
१५ फागुन, काठमाडौं । उत्तर कोरियाले जापानी समुन्द्रमा ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु प्रहार गरेको छ ।
उत्तर कोरियाले आइतबार बिहान जापानी समुन्द्र (सी अफ जापान) तर्फ ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको हो । जापानको तट रक्षक बलले समेत उक्त वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र हुन सक्ने बताएको छ ।
चिनियाँ राष्ट्रपति सी जीनफिङले नयाँ परिस्थितिमा उत्तर कोरियासँगको ‘मित्रता एवं सहकार्य’ थप बढाउने भनेलगत्तै पछिल्लो क्षेप्यास्त्र प्रहार भएको हो ।
यदि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पुष्टि भए यो वर्षको सुरुयता उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणको संख्या आठ पुग्ने छ । उसले बेइजिङमा हालै सम्पन्न शीतकालीन ओलम्पिकका बेला भने कुनै परीक्षण गरेको थिएन ।
क्षेप्यास्त्र परीक्षण एवं आणविक गतिविधिका कारण अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिबन्ध सामना गरिरहेको उत्तर कोरियालाई चीनले सहयोग गर्दै आएको छ । उक्त मुलुकको ९० प्रतिशत व्यापार चीनसँग हुने गरेको बताइन्छ ।
प्रतिक्रिया 4