+
+

सुरक्षित आवासको पर्खाइमा मनाङ तालगाउँका बाढी प्रभावित

चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् ।

रासस रासस
२०७८ फागुन ११ गते १४:३०

११ फागुन, मनाङ । गत जेठ ३१ र असारको पहिलो साता मस्यार्ङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।

चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् ।

सुरक्षित आवासको अभावमा उनीहरुले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासाो गाउँपालिकाको रु एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् ।

बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तबरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताए । तीन तहको सरकारसँग आग्रह पश्चात् यहाँका स्थानीयवासी सुरक्षित भएको उनले बताए । गत जेठ ३१ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो ।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरु बताउँछन् । बाढीपहिरा जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उतिकै छ ।

घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् । जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरु बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरा पीडितको गुनासो छ । रगत पसिना बगाएर बनाइएको घरबारी बगाएपछि गाउँले अलपत्र परेका छन् । तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न पाएकामा खुसी लागेको बताए ।

‘ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ’, उनले भने । नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयको छलफल गरिने उनको भनाइ छ । नतिजाका आधारमा अन्य कदम चालिने उनले बताए ।

उनले भने, ‘अध्ययनपछि मात्रै पुनर्वासमा जाने वा यहीँ ठाउँमा बस्ती बसाल्नेबारे निर्क्योल हुनेछ ।’ तालगाउँका अधिकांश जग्गाको नापी भएको छैन् । धेरै पहिले यहाँ व्यापारिक सहजताका लागि आएर मानिसहरु बस्न थालेको बताइएको छ । यहाँ आधा जति स्थानीयवासी तालमै बस्न इच्छुक देखिएका छन् ।
बाढीपहिरापीडित अबको वर्षामा के हुने हो, थाहा छैन भनेर पिरोलिँदै छन् ।

स्थानीय तहले पनि बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस काम देखिएको छैन । वर्षायाम सुरु हुनु अगावै उनीहरूलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतीपूर्ण देखिए पनि सफल हुने विश्वास स्थानीय तहको छ ।

स्थानीयवासीको इच्छा विपरीत अन्यत्र स्थानान्तरण गर्ने कुराको पनि छलफल नभएको होइन । तर स्थानीयवासीको इच्छालाई टार्न नसक्दा उनीहरुले अहिले सोही ठाउँमा टीनको छानो बनाएर बसोबास थालेका छन् ।

यस क्षेत्रको भौगर्भिक अध्ययनको नतिजा अनुसार मात्र बस्न नमिल्ने भएमा उनीहरुलाई अन्यन्त्र स्थानान्तरण गर्न सकिने सो गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?