एसिड उत्सर्जनमा सहयोग गर्छ ।
एन्टी–इन्फ्लामेटरी खाना : बेसार, अदुवा, दालचिनी, लसुन । यी खानेकुराले जोर्नी सुन्निने समस्या र दुखाइ कम गर्छ ।
युरिक एसिड व्यवस्थापनका लागि बिहानदेखि बेलुकासम्म के खाने ?
बिहान
मनतातो पानीमा कागती, बेसार र दालचिनी मिसाएर पिउने । यो मिश्रणले शरीरलाई डिटक्सिफाइ गर्छ र सुन्निने समस्या कम गर्छ।
बिहानको खाजा
-बेसनको रोटी वा मुगी दालको स्प्राउट्स सलाद ।
-१–२ वटा उसिनेको अण्डा ।
-ग्रिन टी वा तुलसी÷दालचिनी चिया ।
दिउँसोको खाना
-ब्राउन राइस वा गहुँको रोटी ।
-मुगी वा मुसुरो दाल ।
-काँक्रो, गाजर, मुलाको सलाद ।
-सिजनल तरकारी, पालुङ्गो, च्याउ, काउली कम प्रयोग गर्ने ।
खाजा
-बदाम (५–६ दाना), मखाना वा सूर्यमुखीको बीउ ।
-कम चिल्लो भएको दही वा बटर मिल्क ।
-अदुवा चिया वा ग्रिन टी ।
बेलुकाको खाना
-रोटी, ओट्स वा क्विनोआ ।
-सिजनल तरकारी
-क्यामोमाइल चिया वा बेसार हालेको दूध ।
कस्तो जीवनशैली अपनाउने ?
-दिनमा २–३ लिटर पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने । यसले युरिक एसिड पिसाबमार्फत बाहिर निस्कन सहयोग गर्छ ।
-दैनिक ३०–४० मिनेट हल्का व्यायाम हिँड्ने, योग, स्ट्रेचिङ गर्ने । मोटोपन घटाउनाले युरिक एसिडको जोखिम कम हुन्छ ।
-दैनिक ७–८ घण्टा गहिरो निद्रा लिने । निद्राको कमीले युरिक एसिडको स्तर बढ्न सक्छ ।
-कोक, पेप्सी, बियर, वाइन पूर्णरूपमा बन्द गर्ने, यी पेयले युरिक एसिडको स्तर बढाउँछ र उत्सर्जनमा बाधा पुर्याउँछ ।
-रगत परीक्षणमार्फत युरिक एसिडको स्तर निगरानी गर्ने । जोर्नी दुख्ने, सुन्निने जस्ता लक्षणहरूलाई ध्यान दिएर खानपान समायोजन गर्ने ।
-ध्यान, प्राणायाम, र तनाव कम गर्ने गतिविधिहरूले युरिक एसिड नियन्त्रणमा सहयोग गर्छ ।
-भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, अमलाले युरिक एसिडको स्तर कम गर्न मद्दत गर्छ ।
-यदि युरिक एसिडको स्तर धेरै उच्च छ वा गाउटको समस्या छ भने डाक्टरसँग परामर्श गरेर औषधि वा डाइट प्लान बनाउने ।
प्रतिक्रिया 4