+
+

किएभतर्फ अघि बढ्यो रूसी सेना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १७:३६

१३ फागुन, काठमाडौं । सैन्य कारबाही सुरु गरेको दोस्रो दिनमै रुसी सेना युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । शुक्रबार बिहान भएको गोलाबारीपछि रुसी सेनाका ट्याङ्कहरू सडकमा गुड्न थालेका छन् ।

युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाको एक जासुसी डफ्फा किएभबाट केही किलोमिटर टाढा अवस्थित ओबोलोन जिल्लामा प्रवेश गरिसकेको बताएको छ । यद्यपि, रुसी फौज र युक्रेनी सेनाबीच किएभ वरपर भिडन्त जारी छ । रुसी सेनालाई रोक्न भन्दै युक्रेनको सेनाले एउटा पुल भत्काइदिएको सीएनएनले जनाएको छ ।

युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टोन हेराशचेन्कोले आजको लडाइँ सबैभन्दा कठिन हुने बताइसकेका छन् । बेलारुस हुँदै युक्रेन प्रवेश गरेको रुसी सेना किभएलाई घेर्ने उद्देश्यले अघि बढिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अमेरिकी खुफिया एजेन्सीले भने किएभलाई घेराबन्दी गरी १० हजार विशेष फौज उतारेर हमला गर्ने रुसको योजना रहेको बताएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, उनका मन्त्री र सांसदलाई खोजेर नियन्त्रणमा लिने अनि शान्ति सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्ने र रुस अनुकूलको सत्ता खडा गर्न खोजेको दाबी छ ।

रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले युक्रेनको सेनाले हतियार बिसाएपछि मात्रै आफूहरू किएभसँग वार्ता गर्न तयार रहेको प्रस्ट पारेका छन् ।

हालको युक्रेनी सरकारलाई लोकतान्त्रिक भनेर मान्यता दिने कुनै संभावना नरहेको पनि ल्याभरोभको भनाइ थियो । रुसले युक्रेनी जनता स्वतन्त्र होउन् र आफ्नो भविष्य आफैंले निर्धारण गर्न सकून् भन्ने चाहेको पनि ल्याभरोभले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?