+
+

मछिन्द्रको लोभलाग्दो सफलता

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ फागुन १४ गते १६:३७

१४ फागुन, काठमाडौं । नेपालको घरेलु फुटबलमा काठमाडौं उपत्यकाका टोलीका मात्र प्रभुत्व रहने गरेको आरोप लाग्ने गरेको छ । फुटबल प्रारम्भिक चरणमै हुँदा र केन्द्रीकृत राज्य व्यवस्था हुँदा फुटबल गतिविधि पनि स्वभाविक रुपमा काठमाडौं वरपर नै रहने भए । त्यसैले नेपाली फुटबलको विकासका काठमाडौंका क्लबहरुको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन ।

मनोरञ्जनको प्रमुख साधनका रुपमा खेलकुद रहने समयमा राजधानीका खुला स्थानहरुमा प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता थुप्रै हुने गरेका थियो । काठमाडौंको रानीपोखरीदेखि कालीमाटी पुलसम्म दर्जन बढी ए डिभिजन फुटबल क्लबहरु थिए । ललितपुरका फ्रेण्ड्स र जाउलाखेलबाहेक ‘ए’ डिभिजनमा बाँकी सबै क्लबहरु यही क्षेत्रका थिए । ‘ए’ डिभिजन लिगका ४३ संस्करणमध्ये असन क्षेत्रका क्लबले मात्र १० पटक (अन्नपूर्ण क्लब–२, आरसीटी–४ र मछिन्द्र–२) उपाधि जितेका छन् ।

‘ए’ डिभिजन लिगमा लगातार दोस्रोपल्ट च्याम्पियन बनेको मच्छिन्द्र क्लब २०२९ सालमा मच्छिन्द्र फुटबल टिमको नामबाट स्थापना हुँदा घरेलु फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी), न्युरोड टिम, नगल टिम, काठमाडौं टिम, जैसीदेवलको द राइजिङ टिम लगायतको प्रभुत्व थियो । आरसीटीले त निरन्तर लिग जितिरहेको बेला थियो त्यो । छिमेककै मच्छिन्द्र भने ‘डी’ डिभिजनबाट व्यवसायिक फुटबलको सुरुवात गर्दै थियो । २०३२ सालपछि २९ वर्षसम्म मच्छिन्द्रले ‘बी’ डिभिजन भन्दा माथि जान सकेन ।

‘सबैभन्दा ठूलो पक्ष भनेको व्यवस्थापन नै रहेछ,’ लगातार दुई संस्करण लिग जिताउँदाका म्यानेजर तथा क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले अनलाइनखबरसँग भनेका छन्, ‘कुनै समय फुटबल नै छाड्ने निर्णयको संघारमा पुगिसकेको क्लबलाई हामीले उचित व्यवस्थापन गर्‍यौं । धेरै तत्वहरुको सकारात्मक प्रयासबाट तपाईहरुले अहिलेको नतिजा देख्नुभएको छ ।‘

२०६२ सालमा ‘ए’ डिभिजनमा डेब्यु गरेपछि मच्छिन्द्रले अहिलेसम्म बी डिभिजनमा झर्नुपरेको छैन । तर धेरैपटक त्यो खतराबाट मुश्किलले जोगिएको छ । २०७८ को पछिल्लो सिजनसम्म आइपुग्दा उसले आफूलाई घरेलु फुटबलको महारथीका रुपमा उभ्याएको छ । रोचक संयोग के छ भने छिमेकी आरसीटी बी डिभिजनमा संघर्ष गरिरहँदा मच्छिन्द्रले एकपछि अर्को सफलतासहित बलियो शक्तिका रुपमा उदाएको छ । मच्छिन्द्र यसपल्ट २ खेल अगावै ‘ए’ डिभिजन च्याम्पियन बन्यो ।

‘२०६२ मा हामीले पहिलोपल्ट ए डिभिजन खेल्दा पहिलो खेलमै मनाङले ६ गोल गरेको थियो । झण्डै १० वर्षसम्म हामीले रेलिगेसनकै दबाब झेल्यौं । कसरी रेलिगेसन टार्ने भन्नेबारे चिन्ता भइरहने,’ क्लबका अध्यक्ष सुनील कपालीले अनलाइनखबरलाई भने, ‘अहिले लगातार दुईपल्ट च्याम्पियन बन्दा धेरै खुसी महसुृस भएको छ । हामी उत्साहित छौं । अझै हौसला बढेको छ । सबैको चाहना र प्रयास मिल्यो भने त हामी पनि मनाङ र थ्रीस्टारजस्तो बन्न सक्ने रहेछौं भन्ने लाग्छ । फुटबल गर्ने भनेको बौलाहाहरुले मात्र गर्ने हो । तपाईंले अंग्रेजीमा क्रेजी भन्नुहुन्छ नि । हामीले पाउने व्यक्तिगत लाभ भनेको खुसी र सन्तुष्टि मात्र हो ।’

उनले यो सफलताका लागि क्लब कार्यसमिति, टोलवासी, सल्लाहकार, टिम व्यवस्थापन, खेलाडी, समर्थक सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए । कुनै समय असन क्षेत्रमा हरेक दुई घरमा फुटबल क्लब थिए । सानो ठाउँमा धेरै संस्था हुँदा आर्थिक अभाव धेरै थियो । अध्यक्ष कपाली भन्छन्, ‘पहिला हामीले फुटबल खेल्दा र खेलाउँदा पैसाको अभाव धेरै थियो । अहिले अवस्था फरक छ । त्यतिबेला फुटबल खेल्दा हामीले टोलका सबै घरबाट चन्दा उठाएर खेल्न खेल्थ्यौं । त्यतिबेलाको दुःख सम्झिँदा अहिले धेरै खुसी मिल्छ ।’

आरसीटी, एनआरटीजस्तो मच्छिन्द्रको नियमित आम्दानीको स्रोत छैन । त्यसैले ए डिभिजन खेल्न थालेपछि ठूलो आर्थिक संकट व्यहोर्नुपरेको थियो । २०६२ देखि २०६५ सम्म मच्छिन्द्रबहालमा दशैं–तिहार चिठ्ठा कार्यक्रम सञ्चालन गरेर उसले पर्याप्त आर्थिक संकलन गर्न पायो । त्यसपछि उसले कहिल्यै रेलिगेसनको संघर्ष गर्नुपरेन । ‘सरकारले चिठ्ठा कार्यक्रम बन्द गर्नुअघि मच्छिन्द्रबहालमा चिठ्ठा बेचेर पाएको आम्दानीबाट यो क्लबको स्वरुप परिवर्तन भएको हो,’ फुटबल विश्लेषक सञ्जीव मिश्रले भने ।

मछिन्द्रले आफूलाई उदाउँदो शक्तिका रुपमा २०७० को लिगमै स्थापित गरेको थियो । स्वीडेनका प्रशिक्षक योहान कालिनलाई अनुबन्ध गरी स्तरीय खेलाडीमा लगानी गरेपछि नतिजा सजिलो भएको कुरा क्लबले त्यतिबेलै बुझेको हो । त्यसअघिको एउटा घटना म्यानेजर श्रेष्ठले यसरी सुनाए, ‘ए डिभिजन लिगमा लगातारको संघर्ष र अत्यधिक खर्चका कारण क्लबले फुटबल नै छाड्नेसम्मको योजना बनाएको रहेछ । मैले अन्तिम एकपल्ट प्रयास गरौं न त भन्ने सोचेँ । विप्लव गौतमसमेत भएर हामीले प्रायोजक खोज्न लाग्यौं । क्लबले २० लाख रुपैयाँ दिएको थियो । राम्रो लगानी गर्दा हामी लिगमा दोस्रो भयौं ।’

२०७५ मा एन्फाले रेलिगेसनविनाको लिग गर्ने भएपछि मच्छिन्द्रले टिममा लगानी गरेन । व्यवस्थापनको जिम्मा पनि क्लब आफैंले लियो । नतिजा– अघिल्लो सिजन दोस्रो भएको टिम पुछारबाट दोस्रो भयो । आगामी लिगका लागि एक अंक घटुवाको कारबाहीमा पनि पर्‍यो ।

टाइमलाइनमा मछिन्द्र

२०२९ सालमा स्थापना (मच्छिन्द्र फुटबल टिम (एमएफटी)को नामबाट)

२०३२ सालमा बी डिभिजन

२९ वर्षसम्म बी डिभिजनमै यथावत

२०६१ सालमा बी डिभिजन च्याम्पियन

२०६२ सालमा ए डिभिजन डेब्यू (१५ टिममध्ये १३ औं)

२०६३ सालमा १४ टिममध्ये छैठौं

२०६६/६७ सालमा १२ टिममध्ये छैठौं

२०६८ सालमा १८ टिममध्ये १४औं

२०६९ सालमा १६ मध्ये तेस्रो

२०७० सालमा १३ मध्ये दोस्रो

२०७५ सालमा १४ मध्ये १३औं (रेलिगेसनको व्यवस्था नभएको तर एक अंक घटुवाको कारबाही)

२०७६ सालमा १४ मध्ये पहिलो (पहिलोपल्ट लिग च्याम्पियन)

२०७८ सालमा १४ मध्ये पहिलो (लगातार दोस्रो जित)

च्याम्पियन रणनीति

२०७५ को लिगको दुर्घटनापछि मच्छिन्द्रले पुनः क्लब कार्यसमितिसँग सहकार्य गर्ने गरी अनिल श्रेष्ठलाई नै व्यवस्थापनको जिम्मा दियो । त्यसपछि हो लिग जित्ने रणनीति बनेको । आफू बलियो बनाउन विद्यमान बलिया क्लबलाई कमजोर पार्नुपर्ने आवश्यकता देखेर मछिन्द्रले मनाङ मर्स्याङ्दी र थ्रीस्टारबाट धमाधम खेलाडी अनुबन्ध गर्न थाल्यो । तत्कालीन च्याम्पियन मनाङबाट गोलरक्षक विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, देवेन्द्र तामाङलगायत तथा थ्रीस्टारबाट विदेशी खेलाडी पिटर सेगुन, रञ्जित धिमाल, बुद्ध चेम्जोङलगायतलाई अनुबन्ध गर्न ठूलो रकम खर्चियो ।

‘पछिल्लो समय फुटबललाई व्यवसायिकीकरणतर्फ डोर्‍याउन मिहिनेत गरेर सफलता हासिल गरेको टिम हो, मच्छिन्द्र’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘उसले आफू बलियो हुन विपक्षीलाई कमजोर पार्ने रणनीति लियो । यसको सकारात्मक पक्ष भनेको खेलाडीको सुविधामा उल्लेख्य बढोत्तरी हो । अन्य क्लबहरुलाई पनि यो पाठ हो ।’

मिश्रको बुझाइमा मच्छिन्द्रको लगातारको सफलतामा नेपाल सुपर लिग (एनएसएल)ले पनि सहयोग पुर्‍याएको छ । एनएसएल टिममा भाटभटेनी समूहले लगानी गरेपछि ए डिभिजन लिगमा मच्छिन्द्रलाई पनि ठूलो मात्रामा प्रायोजन सहयोग गर्‍यो । स्तरीय विदेशी खेलाडीको अनुवन्धन र मर्चेन्टाइजिङ रणनीतिले क्लबलाई आर्थिक भार कम भयो ।

दर्जन बढी प्रायोजक र लिग च्याम्पियन हुँदा पनि मच्छिन्द्र नाफामा छैन । लिग च्याम्पियन बनाउन धेरै खर्च छ । आम्दानीको सीमितताले सञ्चित नाफा नभएको क्लबका म्यानेजर अनिल श्रेष्ठले बताए । नेपाल सुपर लिगको आयोजना मितिबारे म्यानेजर श्रेष्ठ एन्फासँग निराश छन् । ‘हामीले खेलाडीको अनुबन्ध र सुविधामा कुनै सम्झौता गरेका छैनौं । त्यसो हुँदा खर्च धेरै छ । ७५ लाख पुरस्कार राशी पाए पनि हामी अझै १०/२० लाख घाटामै छौं,’ उनले थपे, ‘मोफसलका प्रतियोगिता खेलेर खर्च पूर्ति गर्ने रणनीति थियो । तर एनएसएलको मिति घोषणा भइदिँदा मोफसलका प्रतियोगितामा असर परेको छ ।’

उनले लिगको स्तरब वद्धिका लागि पुरस्कार रकममा पुनर्विचार गर्न ढिला भएको बताए । ‘हाम्रा खेलाडीले स्तरीय विदेशी खेलाडीसँग खेल्न पाए भने लिगको स्तर राम्रो हुने हो । एक हजार/१५ सय डलरका विदेशी खेलाडीले केही हुँदैन । अब कम्तीमा १०/१२ हजार डलरका खेलाडी ल्याउनुपर्छ । त्यसका लागि पुरस्कार राशी बढाउनुपर्‍यो । क्लबलाई अझै व्यवसायिक बनाउन एन्फा चनाखो हुनुपर्‍यो ।

मच्छिन्द्रले आफ्नो व्यवसायिक सफलतालाई कायम राख्न केही नयाँ योजना ल्याउने तयारी गरेको छ । क्लबको केही शेयर बेच्नेसम्मको सल्लाह कार्यसमितिमा चलिरहेको छ । एएफसी लाइसेन्स पाइसकेपछि आफ्नै मैदान, एकेडेमी र उमेरसमूहको टोली पनि बनाउनुपर्नेछ । ए डिभिजन लिग च्याम्पियनको विरासत कायम राख्न स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।

‘शेयर बजारमा प्रवेश गर्ने कि भन्नेबारे छलफल नभएको होइन । तर त्यसका लागि हाम्रो विधानमा परिवर्तन गर्नुपर्नेछ । हाम्रो मच्छिन्द्र एफसी गैरनाफामुखी संस्था भएको हुनाले त्यसमा परिवर्तन गरी केही फुटबलप्रेमीलाई क्लबमा भित्र्याउन नसकिने होइन,’ अध्यक्ष कपालीले भने ।

ए डिभिजन च्याम्पियनको हैसियतमा मच्छिन्द्रले आसन्न एएफसी कपको प्ररम्भिक चरणमा प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक प्रवेश कटुवालले टिममा केही परिवर्तनको आवश्यकता देखेका छन् । म्यानजेर श्रेष्ठले पनि स्तरीय खेलाडी अनुबन्ध गरी छनोट पार गर्ने योजना रहेको सुनाए । मच्छिन्द्रले प्रारम्भिक चरणको पहिलो खेल चैत २२ गते श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ । त्यस खेल जितेमा चैत २९ गते भारतीय क्लब मोहन वगानसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।

मछिन्द्रको ए डिभिजन लिग २०७८ च्याम्पियन यात्रा

मछिन्द्र २–१ एनआरटी (सुनील बल २ गोल)

मछिन्द्र ०–० आर्मी

मछिन्द्र २–० जाउलाखेल (रञ्जित धिमाल, सीमान्त थापा आत्मघाती)

मछिन्द्र ३–० हिमालयन शेर्पा (सुनील बल, नुर्लान नोभ्रुजोभ, विमल घर्तीमगर)

मछिन्द्र ०–० संकटा

मछिन्द्र १–० मनाङ (सुनील बल)

मछिन्द्र १–० पुलिस (सुनील बल)

मछिन्द्र १–० फ्रेण्ड्स (आत्मघाती गोल)

मछिन्द्र ४–० ब्रिगेड ब्वाइज क्लब (विमल घर्तीमगर २ गोल, रेजिन सुब्बा, अभिषेक रिजाल)

मछिन्द्र २–० च्यासल (विमल घर्तीमगर, सुनील बल)

मछिन्द्र १–० सातदोबाटो (नुर्लान नोभ्रुजोभ)

मछिन्द्र १–० थ्रीस्टार (सुजल श्रेष्ठ)

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?