+
+

सात महिनामै १० खर्ब नाघ्यो व्यापार घाटा

उच्च दरमा बढिरहेको आयात सातौं महिनामा थामियो

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन १० गते १४:१६

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म ५० प्रतिशत भन्दा माथिको दरमा बढिरहेको आयात सातौं महिनापछि भने केही थामिएको छ । सात महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को सातौं महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२.७८ प्रतिशत बढी हो । यसअघि पहिलो ६ महिनासम्म आयात ५१.१३ प्रतिशतले बढेको थियो । आयातको उच्च वृद्धि दर चालु आवको पहिलो महिनाबाटै उच्च छ ।

अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ को प्रभाव कम भएपछि पछिल्लो दुई वर्षयता रोकिएका आर्थिक गतिविधि एकसाथ अगाडि बढेका कारण यो वर्ष आयात उच्च भएको हो । एकातर्फ उच्च आयात र अर्कोतर्फ रेमिट्यान्स कम हुनु तथा पर्यटक आगमन समेत कम भएपछि विदेशी मुद्राको सञ्चितिमा चाप परेको छ । यसलाई कम गर्न सरकारले अघिल्लो महिनाबाट निश्चित वस्तुको आयातमा कडाइ गरिरहेको छ । त्यसको प्रभाव माघ महिनाको वैदेशिक व्यापारमा देखिएको हो । यसका बावजुत माघ महिनामा मात्र १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको छ । पुस मसान्तसम्म आयात ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ थियो ।

सातौं महिनामा निर्यातको वृद्धिदर समेत केही कम भएको छ । पहिलो ६ महिनासम्म शतप्रतिशतले बढेको निर्यात सातौं महिनामा ८८.३० प्रतिशतले मात्र बढेको छ । माघसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको छ । अघिल्लो आवको यसै महिनामा निर्यात ६९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । एक महिना (माघमा मात्र)मा १२ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ ।

चालु आर्थिक वर्षको सातौं महिनामै व्यापार घाटा १० खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोडको व्यापार घाटा थियो ।

यो वर्षको व्यापार घाटा गत वर्षको तुलनामा ३८.४५ प्रतिशतले बढी देखिएको छ ।

यो वर्ष ११ खर्ब ४७ अर्बको आयात र १ खर्ब ३१ अर्बको निर्यात भएको छ । सोहीकारण आयातले कुल वैदेशिक व्यापारमा ८९.७१ प्रतिशत हिस्सा ओगटेको छ । निर्यातको हिस्सा मात्र १०.२९ प्रतिशत छ ।

जसले गर्दा कुल १० खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको भन्सार विभागको तथ्यांक छ । सातौं महिनामा कुल १२ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४६.४३ प्रतिशत धेरै हो ।

पेट्रोलियम पदार्थ आयातमा मात्र पौने २ खर्ब खर्च

सातौं महिनासम्म नेपालले पौने २ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गर्नुपरेको छ । तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदाथ आयात भएको छ ।

झण्डै एक खर्ब रुपैयाँ बराबरको फलाम तथा स्टीलको आयात देखिएको छ । यस अवधिमा ९८ अर्ब ३४ करोड रुपैयाँ बराबरको यस्तो वस्तु आयात भएको तथ्यांक छ । ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको सवारी साधन आयात हुँदा विद्युतीय सामग्रीको आयात ७६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । यस अवधिमा २४ अर्ब ५८ करोड रुपैयाँको तरकारी जन्य वस्तुको आयात हुँदा १३ अर्ब ५९ करोड रुपैयाँ बराबरको फलफुल आयात भएको छ ।

७ महिनाको वैदेशिक व्यापार

  • आयात : ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ (४२.७८ प्रतिशत बढेको)
  • निर्यात : १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ (८८.३० प्रतिशत बढेको)
  • व्यापार घाटा : १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ (३८.४५ प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ (४६.४३ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ८९.७१ प्रतिशत (२.४९ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : १०.२९ प्रतिशत (२८.६० प्रतिशतले बढेको)

भारतसँग पौने ६ खर्ब व्यापार घाटा

नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । कुल ६ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु भारतबाट नेपाल आएको छ । यस अवधिमा नेपालबाट १ खर्ब ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसका कारण भारतसँग कुल ५ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो ।

चीनबाट १ खर्ब ६५ अर्बको वस्तु आयात हुँदा निर्यात भने मात्र ४८ करोड रुपैयाँ बराबरको मात्र छ । अमेरिकाबाट ३० अर्बको सामान नेपाल आउँदा ९ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालको वैदेशिक व्यापार १५० भन्दा बढी मुलुकसँग रहेको देखिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?