+
+

भीम रावललाई स्पष्टीकरणको त्रास !

‘स्पष्टीकरणको माग गर्नेहरुलाई काउण्टर दिन ट्वीट गर्नुभएको हो ?’ भन्ने अनलाइनखबरको प्रश्नमा रावल भन्छन्, ‘काउण्टरभन्दा पनि राष्ट्रियताको पक्षमा बोल्दा स्पष्टीकरण सोध्नुपर्छ भनेर माग हुनुले देश कता जान थाल्यो भन्नेमा चिन्तित भएर ट्वीट गरेँ ।’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १८:१५

१० फागुन, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले मंगलबार ट्वीट गरेका छन्, ‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?’

उनले थप लेखेका छन्, ‘अब देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरु भएको हो ?’

रावलको ट्वीट झट्ट हेर्दा एमालेले स्पष्टीकरण सोधेको रहेछ भन्ने बुझाउँछ । तर एमालेले रावललाई स्पष्टीकरण सोधेको छैन ।

रावलले पनि पार्टीले स्पष्टीकरण नसोधेको तर, कतिपय नेताहरुले स्पष्टीकरणको माग राखेको सुनेकाले आश्चर्य लागेर ट्वीट गरेको प्रष्टीकरण दिएका छन् ।

आइतबार सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्दा रावलले संसद बैठकमा बोलेका थिए । जबकी माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै उनको पार्टी एमालेले २३ भदौदेखि संसदको नियमित प्रक्रियामा भाग लिएको छैन । आइतबार रावल संसद अवरोध पनि गर्ने, संसदीय प्रक्रियामा पनि भाग लिने ? भन्दै कतिपयले प्रश्न उठाएका छन् ।

एमाले नेताहरुले भने आइतबार नै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न किन समय दिएको भन्दै आपत्ति जनाएका थिए । साथै अब दलीय आधारमा सांसदलाई बोल्न दिँदा सम्बन्धित दलको निर्णय लिन सुझाएका थिए ।

त्यही घटनालाई लिएर एमालेका केही सांसदले रावलसँग स्पष्टीकरण सोध्न नेताहरुलाई आग्रह गरेका छन् । नेताहरुका अनुसार मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएका केही सांसदहरुले रावलसँग स्पष्टीकरण सोध्नुपर्ने भनी अनौपचारिक छलफल चलाएका थिए । तर एमालेले अहिलेसम्म स्पष्टीकरण सोधेको छैन ।

‘स्पष्टीकरणको माग गर्नेहरुलाई काउण्टर दिन ट्वीट गर्नुभएको हो ?’ भन्ने अनलाइनखबरको प्रश्नमा रावल भन्छन्, ‘काउण्टरभन्दा पनि राष्ट्रियताको पक्षमा बोल्दा स्पष्टीकरण सोध्नुपर्छ भनेर माग हुनुले देश कता जान थाल्यो भन्नेमा चिन्तित भएर ट्वीट गरेँ ।’

एमसीसीबारे एमाले बोल्नुपर्छ

सांसद रावलले भने राष्ट्रियताको विषयमा बोल्न दलीय समर्थन आवश्यक नपर्ने बताउँछन् । पार्टीले संसदमा अवरोधको नीति लिएको आफ्नो जानकारीमा रहेको उल्लेख गर्दै उनले थपे, ‘जनताले एमसीसीबारे धारणा के हो भनेर एमालेसँग जवाफ मागिरहेका छन् । त्यसकारण एमसीसीका विषयमा बोल्ने सांसदलाई स्पष्टीकरण सोध्ने होइन, जनतालाई पार्टीले जवाफ दिनुपर्छ ।’

संसदमा सबभन्दा ठूलो दल हुनुको नाताले जिम्मेवारी पनि ठूलो रहेको महसुस हुनुपर्ने रावलको भनाइ छ । ‘मैले धेरै पहिलेदेखि एमसीसीमा पार्टीको धारणा सार्वजनिक हुनुपर्छ भन्दै आएको छु । तर पार्टी केही बोलिरहेको छैन । एउटा जननिर्वाचित सांसदले धारणा राख्दा उल्टै स्पष्टीकरण सोध्ने यो कहाँको विधि हो ?’ रावलको प्रश्न छ ।

रावलले संसदको आगामी बैठकमा पनि सभामुखसँग समय मागेर बोल्ने अनलाइनखबरलाई बताए । एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै उनले भने, ‘जुनसुकै आधारमा एमसीसीबारे हुने निर्णयमा मेरो असहमति र विपक्षमा मत रहन्छ ।’

तर एमालेले निर्णय नलिँदा एमसीसी के हुन्छ भन्ने जनतामा आशंका रहेको भन्दै उनले मौन नबस्न पार्टीलाई सुझाएका छन् । ‘नबोल्नु भनेको समर्थन गर्नु जस्तो हुन्छ’ रावल थप्छन्, ‘एमसीसी जस्तो राष्ट्रघाती विषयमा एमाले मौन बस्न हुँदैन ।’

आफूले पार्टीभित्र एमसीसीका सम्बन्धमा छलफल गर्न पाउनुपर्छ भनेर अध्यक्षसँग लिखित रुपमै माग गरेको, तर, अहिलेसम्म सुनुवाई नभएको रावलको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?