
११ फागुन, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपक कार्कीको नेतृत्वमा बसेको न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेललाई सिफारिस गरेको छ ।
पौडेल हाल उच्च अदालत पोखराको बाग्लुङ इजलासका न्यायाधीश हुन् । लामो समय न्याय प्रशासनमा बिताएका उनी केही वर्षअघि न्यायाधीश भएका हुन् ।
त्यसैगरी परिषदले विशेष अदालतको सदस्यमा न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बास्तोला र खुसी प्रसाद थारुको नाम सिफारिस गरेको हो । परिषदको सिफारिस सरकारले कार्यान्वयन गरेपछि उनीहरु विशेष अदालतमा खटिन्छन् । केही महिनादेखि अध्यक्ष र सदस्यहरुको अभावका कारण विशेष अदालतको कामकारवाही प्रभावित भएको थियो ।
बैठकले हाल विशेष अदालतमा रहेका दुईजना सदस्यलाई अन्यत्र सरुवा सिफारिस गरेको छ । सदस्य अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटनको हेटौंडा इजलास र नित्यानन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा सरुवाको सिफारिस गरेको छ ।
राजस्व न्यायाधीकरण, काठमाडौंको अध्यक्षमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना तोकिएका छन् । न्यायपरिषदले ढुंगानालाई प्राधिकरणको कानूनतर्फको अध्यक्ष तोक्न सिफारिस गरेको हो । हाल अध्यक्ष नहुँदा न्यायाधीकरणको कामकारवाही प्रभावित थियो ।
सत्तारुढ गठबन्धनका ९८ सांसदले संसदमा महाअधियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा छन् । उनी निलम्बनमा परेपछि कामु बनेका कार्कीले पहिलो पटक न्याय परिषद् बोलाएका हुन् ।
प्रतिक्रिया 4