+
+

१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना

सफाइमा खटिने कर्मचारीलाई ७० लाख भत्ता

सगरमाथाबाट मात्रै १४, कञ्चनजंघाबाट १०, ल्होत्सेबाट ६ र मनासलुबाट ५ गरी ३५ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाको छ । अधिकारीका अनुसार तीमध्ये १३ टन आधार शिविरभन्दा माथिको क्षेत्रबाट संकलन गरिनेछन् भने २२ टन बेस क्याम्प वरपरको फोहोरहरु हुनेछन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७८ फागुन ११ गते २०:११

११ फागुन, काठमाडौं । नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथासहित नेपालका चार वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने भएको छ ।

हिमालयमा हिउँ घट्दो क्रममा रहेको र जलवायु परिवर्तनका असरहरु बढ्न थालेको निष्कर्षसहित सेनाले हिमाल सफाइ अभियान चलाउन लागेको हो ।

सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार यो वर्ष २२ चैतदेखि २२ जेठसम्म सफा हिमाल अभियान सञ्चालन हुनेछ । उनका अनुसार यो वर्ष सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालमा सफाइ अभियान चलाइनेछ ।

‘पहिलो चरणमा २० कात्तिकदेखि १५ फागुनसँग पूर्वतयारी तथा समन्वयको काम भइरहेको छ’ उनले भने, ‘दोस्रो चरणमा १६ फागुनदेखि १५ चैतसम्म एक्लिमटाइजेसन तालिम हुनेछ ।’ तेस्रो चरणमा चैतदेखि सरसफाइ अभियान थालिने प्रवक्ता सिलवालले बताए ।

उनका अनुसार अभियान अन्तर्गत यो वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट फोहोर संकलन गरिनेछ ।

फोहोर संकलनका लागि नेपाली सेनाबाट चिकित्सकसहित २९ सदस्यीय विज्ञ टोली खटिनेछ भने ४८ जना शेर्पा पनि टोलीमा रहेछन् । समन्वय र रियर अप्स समूहमा १४ जना गरी ९१ जना खटिनेछन् ।

सिलवालका अनुसार सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको समन्वयमा सञ्चालित सफा हिमाल अभियानकै निरन्तरतास्वरुप यो वर्ष पनि कार्यक्रम गर्न लागिएको हो । सेनाले यसअघि सन् २०१९ र २०२१ पनि यो अभियान सञ्चालन गरिसकेको छ ।

‘पहिलो वर्ष हिमाली क्षेत्रबाट १० टन फोहोर संकलन गरिएको थियो भने २०२१ मा २७.६ टन फोहोर संकलन भएको छ’ उनले भने, ‘हिमाल सफाइका क्रममा हाम्रा टोलीले दुई वटा हिमालय आँधी र कोभिड–१९ महामारीको पनि चुनौति खेप्नुपर्‍यो ।’

कसरी ल्याउँछ फोहोर ?

नेपालमा ८ हजार मिटरभन्दा माथि उचाइका ८ र ६ हजारमाथि उचाइका १३१० चुचुराहरु छन् । ती क्षेत्रमा औसतमा प्रत्येक वर्ष ५० हजार पर्यटक र करिब ८० हजार सहयोगीले भ्रमण गर्ने गरेको सेनाको अनुमान छ ।

नेपाली सेनाका सेनानी किशोर अधिकारीका अनुसार ती क्षेत्रमा कुहिने र नकुहिने गरी दुई प्रकारका फोहोर भेटिन्छन् ।

‘खाली अक्सिजन सिलिण्डर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना पोको पारेका चिजहरु, च्यातिएका टेन्ट लगायतका सामग्री नष्ट हुँदैनन्’ अधिकारीले भने, ‘भान्छाका फोहोर, कागजलगायतका कुहिने फोहोर पनि हिमालमा भेटिन्छन् ।’

मृत मानव शरीरलगायतका फोहोर गरी सगरमाथाबाट मात्रै १४, कञ्चनजंघाबाट १०, ल्होत्सेबाट ६ र मनासलुबाट ५ गरी ३५ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाको छ । अधिकारीका अनुसार तीमध्ये १३ टन आधार शिविर (बेस क्याम्प) भन्दा माथिको क्षेत्रबाट संकलन गरिनेछन् भने २२ टन बेस क्याम्प वरपरको फोहोरहरु हुनेछन् ।

‘बेस क्याम्प बनाएपछि फिक्स रोप (डोरी) लगाएर शेर्पाको सहयोगमा माथिल्ला क्याम्पहरुबाट फोहोर संलकन गरिनेछ’ अधिकारीले भने, ‘फोहोर संकलन गर्नेले क्याम्प अनुसार लोड (तौल) को प्रमाणित गर्नेछन् र बेस क्याम्पमा बस्ने व्यवस्थापन समूहसँग समन्वय गरेर तल झार्नेछन् ।’

सगरमाथाको आरोहणसमेत गरिसकेका सेनानी अधिकारीका अनुसार बेस क्याम्पसम्म फोहोर ढुवानी गरेपछि सरोकारवाला निकाय समेतको उपस्थितिमा प्रमाणीकरण गरेर व्यवस्थापन गरिनेछ ।

‘कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै ह्याण्डलिङ एजेन्सीले भण्डारण गरी ढुवानी गर्नेछन्’ अधिकारीले थपे, ‘कुहिने फोहोरलाई सम्बन्धित स्थानीय निकाय र नकुहिनेलाई हवाई साधनमार्फत काठमाडौंसम्म ढुवानी गरेर फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई हस्तान्तरण गरिनेछ ।’

बजेट अभाव

सेनानी अधिकारीका अनुसार यो वर्ष हिमाल सरसफाइ अभियान सञ्चालन गर्नका लागि १२ करोड ९६ लाख ७० हजार ३७२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

‘सरकारबाट ८ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन भएको छ’ उनले भने, ‘अपुग भएको चार करोड ६६ लाख ७० हजार ३७२ रुपैयाँलाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।’

उनका अनुसार अपुग रकम हिमाल सफाइसँग सरोकार राख्ने सरकार मातहतका अन्य कार्यालय, प्रदेश सरकार, स्थानीय सरकार, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, हिमालय उद्दार संघ, ट्रेकिङ एजेन्सी एशोसिएसनलगायतसँग समन्वय गरेर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

यो वर्ष सरकारबाट विनियोजित रकम गत वर्षभन्दा १७ प्रतिशतले कम रहेको उनले बताए । अधिकारी भन्छन्, ‘यसपटक बजेट कम छ, विभिन्न सरकारी, गैरसरकारी र निजी संस्था/कम्पनीबाट प्राप्त हुने सहयोगलाई प्रयोग गरेर सेनाले यो अभियान पारदर्शी र प्रभावकारी रुपमा सञ्चालन गर्नेछ ।’

अभियानमा नेपाली सेनाको तर्फबाट करिब एक करोड ३० लाख रुपैयाँ बराबरको रकम हवाई साधन, मेडिकल र सञ्चारमा खर्च हुने सेनाले जनाएको छ । सेनाले तयार पारेको खर्च विवरण अनुसार आरोहण दलका सदस्यका लागि मात्रै निजी पोशाक र सामग्री खरिदमा ९ करोड ६६ लाख रुपैयाँ खर्च हुनेछ ।

ह्याण्डलिङ एजेन्सीको खरिदका लागि १० करोड ८६ लाख २० हजार ३७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, भत्तामा मात्रै ६९ करोड ४२ लाख ५ सय रुपैयाँ खर्च हुने भनिएको छ । विविधतर्फ ४४ करोड ५७ लाख ५ सय रुपैयाँ खर्च हुने भनिएको छ ।

सैनिक प्रवक्ता सिलवालका अनुसार सफा हिमाल अभियानमा नेपाली सेनाबाट खट्ने टोलीका लागि सरकारले आरोहण अनुमति दिइसकेको छ । अहिले अभियानका लागि आवश्यक पर्वतारोहण सम्बन्धी सामग्री र ह्याण्डलिङ एजेन्सीका लागि बोलपत्र आह्वान गरेर सम्झौताको क्रममा छ ।

‘हिमाल आरोहणमा जाने टोलीको नेतृत्वकर्ता र अन्य जनशक्ति छनौटको काम पनि सकिएको छ’ सिलवालले भने, ‘१५ फागुनबाट सेनाको उच्च शिखर शिक्षालयमा तालिम सञ्चालन गर्दैछौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?