News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थामा पेटको आकार, खानाको इच्छा, छालाको अवस्था जस्ता लक्षणले शिशुको लिङ्ग थाहा पाउन सकिँदैन भन्ने चिकित्सकीय तथ्य छ।
- नेपालमा गर्भमै शिशुको लिङ्ग पहिचान गैरकानुनी भएकाले अल्ट्रासाउन्डबाट मात्र लिङ्ग थाहा पाउन सकिन्छ।
- गर्भावस्थामा हार्ट बर्न, मर्निङ सिकनेस र लिनिया नाइग्रा जस्ता लक्षणले छोरा वा छोरी हुने अनुमान लगाउनु अवैज्ञानिक मानिन्छ।
गर्भावस्था एउटा यस्तो अनुभव हो, जसमा आमा र परिवार दुवै विभिन्न प्रश्न र जिज्ञासाहरूले घेरिएका हुन्छन् । तीमध्ये एउटा साझा प्रश्न हो— गर्भमा छोरा छ कि छोरी ? यो चर्चा निकै सामान्य छ ।
गर्भवती महिलाको पेटको हेरेर छोरा हो कि छोरी थाहा हुने कुरा समाजमा सुनिन्छ ।
कोही भन्छन्, यदि पेट चुच्चो छ भने छोरा हुन्छ, कोही भन्छन्, यदि गुलियो खाने इच्छा हुन्छ भने छोरी हुन्छ । यस्ता दावीहरू पुस्तौँदेखि चल्दै आएका छन्, तर के यिनमा कुनै वैज्ञानिक सत्यता छ ?
सामाजिक सञ्जाल, ज्येष्ठ नागरिकहरूको सल्लाह र घरेलु मान्यताहरूले एक प्रकारको भ्रम सिर्जना गर्छ, जसले गर्भवती महिलाको सोच र मानसिक अवस्थालाई प्रभावित गर्न सक्छ। केही लक्षणहरूलाई लिएर यो प्रचार गरिन्छ कि, तिनले छोरा वा छोरी हुने संकेत दिन्छ । जस्तै- बिहानको वाकवाकी, अनुहारमा चमक वा दाग, मुड परिवर्तन आदि । यस्तोमा प्रश्न उठ्छ केही लक्षणहरू हेरेर गर्भमा छोरा छ कि छोरी थाहा पाउन सकिन्छ कि सकिँदैन ?
के साँच्चै लक्षणहरूबाट गर्भमा बच्चाको लिङ्ग थाहा पाउन सकिन्छ ?
मेडिकल विज्ञानको प्रगतिपछि, गर्भावस्थामा अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशु छोरा हो कि छोरी थाहा पाउन सकिन्थ्यो । तर, नेपालकाे हकमा गर्भमै लिङ्ग पहिचान गैरकानुनी छ ।
त्यसपछि केही व्यक्तिहरूले गर्भावस्थामा पुराना समयमा प्रयोग हुने तरिकाहरूबाट छोरा वा छोरी थाहा पाउने प्रयास गर्छन् । गर्भावस्थामा शरीरमा धेरै प्रकारका शारीरिक परिवर्तनहरू हुन्छन्, तर यी परिवर्तनहरू हेरेर गर्भमा रहेको शिशुको लिङ्ग थाहा पाउन निकै कठिन हुन्छ ।
मानिसहरूले शारीरिक परिवर्तन र सङ्केतहरूको आधारमा अनुमान लगाउने प्रयास गर्छन्, जुन पूर्णरूपमा अवैज्ञानिक मानिन्छ । यीमध्ये केहीको अनुमान सही हुन्छ, केहीको गलत।
गर्भावस्थामा पेटको आकारबाट लिङ्ग पत्ता लगाउन सकिन्छ ?
गर्भवती महिलाको पेटको आकार धेरै कुराहरूमा निर्भर गर्छ, जसमा शिशुको गर्भमा रहेको अवस्था, महिलाको शारीरिक बनावट र गर्भाशयको स्थिति समावेश हुन्छ । गर्भमा शिशु कसरी बसेको छ, त्यसले गर्भवती महिलाको पेटको आकारमा प्रभाव पार्छ ।
शिशुको टाउको तलतिर हुन सक्छ, जसले पेटलाई तल देखाउन सक्छ, वा शिशुको शरीर अगाडितिर हुन सक्छ, जसले पेट अगाडि देखिन्छ । यस्तो अवस्थामा पेटको आकार हेरेर शिशुको लिङ्ग पत्ता लगाउन सकिँदैन ।
महिलाको उचाइ, तौल र पेटको मांसपेशीको बलियोपनाले पनि पेटको आकारलाई प्रभाव पार्छ । प्रायः अग्ला र पातला महिलाहरूको पेट तलतिर देखिन्छ, जबकि छोचा र मोटा महिलाहरूको पेट माथि देखिन सक्छ । यस्तो अवस्थामा पेटको आकार हेरेर गर्भमा रहेको शिशुको लिङ्ग पत्ता लगाउनु सही हुँदैन ।
गर्भावस्थामा छातीमा जलन ‘हार्ट बर्न’ हुनु
गर्भावस्थामा छातीमा जलन वा हार्ट बर्नको समस्या सामान्य हो । तर, पुरानो समयमा भनिन्थ्यो कि लगातार र तीव्र जलनको संकेत छोरी हो र कम जलनको अनुभव भएमा गर्भमा छोरा छ । गर्भावस्थामा हर्मोनल परिवर्तनका कारण हार्ट बर्न हुन्छ, यसको शिशुको लिङ्गसँग कुनै सम्बन्ध छैन ।
गर्भावस्थामा क्रेभिङ हुनु
गर्भावस्थामा हार्मोनल परिवर्तनका कारण खानाको इच्छा (क्रेभिङ) हुन्छ । यदि गर्भवती महिलालाई मिठो खाने इच्छा छ भने छोरी हुन्छ, र यदि नुनिलो, पिरो वा अमिलो खाने इच्छा छ भने छोरा हुन्छ भन्ने मान्यता राखिन्छ । तर, यस्ता कुनै कुरा सत्य होइन । हार्मोनको असन्तुलनका कारण हरेक महिलामा खानाको इच्छा फरक–फरक हुन सक्छ।
गर्भावस्थामा छालामा परिवर्तन
गर्भवती महिलाको छालामा हुने परिवर्तनबाट पनि छोरा वा छोरी हुने अनुमान लगाउने प्रयास गरिन्छ । भनिन्छ, यदि छाला सुख्खा छ भने छोरा हुन्छ र तैलीय छाला भएमा छोरी हुन्छ । तर, यसको पछाडि कुनै वैज्ञानिक आधार छैन र यो दावी पनि मिथक मात्र हो ।
गर्भावस्थामा मर्निङ सिकनेस
यदि गर्भवती महिलालाई मर्निङ सिकनेस र वाकवाकी धेरै हुन्छ भने छोरी हुन्छ, र कम हुन्छ भने छोरा हुन्छ भनिन्छ । यसमा पनि कुनै सत्यताता छैन । गर्भावस्थामा ‘हाइपरमेसिस ग्रेभिडेरम’ वाकवाकी र बान्ता हुनु हार्मोनल परिवर्तनका कारण हुन्छ ।
‘लिनिया नाइग्रा’ पेटमा बनेको रेखाको लम्बाइ
गर्भावस्थामा पेटमा एउटा रेखा बन्छ, जसलाई लिनिया नाइग्रा भनिन्छ । यदि लिनिया नाइग्रा नाभीमुनिबाट सुरु हुन्छ भने छोरी हुन्छ, र यदि माथिबाट सुरु हुन्छ भने छोरा हुन्छ भनिन्छ । तर, गर्भावस्थामा हर्मोनल परिवर्तनका कारण मेलानिनको उत्पादन उत्तेजित हुन्छ, जसले लिनिया नाइग्राको अवस्था हरेक महिलामा फरक हुन्छ ।
यी लक्षण र सङ्केतहरू बाहेक अन्य धेरै लक्षणहरू पनि छन्, जसको सहायताले गर्भावस्थामा शिशुको लिङ्ग पहिचान गर्ने प्रयास गरिन्छ । तर, यी सङ्केतहरूबाट लिङ्ग थाहा पाउने पछाडि कुनै वैज्ञानिक आधार वा तथ्य छैन । गर्भावस्थाको लगभग १४ देखि २२ हप्तापछि अल्ट्रासाउन्डमार्फत बच्चाको लिङ्ग थाहा पाउन सकिन्छ ।
प्रतिक्रिया 4