
जीवनको उद्देश्य खुसी बन्नु होइन, पलपलमा खुसी बन्न सक्नु नै जीवनको सार्थकता हो । सायद खुसी नचाहने मान्छे कोही पनि नहोला तर खुसी कसरी प्राप्त गर्न सकिन्छ भनेर सुझबुझका साथ अगाडि बढ्ने मानिस कमै छौं होला ।
प्रत्येक मानिसलाई प्रभाव पार्ने दुईवटा तत्व हुन्छन् । ती हुन्– आन्तरिक र बाह्य । आन्तरिक तत्वमा हाम्रो नियन्त्रण रहन्छ र जसले हामीलाई कस्तो मान्छे बन्ने, खुसी कि बेखुसी निर्धारण गर्दछ । बाह्य कारण हाम्रो नियन्त्रण बाहिर छ र जसको लागि हामी जतिसुकै प्रयास गरे पनि हामीले चाहे जस्तो बनाउन सक्दैनौं । दैनिक जीवनमा हामीले अरू मानिसहरूलाई आफू अनुकूल बनाउन खोज्छौं अर्थात् आफू जस्तै बनाउन खोज्छौं जुन प्रकृतिको नियम विरुद्ध हो ।
किन यसो भयो, त्यस्तो किन भएन, यस्तो हुनुपर्छ जस्ता अनेकन् प्रश्न हाम्रो मनमा आउने गर्दछन् । वास्तवमा हामी यथार्थमा होइन बाहिरी दुनियाँमा खुसी खोजिरहेका हुन्छौं ।
कस्तूरीले आफ्नो सुगन्ध थाहा नपाएर भौंतारिए जस्तै मानिसहरू पनि खुसी प्राप्तिका लागि भौंतारिरहेका छौं । खुसी हामीमा अन्तर्निहित तत्व हो र यसलाई पहिचान गर्न नसक्नु हाम्रो कमजोरी हो ।
खुसी प्राप्त गर्नका लागि हामीहरू निरन्तर सङ्घर्ष गरिरहेका हुन्छौं तर जुनबाट खुसी प्राप्त गर्ने भ्रममा हामीहरू दौडिरहेका हुन्छौं त्यो प्राप्त हुन्जेलसम्म हामीसँग भएका खुसीहरू पनि खोसिइसकेको पत्तै हुँदैन । तसर्थ जुन उद्देश्य प्राप्तिका लागि हामी सङ्घर्ष गरिरहेका हुन्छौं, त्यसको प्राप्ति प्रक्रियाको पल–पलमा नै खुसी हुन सक्नुपर्दछ ।
जे छ, जस्तो छ, जे प्राप्त भएको छ त्यसैमा खुसी मनाउन सक्नुपर्दछ, खुसी हुनुपर्दछ । मानिस खुसी पाउन भनेर काम गर्यो भने खुसी झन् टाढा पुग्छ बरु हरेक पलमा खुसी मान्दै आनन्दका साथ काम गर्यो भने मानिस सधैं खुसी रहन सक्छ ।
वर्तमान समयमा भौतिकवादी जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा, कार्यव्यस्ततालगायत कारणले बेखुसीका लागि पर्याप्त आधार बनाइरहेको छ । मान्छेले मानव भएर जन्मन पाएकोमा खुसी भएर अगाडि बढ्न सकेमा खुसी नै खुसी प्राप्त गर्न सकिन्छ ।
कसरी प्राप्त गर्न सकिन्छ खुसी ?
यी सामान्य कुराहरू ख्याल गर्न सक्यो भने खुसीका साथ जीवन जिउन सकिन्छ–
१. काममा व्यस्त रहेर
जति हामीले आफूलाई इमानदारीका साथ काममा लगनशील भई व्यस्त राख्न सक्छौं त्यति नै धेरै खुसीका साथ बाँच्न सकिन्छ । नेपालका कुनै एउटा संस्थामा केही कामदारलाई विना काम दुई महिनासम्म तलब सहित राखिएको थियो तर ती कामदारहरूले दुई महिना पछि आफैंले जागिर छोड्ने निर्णय लिए र उनीहरूको भनाइ अनुसार काम विनाको जागिर जत्तिको पीडा अरू केहीमा पनि हुँदो रहेनछ ।
जागिर नभएको अवस्थामा पनि अन्य व्यापार, व्यवसाय जे जस्तो पेशा व्यवसायमा संलग्न छौं त्यसकै काममा व्यस्त हुनुपर्छ । कुनै रचनात्मक काममा व्यस्त रहँदा झनै खुसी मिल्छ ।
२. व्यवस्थित बनेर
व्यवस्थापन कार्यालयमा मात्र होइन, सबैभन्दा पहिला आफ्नो व्यक्तिगत जीवन र घरपरिवारमा गर्नु आवश्यक छ । जसले गर्दा हामीमा व्यवस्थित बन्ने बानीको विकास हुन्छ । असल बानी बसाल्दा त्यो हरेक क्षेत्रमा उपयोगी हुन्छ त्यसले आफूलाई मात्र होइन अरूलाई पनि खुसी दिने गर्दछ । स–साना कुरामा हामी रोष प्रकट गर्ने गर्दछौं, त्यसको मुख्य कारण नै हाम्रो व्यक्तिगत अस्तव्यस्तता हो । तर हामी अरूलाई त्यसको दोषी ठान्छौं ।
३. अनपेक्षित आशा नगर्दा
जब हामीहरू अरूसँग आशा र अपेक्षा राख्दछौं तब त्यो पूरा नभएमा हामी दुःखी बन्ने गर्दछौं । तसर्थ हामीले वास्तविकता भन्दा बढी गरेको आशा, अपेक्षा, भरोसा र विश्वासले समस्या निम्त्याउँछ ।
त्यसैले अरूमा अनावश्यक आशा, भरोसा र विश्वास गर्नुभन्दा आफैंमा विश्वास गर्नुपर्दछ, जसले आफूलाई सक्षम बनाउँछ र जीवनमा खुसीको वहार ल्याउने गर्दछ । अरू सबैलाई खुसी बनाउँछु भन्नु आफैं बेखुसी हुनु हो तसर्थ आफ्नो प्रयास गर्नुहोस् तर निराश नहुनुहोस् ।
४. विश्वासिलो सम्बन्ध कायम गरेर
असल मानिसका लागि महत्वपूर्ण सम्पत्ति भनेकै विश्वासिलो सम्बन्ध हो जसको लागि आफू पनि विश्वासिलो हुनुपर्दछ । जुन विश्वास गाह्रो, अप्ठ्यारो र सङ्कटमा काम लाग्दछ भने सजिलैसँग समस्याको समाधान प्राप्त गर्न सकिन्छ ।
विश्वासले सहयोगी हातहरू बढ्नुका साथै धेरैको साथ प्राप्त हुन्छ र पल–पलमा खुसी पाइन्छ । त्यसैले सम्बन्धलाई सम्मान गरौं र जीवनमा आउने प्रत्येक आरोह–अवरोहहरूलाई सहर्ष र एकनासले लिने गरौं न कि समय र परिस्थिति अनुसार सम्बन्धलाई परिवर्तन गर्ने नगरौं ।
५. आफैंलाई प्रतिविम्बित गरेर
कसैले पनि विगतको वास्तविकतालाई बिर्सनुहुँदैन र त्यसलाई समय र परिस्थिति अनुसार आफूलाई चिन्ने र चिनाउनुपर्दछ । आडम्बरी र ढोगी जीवनशैलीलाई त्याग्ने गरौं । अरूसँग तुलना गर्ने बानी पनि नगरौं किन कि हरेक मानिसमा आफ्नै किसिमको विशेष गुण हुन्छ । वास्तविक र बाह्य जीवनमा फरक हुन्छ । तसर्थ आफूसँग जे छ त्यो नै परिपूर्ण छ, त्यसको भरपूर प्रयोग गर्ने गरौं ।
अतितलाई सम्झेर दुःखी नहुनुहोस् भने वर्तमानमा अनावश्यक धेरै सोच्ने बानी हटाऔं, आफैंलाई माया गर्ने गरौं । जब आफूले आफैंलाई माया गर्न बिर्सन्छौं, तब कहिल्यै खुसी हुन सकिंदैन । नियमित योग, प्रणायाम, व्यायाम तथा ध्यान गर्ने समय निकालौं ।
६. सम्मान र सद्भावको व्यवहार गरौं
हामीलाई अरूले सम्मान दिएको मन पर्दछ भने स्वाभाविक रूपमा अरूलाई पनि हामीले समय, सम्मान र मूल्य दिएको मन पर्दछ । प्रायःजसो मानिसहरूलाई उनीहरूको पद, प्रतिष्ठा, धन–सम्पत्तिको आधारमा मूल्याङ्कन गरी सम्मानको मात्रामा फरक गर्ने गरिएको देखिन्छ तर यस्तो सम्मान भित्र न त प्राप्त गर्ने खुसी हुन सक्छ न त प्रदान गर्ने नै ।
पद, प्रतिष्ठा र धन–सम्पत्ति अजम्बरी हुँदै होइन । मान्छेले मानवलाई गर्ने व्यवहारमा तात्विक रूपमा फरक गर्नुहुँदैन, मात्र ठाउँ र परिस्थिति अनुसार गर्नुपर्ने औपचारिकतामा फरक हुन सक्दछ ।
७. सेवा र सहयोगी भावनाको विकास गरेर
अरूलाई/समस्यामा परेको मानिसलाई मन, वचन, कर्मले सहयोग गरौं । यस्तो सहयोगले सम्बन्धित मान्छेले पाउने आनन्द तथा उनीहरूको मुहारमा देखिने मुस्कानबाट सेवा र सहयोग गर्ने मान्छेलाई स्वाभाविक रूपमा खुसी प्राप्त हुने गर्दछ ।
हरेक मान्छेको सामाजिक दायित्वअन्तर्गत समाजलाई आफूले सकेको जुनसुकै प्रकृतिको सहयोग र सेवा प्रदान गर्न सकिन्छ । प्रकृतिप्रति हामी सधैं अनुगृहीत हुनुपर्दछ, किनकि प्रकृतिले नै हामीलाई सबैथोक प्रदान गरेको छ ।
८. खुसी बाँडेर
जति धेरै खुसी अरूसँग साटिन्छ त्यति नै धेरै तपाईंमा बढ्ने चिज भनेकै खुसी हो । खुसीका हरेक पलहरूमा झनै खुसी हुँदै खुसी नै बाँड्ने गर्नुहोस्, त्योभन्दा ठूलो खुसी दुनियाँमा कुनै छैन ।
त्यसैले हरेक सकारात्मक विषयवस्तुहरूलाई आफूभित्र सीमित नगरी बाँड्ने बानीको विकासमा मद्दत मिलोस् । आफू भलो त जगत भलो, तपाईं खुसी त दुनियाँ खुसी । यसका अलावा अरूको मुहारमा खुसी ल्याउने कार्यहरू गरौं, जसले अन्ततः आफैंलाई खुसी बनाउँछ ।
(लेखक शिक्षा अभियन्ता हुन् ।)
प्रतिक्रिया 4