+

गर्भनिरोधक औषधि खाँदा शरीरमा के हुन्छ ?

२०८२ साउन  १९ गते १६:०० २०८२ साउन १९ गते १६:००
Shares
गर्भनिरोधक औषधि खाँदा शरीरमा के हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भनिरोधक चक्कीले इस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर बढाएर डिम्ब निस्कन रोक्छ र गर्भधारणको सम्भावना कम गर्छ।
  • चक्की सेवनले पाठेघरको भित्री पर्खाल पातलो पारेर भ्रूण आत्मसात गर्न असमर्थ बनाउँछ र शुक्रकीटलाई डिम्बसम्म पुग्न रोक्छ।
  • गर्भनिरोधक चक्कीले पाचन प्रणालीमा असर पार्न सक्छ र मुटु, कलेजो रोगी तथा स्तन क्यान्सर पीडितले चिकित्सक सल्लाह बिना सेवन गर्नु हुँदैन।

पछिल्लो समयका दम्पतीमा गर्भावस्था र परिवार नियोजन सम्बन्धी प्राथमिकताहरू परिवर्तन भइरहेका छन् । करियर र पारिवारिक जिम्मेवारीबीच सन्तुलन राख्न सन्तुलन सन्तान जन्माउने कुरामा पूर्वयोजना बनाउने गर्छन् । यसका लागि विभिन्न गर्भनिरोधक विधिहरू प्रयोग गरिरहेका हुन्छन् ।

महिलाहरूमा गर्भनिरोधक चक्कीको प्रयोग पनि यस्तै एक लोकप्रिय विधि हो । यद्यपि, गर्भनिरोधक चक्कीबारे विभिन्न भ्रमहरू छन् । यी चक्कीको सेवनबाट हुने साइड इफेक्ट्सबारे धेरै कुरा सुनिन्छ ।

गर्भनिरोधक औषधिहरूको प्रयोगले कुनै ठूलो साइड इफेक्ट नहुने भए पनि ईस्ट्राेजेन र प्राेजेस्टेराेन दुवै भएको गर्भ निरोधक चक्की वा प्राेजेस्टेराेन मात्र भएको गर्भनिरोधकले महिलाहरूको शरीरमा केही प्रभाव पार्छ । प्राेजेस्टेराेन भएको औषधि प्रयोग गर्ने महिलाहरूलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, महिनावारी अनियमित हुने र रिँगटा लाग्ने जस्ता समस्याहरू हुन सक्छन् ।

डिम्बाशयबाट डिम्ब निस्कनु एक प्राकृतिक प्रक्रिया हो । प्रत्येक स्वस्थ महिलालाई हरेक महिना यो प्रक्रियाबाट गुज्रनुपर्छ । यो गर्भधारणको दृष्टिकोणले महत्त्वपूर्ण हुन्छ । डिम्ब निस्कन रोक्नका लागि जब गर्भनिरोधक चक्कीहरूको सेवन गरिन्छ, तब शरीरमा हार्मोनहरूको स्तरमा असन्तुलन बढ्छ ।

हार्मोन असन्तुलनले के हुन्छ ?

गर्भनिरोधक चक्कीहरूको सेवनपछि शरीरमा इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको स्तर सामान्यभन्दा बढी हुन्छ । यसको कारणले डिम्ब निस्कने प्रक्रिया हुँदैन । यसकारण गर्भधारणको सम्भावना कम हुन्छ र महिला गर्भवती हुन सक्दिनन् । गर्भनिरोधक चक्कीहरूको सेवनपछि महिलाको शरीरमा फोलिकल स्टिमुलेटिङ हर्मोन र ल्यूटिनाइजिङ हर्मोनको स्तर पनि कम हुन्छ, जसले गर्दा डिम्बको निषेचन (फर्टिलाइजेशन) मा समस्या उत्पन्न हुन्छ  ।

गर्भ निरोधक चक्कीहरूले पाठेघरलाई कस्तो हानि गर्छ ?

गर्भनिरोधक चक्कीहरूको सेवनले महिलाको पाठेघरको भित्री पर्खालहरू सामान्यभन्दा पातलो हुन्छन् ।  यसको कारणले यदि डिम्बको निषेचन भए पनि पाठेघरले भ्रूणलाई आत्मसात गर्न उपयुक्त वातावरण प्रदान गर्न सक्दैन र भ्रूणको विकास हुन सक्दैन। गर्भनिरोधक चक्कीहरूको सेवनपछि पाठेघरको प्रवेशद्वारमा यस्तो संरचना बन्छ, जसले शुक्रकीटलाई डिम्बसम्म पुग्न दिँदैन, फलस्वरूप महिला गर्भवती हुन सक्दिनन् ।

पाचन प्रणालीमा हुन सक्ने हानि

गर्भनिरोधक चक्कीहरूको सेवनले महिलाको पाचन प्रणालीमा नकारात्मक असर पर्न सक्छ । यसको कारणले केही दिनपछि महिलाहरूलाई वाकवाकी लाग्ने वा बान्ता हुने जस्ता समस्या हुन सक्छन् ।

गर्भनिरोधक चक्कीहरूको सेवनपछि हुन सक्ने केही समस्या

-पेटमा दुखाइ हुनु

-भोक बढ्नु वा धेरै भोक लाग्नु

-टाउको दुखेको महसुस हुनु

-महिनावारी अनियमित हुनु

ध्यान दिनुपर्ने कुराहरू

यदि मुटु वा कलेजोसँग सम्बन्धित कुनै गम्भीर रोगबाट पीडित हुनुहुन्छ वा नियन्त्रणबाहिरको उच्च रक्तचाप छ भने, यी चक्कीहरूको सेवन गर्नु अघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

स्तन क्यान्सरबाट पीडित महिलाहरूले पनि गर्भनिरोधक चक्कीहरूको सेवन गर्नुहुँदैन । गर्भनिरोधक चक्कीले कुनै पनि रूपमा यौनजन्य रोगहरूबाट सुरक्षा प्रदान गर्दैन । तसर्थ, यी रोगहरूबाट सुरक्षाका लागि यौन सम्पर्कको समयमा सावधानीको रूपमा कन्डमको प्रयोग गर्नुपर्छ ।

मोटोपनबाट पीडित महिलाहरूमा यी गर्भनिरोधक औषधिहरूको प्रभाव कम हुन्छ । यदि मोटो हुनुहुन्छ भने, यी औषधिहरूको सेवन गर्नुअघि चिकित्सकसँग यसबारे कुरा गर्नुपर्छ । गर्भनिरोधक चक्कीहरू नियमित रूपमा सेवन गर्नुपर्छ, एक दिन पनि चक्की खान बिर्सनु हुँदैन ।

औषधि खान बिर्सिए के गर्ने ?

एक दिन वा दुई दिन लगातार बिर्सेमा खप्ट्याएर खाने तर धेरै दिन नै अनियमितता भएमा रगत बग्न सक्छ अथवा महिनावारीको नियमित बिग्रिन्छ र गडबडी सुरु हुन्छ । खाने चक्की २१ दिनसम्म को हुन्छ भने ७ दिनको आइरन चक्की राखेर २८ दिनसम्म खान मिल्ने बनाइएको हुन्छ । हरेक महिनावारी भएको चौथो दिनदेखि खान सुरु गरेपछि २१ दिन सम्म नियमित नबिर्सिकन खानुपर्छ ।  ७ दिन भित्र अर्को महिनावारी सुरु हुन्छ ।

गर्भनिरोधक
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय